मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियो शेयर बजारमा सुधार

बिहीबार, १९ भदौ २०७६, १६ : १६
बिहीबार, १९ भदौ २०७६

टोकियो– संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मामिलामा बेलायती संसदले गरेका निर्णयहरुले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

जापानको निक्की २२५ को परिसूचक २.१२ प्रतिशतले वृद्धि भई २१,०८५.९४ विन्दुमा पुगेको छ । टोपिक्स परिसूचकमा समेत १.८४ प्रतिशत वृद्धि भई १,५३४.४६ पुगेको छ ।

चीनले अमेरिकासँगको व्यापार वार्ता वासिङ्टनमा अक्टोबरको शुरुमै गर्ने जानकारी दिएसँगै टोकियो शेयर बजारमा सुधार आएको हो । चीन र अमेरिकाले व्यापार वार्ताकै बीचमा एकअर्का मुलुकका सामानमा करवृद्धि गरेपछि विश्व बजारमा नकारात्मक असर परेको थियो ।

दुबै मुलुकबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार युद्धले विश्व आर्थिक परिदृश्यमै प्रभाव पारेको छ ।

टोकियो शेयर बजारले बेलायतको ब्रेक्जिटसम्बन्धी पछिल्ला कदमहरुलाई पनि स्वागत गरेको छ । ब्रेक्जिटको सेरोफेरोमा बेलायती संसदमा भएका तीन वटा मतदानमा प्रधानमन्त्री बोरिस जोन्सनका प्रस्तावहरु अस्वीकृत भएका थिए ।

लगानीकर्ताहरु हङकङ सरकारले चीनसँगको सुपुर्दगीसम्बन्धी विधेयकलाई आधिकारिक रुपमा फिर्ता लिने निर्णय गरिएको घटनालाई पनि सकारात्मक रुपमा लिएका छन् । –एएफपी/photo: Reuters

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप