शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडकबाट भिख माग्दैमा राजतन्त्र फर्किँदैन : जनार्दन शर्मा

बिहीबार, १९ भदौ २०७६, २० : २९
बिहीबार, १९ भदौ २०७६

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले कसैले भिख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन् । दाङ आयोजित बृहत शान्ति र समृद्धि सम्मेलनमा नेता शर्माले जनताले अस्वीकार गरेको राजतन्त्र कुनै पनि हालतमा नफर्किने भन्दै संघिय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे । 

उपलब्धिलाई विर्सेर भड्किएमा आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै  कसैको बहकाउमा लागेर सामाजिक संजालमा  जथाभावी नलेख्न उनको आग्रह थियो । जनताको विजय हासिल गर्न हापुरेमा  पहिलो पटक शान्ती वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधान सभा र संघिय लोकतान्त्रीक गणतन्त्रको माग पुरा भएको  नेता शर्माको भनाई थियो । संघिय लोकतान्त्रीक गणतन्त्रको विकल्प  संघिय लोकतन्त्रीक गणतन्त्र नै भएको उनले जिकिर गरे ।

फरक प्रसंगमा उनले विप्लव माओवादीलाई वार्तामा आउन आग्रहसमेत गरे ।  हत्या र हिंसा बमले माग पुरा गर्न नसकिने भन्दै शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफ्नो पार्टीले सहयोग गर्ने शर्माले बताए ।

यस्तै  नागरिक अगुवा दमननाथ ढुङ्गानाले इतिहास त्रुटीपूर्ण रहेको बताएका छन् । परिवर्तन ल्याउनेहरुले नै परिवर्तन टिकाउन नसक्नु इतिहासको त्रुटीपूर्ण कार्य रहेको उनले बताए । वन्दुकबाट परिवर्तनको आश नगर्न आग्रह गदै उनले परिवर्तन बचाउनु नै महानता भएको बताए ।

नागरिक अगुवा श्याम श्रेष्ठले नेपाली सेनाकै कारण तत्कालिन समयमा शान्ति वार्ता भंग भएको बताएका छन् । राजा ज्ञानेन्द्रले संविधान दिन नचाहेकै कारण वार्ता भइरहेको समयमा  दोरम्बामा सेनाले मान्छे मारेर शान्ति विरोधी काम गरेको बताए । नेपाली सेना अहिले पनि विधिको शासनमा  चल्ने अवस्थामा नभएको भन्दै  नेपाली सेना, प्रशासन र सिंहदरबारमा अझै  परिवर्तन नआएको बताए ।

‘सिंहदरबार जस्तोको त्यस्तै छ, तर नेता मात्रै बदलिएका छन् ,’ श्रेष्ठले भने ‘ काम गर्ने शैली, पुरानै, भ्रष्टाचार व्याप्त र कर्मचारी संयोजनमा जाँदैनन अनि संघियता संस्थागत हुन्छ ।’

कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वली, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा अपार, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसीङ डाँगी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल लगायतले पश्चिम दाङको समृति र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न कार्यक्रम फलदायि हुने बताएका थिए ।

तत्कालिन विद्रोही माओवादी र सरकार पक्षबीच पहिलो पटक भएको वार्ता स्थल दाङको हापुरेमा १६ वर्षपछि शान्ति र समृद्धि सम्मेलनको आयोजना गरिएको छ । २०६० साउन २९ र ३० गते तत्कालिन विद्रोही माओवादी र सरकार पक्षबीच वार्ता भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप