केन्द्रीय संस्करण

हिन्दू धर्मप्रतिको आस्थामा किन आयो कमी ?

person explore access_timeभदौ १९, २०७६ chat_bubble_outline2

–रमेशजङ्ग कुँवर 

हरेक समाजमा धार्मिक संस्था एउटा महत्त्वपूर्ण संस्थाका रूपमा विकसित भइरहेको छ । धर्म प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रूपमा हाम्रो सामाजिक प्रतिष्ठा, शक्ति र राजनीतिसँग जोडिएको हुन्छ । 

एकातिर धर्मकै नाममा राज्य सञ्चालन गरेको, कानुनको निर्माण गरेको र ठूलाठूला धार्मिक युद्ध लडेको इतिहास छ भने अर्कोतिर अन्याय, अत्याचार र शोषणसँग जोडिएको इतिहास पनि भेट्न सकिन्छ । 

प्रत्यक्ष्य रूपमा धर्मको प्रभाव हाम्रो जीवन, समाज अनि संस्कृतिमा परिरहेको छ । हाम्रो देशकै सन्दर्भमा कुरा गर्दा तत्कालीन विश्वकै एक मात्र हिन्दु राष्ट्र नेपालको पहिलो मुलुकी ऐन (सन् १८५४) हिन्दु धर्मकै मूल्य मान्यताका आधारमा बनेको थियो । नेपालको राज्य व्यवस्था पनि त्यही हिन्दु धर्मकै मूल्य मान्यताबाट निर्देशित थियो । 

हिन्दु धर्मको तुलनामा अन्य धर्मको उपस्थिति नगन्य रूपमा थियो । राजालाई भगवान विष्णुको अवतारका रूपमा हेर्ने गरिन्थ्यो । तर आज समय बदलिएको छ । परिस्थिति फरक छ । राजतन्त्र हटेर गणतन्त्र स्थापना भएको छ । हिन्दु राष्ट्र धर्म निरपेक्ष राज्यका रूपमा रूपान्तरण भएको छ । मानिसहरुले धर्म परिवर्तन गरिरहेका छन् । हुन त हाम्रो रहन सहन, भेष, भूषा, कला–संस्कृति पनि परिवर्तन नभएको होइन तर पनि राज्यले धर्म परिवर्तनरोधी कानुनमा बनाएको छ । 

धर्म परिवर्तनको विषयवस्तु अहिले जल्दोबल्दो विषयवस्तु बनेको छ । किन यसरी हिन्दुमय राज्य व्यवस्था वा हिन्दु धर्मको महत्त्व दिनानुदिन घटिरहेको छ ? किन यस धर्मका अनुयायीहरुमा यस धर्मप्रति वितृष्णा जागेको छ ? यसका कारणहरु के–के हुन सक्छन् ? यो हामीहरु सबैको लागि एउटा महत्त्वपूर्ण चासोको विषय हो ।

धर्मका बारेमा विभिन्न दार्शनिकले अलग अलग मत अगाडि सारेका छन् । इमाइल दुर्खाइमले धर्म भनेको विश्वास र व्यवहारहरुको एकताबद्ध प्रणाली हो भनेका छन् भने कार्ल मार्क्सले धर्मलाई अफिमका रूपमा अथ्र्याएका छन् । यसैगरी प्याट्रिक एच म्याकनमराले धर्मलाई परिभाषित गर्नु भनेको बहस निम्त्याउनु हो भनेका छन् । प्रकार्यवादी सिद्धान्तले धर्मले समाजको लागि एकीकरण गर्ने कार्य गर्ने हुँदा यसको उपस्थिति छ भन्ने कुरा गर्छ । 

कार्ल माक्र्सको द्वन्द्ववादी सिद्धान्तले धर्मलाई सङ्घर्षको स्रोतको रूपमा लिन्छ । कसैले धर्मलाई आस्थाका रूपमा व्याख्या गरेका छन् भने कसैले कर्तव्यका रूपमा त कसैले धर्मलाई कर्मका रूपमा व्याख्या गरेको पनि हामी पाउँछौँ । नेपाली बृहत् शब्दकोशको व्याख्यालाई हेर्ने हो भने धर्मलाई मुख्यतः तीन तरिकाले व्याख्या गरेको पाइन्छ । 

१. व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति, प्रकृति, स्वभावलाई धर्म भानिन्छ । जस्तै; सूर्यले प्रकाश दिनु, बादलले पानी दिनु वा भनौँ तितेकरेलाले तितोपना दिनु नै धर्म हो । यस परिभाषाले कर्तव्यको कुरालाई धर्म मान्छ ।

२.    स्वर्ग वा ईश्वर प्राप्त गर्न सकिने लोक विश्वास भएको पुण्य कार्य; पुण्य कर्मलाई धर्म मान्दछ अर्थात् अदृश्य शक्ति ईश्वरमाथिको विश्वास; यदि हामीले पूजा प्रार्थनाबाट ईश्वर (ब्रह्मा, विष्णु, महेश्वर, यसु, अल्लाह, बुद्ध) लाई खुसी बनाउन सक्यौँ भने स्वर्ग प्राप्त हुनसक्छ भन्ने विश्वास लिएर गरिने पुण्य कार्य; यस व्याख्याले मानिसको अस्थाको कुरालाई जोड दिन्छ ।

३.    कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा संस्थाका लागि अँगालिने कर्म नै धर्म हो । अर्थात् एउटा समाजलाई निरन्तरता दिनलाई ब्राह्मणले ज्ञानको काम गर्ने, क्षत्रीयले लडाइँ लड्ने, वैश्यले व्यापार गर्ने र शुद्रले सेवामुखी कार्य गर्नु नै धर्म हो ।

हामीले माथि परिभाषित व्याख्यालाई विश्लेषण गर्ने हो भने धर्म भनेको बहुआयामिक, बहुअर्थिक विषय हो, जसलाई कुनै एउटा परिभाषाले मात्र परिभाषित गर्न सकिदैन ।

यस लौकिक संसारमा धेरै मानिस आस्तिक (भगवानप्रति विश्वास राख्ने) छन् भने केही नास्तिक (भगवानप्रति विश्वास नराख्ने) व्यक्ति पनि छन् । आस्तिक व्यक्तिको भावनालाई विश्लेषण गर्ने हो भने धर्म भनेको एउटा पुल हो, जसले लौकिक संसारलाई अलौकिक संसरसँग जोड्छ । त्यस पुलको गुणस्तर कस्तो बन्ने भन्ने कुरा उक्त व्यक्तिले गरेका कार्य (पुण्य र पाप) ले निर्धारण गर्दछ । समग्रमा भन्नुपर्दा धर्म भनेको अदृश्य शक्तिमाथिको विश्वास हो । 

यसले उक्त शक्तिमाथि विश्वास राख्ने व्यक्तिलाई एकबद्ध गरी व्यवस्थित समाज निर्माणको परिकल्पना गर्छ । प्रत्येक धर्मले उक्त धर्मका अनुयायीलाई राम्रो कुरा सिकाउँछ, चाहे त्यो कर्म (कर्तव्यको कुरा होस् या फेरि आस्थाकै कुरा किन नहोस् । तर पनि हामीले अलग–अलग धर्मप्रति विश्वास राख्ने व्यक्ति वा सङ्गठनका बीच समय–समयमा द्वन्द्व भएको पनि पाउँछौँ ।

हिन्दु धर्मको ऐतिहासिक सन्दर्भलाई हेर्ने हो भने केही आर्यहरु इरानबाट आएर भारतको सिन्धु नदीको वरपर बस्न थाले । उनीहरुले सिन्धु नदी वरपर बसालेको सभ्यता नै हिन्दु सभ्यता हो । उनीहरुले मान्ने धर्म हिन्दु धर्मको रूपमा परिचित भयो । उनीहरू प्रकृति पूजक अथवा सनातन धर्मका अनुयायी थिए । सनातन धर्मका अनुयायीहरू प्रकृतिको पूजा गर्थे । जस्तै जल, अग्नि, वायु, वृक्ष, पृथ्वी, आकाश आदि । उनीहरू ‘सिन्दुज’को रूपमा चिनिए तर उनीहरूले ‘स’ उच्चारण गर्दा ‘ह’ को प्रयोग गर्ने गर्थे । जस्तै सप्ताहलाई हप्ताह । यसरी ती सिन्दुजहरू हिन्दुजका रूपमा चिनिँदै आए । उनीहरुले मान्ने मूल्य मान्यतामा आधारित धर्म नै आज हिन्दु धर्मका रूपमा विश्वभर चिनिन्छ ।

वर्ण व्यवस्थाको गलत प्रयोगः हिन्दु धर्मको धार्मिक ग्रन्थ गीता हो । गीता सबै वेदहरुको सार भनिन्छ । गीताको अध्याय ४ श्लोक १३ मा उल्लेख भए अनुसारः
चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः ।
तस्य कर्तारमपि मां विद्धयकर्तारमव्ययम् ।।

भगवानले, मैले चार वर्णहरुको समूह (ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र) गुण र कर्मको आधारमा रचना गरेको हुँ भन्नुभएको छ तर हिन्दु मूल्य मान्यताबाट निर्देशित समाजले त्यो वर्ण व्यवस्थालाई जातीयताका रूपमा गलत तरिकाले परिभाषित र प्रयोग गर्याे । एउटा ब्राह्मण समुदायमा हेर्ने हो भने त्यहाँ शिक्षक, सैनिक, व्यापारी र सेवक र मजदुर पाउन सक्छौ । त्यसरी नै दलित समुदायमा हेर्ने हो भने पनि त्यहाँ शिक्षक, सैनिक, व्यापारी र सेवक र मजदुरको उपस्थिति छ । हामीले गीताकै कुरा मान्ने हो भने ब्राह्मण समुदायमा रहेको ब्राह्मण वर्ण र दलित समुदायमा रहेको ब्राह्मण वर्णमा केही भिन्नता छैन, सेवक÷मजदुर (शुद्र)को उपस्थिति ब्राह्मण समुदायमा र दलित समुदायमा पनि छ । यसरी गुण र कर्मको आधारमा विभाजित समाजलाई जन्म वा जातीयताको आधारमा विभाजित गरिनु नै हिन्दु धर्मप्रति वितृष्णा जगाउने प्रमुख कारक तत्त्व हो । 

हिन्दु धर्मबाट निर्देशित जातीय व्यवस्थाले कानुनी मान्यता पाउनुः 
जातीय व्यवस्था केवल कुनै समुदायमा बस्ने मानिसको पदानुक्रम होइन । यसले समाजमा शक्ति र राजनीतिमा पनि पदानुक्रम स्थापित गरेको छ । उच्च वर्गका व्यक्तिले समाजका धेरै विशेषाधिकारको प्रयोग गरिरहेका छन् भने दलित र सीमान्तकृत समुदायले अझै पनि आफूले पाउने अधिकारका लागि सङ्घर्ष गरिरहेका छन् । 

उनीहरुले आफ्ना छोराछोरीका लागि राम्रो शिक्षा दिन सकिरहेका छैनन् । दैनिक गुजारा चलाउन धौधौ परिरहेको छ । उनीहरु सीमान्तकृत बन्नुको कारणलाई हामीले ऐतिहासिक दृष्टिकोणबाट हेर्ने हो भने यसका जराहरु कतै न कतै हिन्दु धर्मबाट निर्देशित छ । यो जातीय व्यवस्थाले १८५४ को मुलुकी ऐनद्वारा कानुनी मान्यता पाउनुसँग जोडिएको पाउँछौँ । हुन त जातीय व्यवस्था हटाउनका लागि धेरै कुरा कागजमा लेखिए पनि व्यावहारिकतामा लागू हुन सकिरहेको छैन । किनभने अझै पनि नेपाली समाजको मानसिकता जातीय व्यवस्थाबाट ग्रसित छ । त्यसबाट छुटकारा पाउन सकिरहेको छैन ।

धर्मको बारेमा जान्न नपाउनुः
हिन्दू धर्मका प्रायशः धार्मिक ग्रन्थहरु संस्कृत भाषामा प्रकाशित भएका छन् र संस्कृत भाषा आफैमा एउटा जटिल भाषा हो । त्यो वर्ग जुन शिक्षाको प्रकाशदेखि लामो समयसम्म वञ्चित रह्यो । त्यो वर्गलाई संस्कृत भाषामा लेखिएको धर्मज्ञान पाउन गाह्रो हुन्छ । जजसले संस्कृत भाषा बुझ्थे, संस्कृत भाषामा पहुँच थियो, तिनीहरु नै धर्मका ठेकेदारहरु बने, उनीहरुले नै वर्णमा आधारित समाजलाई जातीयताको वा भनौँ जन्मको आधारमा विभाजन गरे । शास्त्रको वास्तविक अवधारणालाई बङ्ग्याउने काम गरियो । शास्त्रभन्दा व्यक्तिवादिता हाबी भयो । धर्मको ज्ञान बाँढ्नु, नबाँढ्नु र कसरी बाँढ्नु सबै उनीहरुको हातमा थियो । यसरी जानेबुझेकाले पनि यस धर्मको सत्यज्ञान बाँढ्न नसक्नु पनि हिन्दू धर्मप्रतिको आस्थामा कमी आउनुको अर्काे कारक तत्त्व हो ।

हिन्दु धर्मको वर्ण व्यवस्थामा जनजातिलाई वास्ता नगरिनुः
नेपालको इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएका जनजातिलाई हिन्दु धर्मबाट निर्देशित वर्ण व्यवस्थाले समेट्न सकेन । मन्दिरमा चढाइने सिदा, भेटी, दानको उपयोग लक्षित वर्ग माथि नहुनु, हिन्दु धर्मका आनुयायीहरुले मन्दिरमा सिदा, भेटी र दानका रूपमा धेरै कुरा चढाउँछन् । तर त्यसको उपयोग समाजमा रहेका सीमान्तकृत वर्गको सेवाको लागि गरिँदैन । कथित रूपमा उच्च जातका व्यक्तिहरुको इच्छाअनुसार खर्च गरिन्छ । यसरी मन्दिरमा सङ्कलन भएको सिदा, भेटी, दान जस्ता कुरा अभावमा बाँचिरहेकाहरु माथि लक्षित हुनुपर्छ वा समाजिक सेवामा लगाइनुपर्छ भन्ने भावनाका कमी हुनु पनि एउटा महत्त्वपूर्ण पक्ष्य हो ।

देखावटी संस्कार 
हिन्दु धर्मको संस्कार सबैलाई समेट्ने भन्दा पनि बढी देखावटी देखिन्छ । एकातिर काग, कुकुर, गाईलाई पूजा गरिन्छ त अर्काेतिर दलितसँग छोइन हुँदैन भन्ने संस्कार यस धर्ममा व्याप्त छ । जन्म, विवाह, मृत्यु र तीज जस्ता धेरै धार्मिक कार्यक्रम त्यस्ता छन् । त्यो धनी व्यक्तिहरुले मनाउने तरिका गरिबले मनाउने तरिकामा धेरै फरक छ । धनीहरुले संस्कृतिलाई धेरै देखावटी बनाइरहेकाछन् । जस्तै; तीजमा बहुमूल्य गहनाको प्रदर्शन, विवाहको भोज भतेर, दाइजो, दसैँमा चामलको टीका इत्यादि । यस्ता कार्यले सीमान्तकृत वर्ग झन् झन् गरिबीको दलदलमा फसिरहेका छन् ।

मूर्तिपूजा र पशुबली 
मूर्तिपूजा गरेर र पशुबली दिएर भगवान वा स्वर्गको उपभोग गर्न सकिन्छ वा पाप नाश गर्न सकिन्छ भन्ने कुरामा विश्वास कम हुनु । किनभने भगवानकै शब्दमा भन्नेहो भने ‘मद्वारा नै सबै कुराको सृष्टि भएको हो र सबै कुरा मबाट नै सञ्चालन हुन्छ ।’ यसको तात्पर्य पशु र हामी भगवानकै रचना हौँ । हामीले उहाँकै रचनालाई मारेर हाम्रो मनोकामना पूरा गर्न खोज्नु कहाँसम्मको मूर्खता हो ? उहाँले भन्नु भएको छ, उहाँको उपस्थिति त हरेक आत्मामा छ । फेरि हामी मूर्तिमा उहाँलाई किन खोज्दै छौँ ?

हिन्दु धर्मावलम्बीहरुले हिन्दु धर्मको लोकप्रियतालाई बढाउने चाहना राख्ने हो भने सबैभन्दा पहिले यस धर्मभित्र रहेका कुरीतिलाई बढार्न सक्नु पर्दछ । एक धर्म एक संस्कारको नीति लागू गर्नुपर्छ । देखावटी संस्कारलाई बहिष्कार गर्न सक्नुपर्दछ । मन्दिरमा जम्मा भएको सिदा, भेटी, दानको प्रयोग समाजमा भएका हुँदा खाने वर्गमाथि गरिनु पर्दछ । यस धर्मभित्र रहेका अन्धविश्वासका मान्यतालाई निरुत्साहित गरिनु पर्छ । धर्म ज्ञान सरल भाषामा उपलब्ध गराइनु पर्छ । ब्राह्मणहरुको ब्राह्मण वर्ग र दलितहरुको ब्राह्मण वर्गमा विभेद गरिनु हुँदैन । होइन भने जतिसुकै कठोर कानुनको निर्माण गरे पनि जबसम्म हामीले हिन्दु धर्मभित्र सहज र धर्ममैत्री वातावारण सिर्जना गर्न सक्दैनौ तबसम्म हिन्दु धर्मको लोकप्रियता यसरी नै घट्ने सम्भावना प्रबल रहिरहने छ ।
 

कमेन्ट

  1. Sept. 11, 2019, 6:31 p.m. वि. आर. आर
    स्वर्ग र नर्क छ भन्नेमा म विश्वास त गर्दिन l तथापि हाम्रो समाजमा हुदै आएको जातीय छुवाछुतलाई हेर्दा हाम्रा सबै पुर्खाहरूले नर्कको यात्रा तय गरेका छन् l म चाहि यो नर्कको यात्राबाट बच्न चाहन्छु l त्यसैले जातीय छुवाछुत जस्तो अति घृणित कुसस्कृतिलाई सस्कृतिको जामा ओडाएर क्रुर अमानवीय लज्जास्पद व्यवहार नगर्ने अठोट गर्दछु l
  2.  0 Reply
  3. Sept. 5, 2019, 8:56 p.m. परशुराम राइ
    कुरा सही छ । तर केही व्यक्तीहरूलाई चित्त नबुझ्ला । वास्तविक यथार्थ यही हो ।अव नया समाजको सृजना गर्नलाई विचार वदल्न सक्नु पर्छ । २१ सौ सताब्दीमा आएर पौराणिक कालको विचार वोक्ने हो भने समाज अगाडि जानुको सट्टा पंछाडी तिर जान्छ .
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...