बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

नेकपा प्रचार विभागको जिम्मेवारी हस्तान्तरण

बुधबार, १८ भदौ २०७६, २२ : ४२
बुधबार, १८ भदौ २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ ।  

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा तत्कालीन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्रबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेको बताए । 

उनले पार्टीको योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको भन्दै नयाँ जिम्मेवारी सफलतासाथ बहन गर्न शुभकामनासमेत दिनुभएको उपप्रमुख थापाले जानकारी दिए । 

यसअघि स्कुल विभागको प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको थियो । एमाले प्रचार विभाग प्रमुख भट्टराई र माओवादी केन्द्रका प्रचार प्रमुख भुसालले आफूहरुले प्रचार विभागमा रहँदा गरेका कामका बारेमा अनुभव सुनाउँदै नवगठित प्रचार विभागले पार्टीका गतिविधिलाई तीव्र बनाउनुपर्ने बताए । 

प्रचार विभाग प्रमुख श्रेष्ठले विभागले पार्टीको योजनाबद्ध र सुव्यवस्थितरूपमा काम गर्ने बताए । उपप्रमुख थापाले पार्टी नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै चाँडै नै विभागलाई पूर्णता दिइने जानकारी दिए । विभाग ३५ सदस्यीय रहने छ । 

कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, प्रदीप नेपाल, अग्नि सापकोटा, रघुजी पन्त, प्रेस सङ्गठन नेपालका इञ्चार्ज राजेन्द्र गौतम, सहइञ्चार्ज तथा संयोजक महेश्वर दाहाल र ओम शर्मा तथा सहसंयोजक गणेश बस्नेतलगायतले आ–आफ्ना सुझाव र शुभकामना दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप