बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ठगीको अभियोगमा पक्राउ परेका तीन जनालाई गरियो सार्वजनिक

बिहीबार, १९ भदौ २०७६, १९ : ५८
बिहीबार, १९ भदौ २०७६

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले हातहतियार कारोबार र ठगीको अभियोगमा धनगढीबाट पक्राउ परेका तीन जनालाई बिहिबार सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा बुधबार साँझ पक्राउ परेका धनगढी–६ मटियारीका सञ्जय राणा र उनका सहयोगीहरु मटियारीकै कमल बिक र वडा नम्बर ३ का रुद्र प्रसाद अधिकारीलाई सार्वजनिक गरेको हो । 

प्रहरीले राणाको डेराबाट ठूलो परिमाणमा नक्कली काजगाज, चेक, हतियार र सुनका गहना लगायत फेला परेका सामानहरु समेत बरामद गरेको छ । धनगढी–४, चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीका अनुसार एक थान पेस्तोल, एक थान रिभोल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, एक थान चक्कु, ६७९.३६ ग्राम सुनका गहना बरामद गरिएको छ । 

प्रहरी उपरीक्षक गिरीले मुख्य अभियुक्त सञ्जयको सञ्जय राणा र सञ्जय मशशेर जंगबहादुर राणाको नाममा भएको दुई थान नागरिकता समेत फेला परेको छ । विभिन्न व्यक्तिहरुको नाममा लिनेदिने गरी बनाएको १८ करोड तीन लाख ६४ हजारका २३ थान तमसुक समेत फेला परेको उनले बताए । 

उनले एक अर्ब छ करोड ३७ लाख ७३ हजार एक सय ७५ रुपैयाँ, ४१ करोड ६५ लाख तीन हजार सात सय ८३ रुपैयाँ र ४२ करोड १७ लाख ५० हजार सात सय सात रुपैयाँका गरी तीन वटा नेपाल राष्ट्र बैंकले रिलिज गरेको भनिएको ३ थान नक्कली बैंक ड्राफ्ट र विभिन्न व्यक्तिको नाममा काटिएको दुई करोड ४५ लाख २० हजार रुपैयाँका १९ थान र विभिन्न बैंकका साइन गरिएका ३८ थान ब्ल्यांक चेक बरामद गरिएको जनाए ।


प्रहरी उपरीक्षक गिरीले विभिन्न सरकारी कार्यालयका ४१ थान नक्कली छाप, ३६ थान वित्तीय कारकोबार गर्ने संस्थाहरुले प्रयोग गर्ने ३६ थान नम्बरिङ मेसिन, जिल्ला अदालत कैलाली, मालपोत कार्यालय कैलाली र टीकापुर, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था कार्यालयका नगदी रसिदका ठेलीहरु, सीम कार्ड सहितका ६ थान मोबाइल, २ थान सिमकार्ड, नम्बरिङ स्ट्याम्प प्रहरीले प्रयोग गर्ने बेल्ट, चेष्ट नेम प्लेट, निलो चुस्ता लगायतका सामानहरु समेत बरामद गरिएको बताए । 

उनले बा २० च ४२२० नम्बरको कार र से २ प ३१२४ नम्को मोटरसाइकल समेत बरामद गरिएको बताए । उनले विभिन्न कार्यालयका लेटर प्याड, चेक बनाउन प्रयोग हुने कागज लगायातका सामग्री बरामद गरिएको बताए । राणाले राष्ट्र बैंकका त्यही नक्कली चेक र कागजात देखाइ प्रलोभनमा पारी रकम असुलेर मिटर व्याजमा लगाउने गरेको प्रहरी उपरीक्षक गिरीले जनाएको छ । 

उनले राणा समूह सुन र साना हतियार, मिटर व्याजको अबैध धन्दामा लामो समयदेखि संलग्न रहेको प्रमाणहरु फेला परेको जानएको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–६ मटियारीमा रहेको आलिशान घरको खानतलासी समेत गरेको छ । 

प्रहरी उपरीक्षक गिरीले राणाको केशमा भेटिएका सबै पक्षको अनुसन्धान गरिरहेको बताए । उनले अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर राणासहित तीनै जनालाई हिरासतमा राखिएको बताए । राणा साना हतियार सुन, मिटर व्याज, ढुकुटी लगायतका अबैध धन्दामा संलग्न भएको जानकारी पाएपछि सिआईवीले चार दिनदेखि राणाको पिछा गरेको थियो । बाहिर देखिने कुनै व्यापार व्यवसाय संलग्न नभएपनि राणाको जीवनशैली र आर्थिक हैसियत देखेर सिआइवीको टोलीले उनीमाथि अनुसन्धान थालेको थियो । 

प्रहरी उपरीक्षक गिरीले राणा पक्राउ परेसंगै राणाको समूहले गरेका अवैध धन्दाहरु बारे खुल्दै गएको बताए । उनले राणा समूहबाट पीडित व्यक्तिहरु समेत सम्पर्कमा आउन थालेपछि घटनाका विभिन्न पक्षहरु खुल्दै गएको बताए । 

राणाले रुद्र अधिकारीको नाममा हरेक कारोबार गर्ने गरेको र त्यसमा कमल बिकले सहयोग गर्ने गरेको बताए । राणा र उनलाई सहयोगीमाथि ठगी, हातहतियार कारोबार, सम्पत्ति सुद्धिकरण, दोहोरो नागरिकता लगायतका थुप्रै मुद्दा चलाउन सकिने प्रमाण फेला परेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप