बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

प्रहरी कल्याण कोष : पारदर्शी तुल्याउँदै विस्तार र विकास

बुधबार, १८ भदौ २०७६, १६ : १५
बुधबार, १८ भदौ २०७६

काठमाडौं । नेपाल प्रहरीले कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ ।

कल्याणकारी कार्यबाट समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने हुँदा सबैलाई कल्याण सुविधा प्रदान गर्ने कोषले मिसन र भिजन राखेको छ । 

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कोषभित्रकाे २१ करोड ४५ लाख रुपैयाँबाट  प्रहरी कर्मचारीका ६ हजार नौ सय ६ जना लाभाविन्त भएको जानकारी दिए । 

प्रहरी संगठनका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरु र अमर प्रहरी परिवारका सदस्यहरुको स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्र लगायत अन्य विविध कल्याणकारी क्षेत्रहरुमा समयानूकूल सेवा प्रदान गर्नु कोषको उद्देश्य रहेको खनालले बताए । 

कोषबाट हाल शैक्षिकवृत्ति मिनाहा, छात्रवृत्ति, ज्येष्ठ प्रहरी निवृत्तिभरण, सीपमूलक तालिम, विशेष आर्थिक ऋण, क्रियाकर्म अनुदान, किस्ताबन्दीमा घरायसी सामान खरिद सहयोग, दुर्घटना क्षतिपूर्ति राहत, औषधि उपचार अनुदान, पूर्वप्रहरीलाई रोजगारीका अवसर दिनेजस्ता कार्यक्रम सञ्चालनमा छन् । 

भूकम्प पीडित (पूर्व तथा बहालवाला प्रहरी कर्मचारीका सन्तती) हरुलाई शिक्षण शशुल्क अनुदान दिने प्रहरी कल्याणकारी योजना कोषले ल्याएको छ ।

यस्तै बहालवाला प्रहरी कर्मचारीलाई किस्तामा सवारी साधन, ल्यापटप, रेफ्रिजेरेटर, वासिङ मेसिन समेत दिने निर्णय कोषले प्रस्ताव अघि सारेको छ ।

कोषले अनिवार्य अवकाश भई जाने ६५८ लाई दीर्घसेवा कदरबाट पुरस्कृत गरेको छ । बहालवाला प्रहरी कर्मचारीको श्रीमान वा श्रीमती १० जनालाई औषधी उपचारमा अनुदान समेत दिएको छ । 

बहालवाला प्रहरी कर्मचारीका ३९ जना सन्ततीलाई नेपाल पुलिस स्कुलमार्फत कोषले जेहेनदार छात्रवृत्ति प्रदान गरेको छ । कोषले बहालवाला प्रहरी कर्मचारीलाई १ लाखसम्मको जीवन बीमा गरिदिने तयारी समेत गरेको छ ।

कल्याण कोषबाट प्रहरीले सञ्चालनमा ल्याएको पेट्रोल पम्प, हेल्थ क्लब, व्यापारिक भवन, अतिथि गृह र आवास गृहबाट समेत योगदान हुँदै आएको जनाइएको छ ।

कोषले यसअघि प्रहरी प्रधान कार्यालयमा अत्यधुनिक सुविधायुक्त क्यान्टिन चलाउने, प्रहरीको पोसाकमा एकरुपता ल्याएर गुणस्तर बढाउने र प्रहरी अस्पतालको प्याथोलोजी ल्याबलाई आधुनिक गर्ने प्रस्ताव अघि सारेको थियो । यो प्रस्ताव सबै कार्यान्वयनमा आइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?