शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजदूत आचार्य भन्छन्, ‘जम्मु कश्मीरका नेपालीलाई समस्या छैन, हामी तयारी अवस्थामा छौँ’

भारतीय सेनाको सामान बोक्ने नेपालीलाई खतरा कति ?
शुक्रबार, २० भदौ २०७६, १० : २३
शुक्रबार, २० भदौ २०७६

जम्मु, कश्मीर र लद्दाखलाई भारत सरकारले केन्द्र सरकार मातहत ल्याएपछि यतिबेला त्यस स्थानमा रहेका नेपालीहरुबारे चिन्ता र चासोसमेत व्यक्त गर्न थालिएको छ ।

जम्मु–कश्मीर र लद्दाखको स्वायत्तताको खारेजी तथा केन्द्रशासित प्रदेश बनाउने निर्णय गरेलगत्तै त्यस स्थानमा केन्द्र सरकारले व्यापक धरपकड गर्यो । त्यहाँका मुख्यमन्त्रीसहित राजनीतिक दलका नेताहरु, मानव अधिकारकर्मी तथा अभियन्ताहरुलाई समेत सरकारले धरपकड गरेको थियो । अहिले पनि कैयन् नेता तथा कार्यकर्ता र मानव अधिकारकर्मीहरु नजरबन्दमा रहेको बताइन्छ ।

कश्मीरमा अहिले पनि इन्टरनेटको राम्रो सुविधा छैन भने जम्मुको कतिपय जिल्लामा अहिले पनि मोबाइल र इन्टरनेट सुचारु भएको छैन । बजारहरु साँझको समयमा मात्रै खुल्ने गरेका छन् ।

जम्मु कश्मीरको मानव अधिकारको अवस्था पनि दयनीय रहेको बताइरहँदा यी क्षेत्रमा रहेका करिब १ लाख नेपालीको अवस्थाबारे चासो र चिन्तासमेत बढ्न थालेको हो ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँग यी क्षेत्रका कति नेपाली छन् भन्ने यकिन तथ्याङ्कसमेत छैन । यद्यपि यी क्षेत्रमा ८० हजारदेखि १ लाखसम्म नेपाली नागरिकहरु रोजगारीका लागि पुगेको अनुमान दूतावासको छ ।

उनीहरुको अवस्था के छ त भनेर हामीले नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई सोधेका छौँ ।

‘यी क्षेत्रमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क हामीसँग छैन । तर हालसम्म उनीहरुलाई कुनै समस्या परेकोे छैन र सुरक्षित छन् भन्ने जानकारी हामीलाई आएको छ,’ उनले भने ।

तर, के स्थिति बिग्रिएको खण्डमा त्यहाँ रहेको नेपालीहरुको उद्धारका लागि तपाईंहरुको तयारी के छ त भन्ने प्रश्नमा राजदूत आचार्यले भने, ‘त्यहाँको स्थिति आगामी दिनमा कस्तो हुन्छ र कसरी अगाडि बढ्छ भनेर हामीले सुक्ष्म ढङ्गले हेरिरहेका छौँ । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको बारेमा हामीले यहाँको सरकारसँग कुराकानी गरिरहेका छौँ, चासो राखिरहेका छौँ । यद्यपि स्थिति सँधै एउटै नरहन पनि सक्छ । अप्ठेरोका निम्ति तयार रहनु पनि पर्छ । अप्ठेरो स्थिति आएमा त्यसलाई कसरी सम्बोधन गर्ने भनेर हामीले यहाँको संघ संस्था र सरकारसँग पनि सरोकार राखिरहेका छौँ ।’

ती क्षेत्रमा रहेका नेपालीसँगको सम्पर्क कसरी बढाइरहनुभएको छ भन्ने हाम्रो अर्को प्रश्नमा राजदूत आचार्यले भने, ‘नेपालीबारे काम गर्ने संस्था र ती क्षेत्रमा रहेका उनीहरुका शाखा वा सम्पर्क कार्यालयबाट पनि जानकारी लिने काम भइरहेको छ । हामी उनीहरुसँग सम्पर्कमै छौँ ।’

*****

राजदूत आचार्यले भने ‘तत्कालको लागि अहिले हामीले निरन्तररुपमा त्यहाँको स्थितिबारे जानकारी लिने काम गरेका छौँ । यहाँको सरकारसँग सम्पर्क गरिरहेका छौँ, नेपालीहरुहरुलाई अप्ठेरो नपरोस् भनिरहेका छौँ र अप्ठेरो परेमा हामी उनीहरुलाई सहयोग गर्नका लागि तयारी अवस्थामा छौँ ।’

*****

त्यहाँको स्थितितबारे तपाईंहरु कत्तिको सजग हुनुहुन्छ त भन्ने रातोपाटीको प्रश्नमा राजदूत आचार्यले भने ‘हामी त्यहाँको स्थितिबारे सजग छौँ । अनि नेपालीहरुको सरोकार तथा अधिकारको रक्षा गर्न र उनीहरुलाई कुनै अप्ठेरो नपरोस् भन्नका लागि हामीले त्यहाँ सम्पर्क राख्ने नेपाली समुदाय तथा यहाँको सरकारसँग सम्पर्क गर्ने र त्यहाँको घटनालाई नजिकबाट गहिराईका साथ हेर्ने काम गरिरहेका छौँ । यद्यपि, अहिलेसम्म नेपालीहरु माथि त्यहाँ कुनै आक्रमण वा अप्रिय घटना भएको छैन ।’

राजदूत आचार्यले भने ‘तत्कालको लागि अहिले हामीले निरन्तररुपमा त्यहाँको स्थितिबारे जानकारी लिने काम गरेका छौँ । यहाँको सरकारसँग सम्पर्क गरिरहेका छौँ, नेपालीहरुहरुलाई अप्ठेरो नपरोस् भनिरहेका छौँ र अप्ठेरो परेमा हामी उनीहरुलाई सहयोग गर्नका लागि तयारी अवस्थामा छौँ ।’

‘जहाँसम्म लद्दाख र जम्मुको कुरा छ, त्यहाँ खासै समस्या छैन । तर कश्मीरलाई सामान्य हुन अझै केही समय लाग्न सक्छ । अलिकति समस्या कश्मीरमा हो । अन्त त केही पनि छैन । त्यसकारण जम्मु र लद्दाखमा नेपालीहरुलाई कुनै गाह्रो छैन ।’

‘मतलब स्थिति बिग्रिएमा दूतावास सहयोगका लागि तयारी अवस्थामा छ भन्दा हुन्छ ?,’ रातोपाटीको प्रश्नमा आचार्यले भने, ‘उद्धार गर्नुपर्ने स्थिति भएमा त्योभन्दा पहिले नै सुरक्षित गर्नुपर्ने हुन्छ । अप्ठेरोमा परिहाल्ने कुरा नगरौँ । समस्यामा पर्ने स्थिति आएमा त्योभन्दा पहिले नै नेपालीहरुलाई सुरक्षित गर्नुपर्छ । हामी त्यसका लागि तयारी अवस्थामा छौँ । तर अहिलेकै अवस्था हेर्ने हो भने ती क्षेत्रमा नेपालीलाई समस्या पर्ने वा स्थिति बिग्रने अवस्था भने छैन ।’

राजदूत आचार्यले नेपालीहरुलाई त्यहाँ कुनै समस्या नभएको बताइरहे पनि केही नेपालीहरु कश्मीरक्षेत्रबाट नयाँ दिल्ली वा नेपालको आफ्नो ठेगानामा फर्किसकेका छन् । कश्मीर र जम्मुमा बिहार तथा यूपीका भारतीयहरुलाई पनि आफ्नो स्थान फर्किन कश्मीरीहरुले दबाव दिन थालेका छन् । त्यसकारण भोलि स्थिति एउटै रहन्छ र सामान्य बन्छ भन्ने सम्भावना भने कम नै रहेको छ ।

यी क्षेत्रमा रहेका करिब एक लाख नेपालीमध्ये अहिले कति फर्किए भन्ने यकिन तथ्याङ्क छैन । पर्यटकीय क्षेत्र भएकाले होटल, रेष्टुरेण्ट, फास्टफूड र भरिया मजदुरकारुपमा काम गर्ने नेपालीहरुको सङ्ख्या बढी रहेको छ । केही नेपाली भने यो क्षेत्रमा व्यापार व्यवसाय पनि गरिरहेका छन् । धेरैजसो नेपालीहरु भारतीय सेनाको सामान बोक्ने भरियाकारुपमा काम गर्ने गरेका छन् । जसका कारण त्यहाँ हिंसा भड्किएमा भारतीय सेनालाई सहयोग गरेको आरोपमा नेपाली मजदुर पनि निसानामा पर्ने सम्भावना रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप