शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : धपेडी नगर्नुहोस्, विश्राम लिनुहोस् !

बुधबार, १८ भदौ २०७६, १५ : २०
बुधबार, १८ भदौ २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्रामको आवश्यकता औल्याएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका हुन् ।

संविधान बमोजिम देशको कार्यकारिणी प्रमुख पटक–पटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न उठ्ने उनको भनाइ थियो ।  प्रत्येक दुई तीन महिनामा दश, बाह्र दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफ्रिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने भन्दै विश्राम लिन र दिन थापाको आग्रह थियो । साथै उनले सत्तारुढ दलभित्र प्रधानमन्त्री बनिसकेका र बन्ने इच्छा राख्ने नेताहरुको कमी नभएको र सदनमार्फत नेकपाले चाहेकै व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्थामा मानवीय दृष्टिकोणले पनि विकल्प खोज्न उनले सुझाव दिए ।

प्रस्तुत छ सांसद थापाले व्यक्त गरेको विचारको अंश:

सम्माननीय प्रधानमन्त्री अहिले उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ । नेपाली काँग्रेस उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । हामीले अथक कसर गरेर संसदबाट केही समय अगाडि एउटा कानून पारित गर्यौँ । कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन । यो कानूनको पालना गर्नु भएकोमा प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछु । नागरिकको यस विषयमा अन्य चासोहरुलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बताउनु नै हुनेछ भन्ने विश्वास पनि गर्दछु ।

प्रधानमन्त्रीको उपचारको बारेमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनुपर्छ । प्रधानमन्त्रीको निजी चिकित्सकलाई उदृत गरेर छापाहरुमा आएको सिमित सूचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ कि प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ । हामी चाहन्छौँ, सम्पूर्ण सुधार होस् ।

मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशिलता, योगदान संसारका लागि नमूना बनोस् । तर, केही चिकित्सकहरुले संकेत गर्नुभएको जस्तो प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार पटक–पटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गर्नुपर्ने भयो भने के गर्ने ?

संविधानको धारा ७५ अनुसार, नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा निहित छ र मन्त्रिपरिषदको प्रमुख प्रधानमन्त्री हुन्छ । संसदीय पद्धतिमा संसदको कामको श्रृजना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरिमोनियल पोजिसन होइन । डे टु डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नु पर्दछ । पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ ।

हाम्रो प्रधानमन्त्रीजीले यी सबै गर्ने कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुईमत छैन । तर, इच्छाशक्ति मात्रै सबै कुरा होइन सभामुख महोदय साविक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्दछ । प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको कस्टोडियन हुनुहुन्छ । कार्यकारिणी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ प्रत्येक दुईतीन महिनामा १०, १२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफ्रिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भनेर कष्ट दिएर भए पनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्ने कुरा स्वभाविक हुन्थ्यो । तर, यहाँ यस्तो अवस्था छैन सभामुख महोदय । यहाँ, नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्दछ । एक से एक प्रधानमन्त्री हुनु भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री बन्न इच्छा राख्ने व्यक्तिहरु हुनुहुन्छ । तर, यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौँ ?

सम्माननीय सभामुख महोदय, मैले धेरै पटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि ‘बा’ सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौँ ? बा, धपेडी नगर्नुहोस्, बा आराम गर्नुहोस्, बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई त्यसो भन्छौँ । तर, हामी प्रधानमन्त्री बालाई यसो भन्न सक्दैनौँ ?’

यो म कसैलाई मात्र भनिरहेको छैन । यो गल्ती हिजो हामीले पनि गर्यौँ सम्माननीय सभामुख महोदय । यो अन्याय हिजो हामीले पनि गर्यौँ । र सबैभन्दा बढि नजिक बस्ने मान्छेले अन्याय गर्यौँ । यो अन्याय तपाईँहरु नगर्नुहोस् । यो गल्ती तपाईँहरु नदोहोर्याउनुहोस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस् किन कि नेपालको आन्दोलनमा यत्रो ठूलो योगदान पुर्याउनुभएको नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्याउनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको, यतिमात्रै होइन ।

सम्माननीय सभामुख महोदय, स्वाभिमानको लडाइँमा एउटा अथक योद्धाको रुपमा काम गर्नुभएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रो बीचमा अविभावकको रुपमा देख्न चाहन्छौँ । तर, यो कुरा त्यतिखेरमात्र सम्भव छ सम्माननीय सभामुख महोदय, शरीर सबैको शरीर हो। मन पनि सबैको मन हो। प्रधानमन्त्रीको मनको, इच्छा शक्तिको म प्रशंसा गर्दछु । फेरि पनि कामना गर्छु, त्यहाँबाट फर्केर आइसके पछाडि सम्माननीय प्रधानमन्त्रीले यो रोष्ट्रममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गर्छौँ, कामना गर्छौँ, कि लगातार कुनै विश्राम नलिइकन काम गर्न सक्ने अवस्थामा छु । आवश्यकता पर्दै गर्दा भिजिल्याण्ट भएर २४/७ काम गर्न सक्ने अवस्था आओस् प्रार्थना गर्दछु । तर, यस्तो अवस्था आउँदैन ।

 सम्माननीय सभामुख महोदय, 
म सबैलाई आग्रह गर्न चाहन्छु, यो कुरा सुन्दै गर्दा कतिलाई रिस पनि उठ्ला, तर, कुनै व्यक्तिगत कुरा होइन । यो देशको कुरा पनि हो, देश भन्दा पहिला यो मानवियताको कुरा पनि हो । हामी प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई नबिर्सौँ । धन्यवाद जय नेपाल।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप