शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मार्टफोनको क्यामेरा युद्धमा आईफोन ११ पनि हामफाल्दै

सेप्टेम्बर १० मा सार्वजनिक हुने आईफोन ११ मा थपिने प्रमुख विशेषता
बुधबार, १८ भदौ २०७६, १३ : ४६
बुधबार, १८ भदौ २०७६

एजेन्सी । सेप्टेम्बर १० मा एप्पलले उसका नयाँ उत्पादनहरु सार्वजनिक गर्दैछ । मानिसको मुख्य ध्यान एप्पलको पहिचान बनेको आई–फोनका नयाँ संस्करणमा कस्ता कस्ता नयाँ विशेषता थपिने होला भन्नेमा केन्द्रीत छ ।  

अहिले इन्टरनेटमा धेरै सोधिखोजी हुने विषयमा आइफोन ११ का सम्भावित नयाँ विशेषता नै छन् ।  

र यही समयमा विभिन्न स्रोतलाई उल्लेख गर्दै आईफोन ११ मा थपिने प्रमुख विशेषताहरु अनलाइन समाचार साइटमा आइरहेका छन् ।  

यहाँ चर्चामा रहेका नयाँ विशेषतामध्ये चार सबैभन्दा महत्वपूर्ण विशेषता प्रस्तुत गरिएका छन् ।

वाइड–एङ्गल क्यामेरा:

आई–फोनको अघिल्लो संस्करणहरु आई–फोन एक्सआर र एक्सएस बजारमा आए यता हुवावे, गुगल र कैयन अन्य एन्ड्रोइड कम्पनीले आफ्ना स्मार्टफोनको क्यामेरामा निक्कै सुधार गरिसकेका छन् ।

आजकल ४८ मेगापिक्सेल र ६४ मेगापिक्सेल क्यामेरा त मध्यम मुल्यका मोबाइल फोनमै उपलब्ध छन् ।

एप्पलले पहिलेदेखि आफूलाई मेगापिक्सेल बढाउने खेलबाट अलग राख्दै आएको छ । तर इन्टरनेटमा लिक भएका सामग्रीका आधारमा क्यामेरामा महत्वपूर्ण सुधार हुने संकेत देखिन्छ ।

रिपोर्ट अनुसार, एप्पलको आइफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्सको पछाडि भागमा तीन वटा क्यामेरा हुनेछन् । तेस्रो सेन्सरले वाइड–एङ्गललाई सम्भव बनाउनेछ । एप्पलले आई–फोन ११ मा गर्ने अन्य सुधारमध्ये भिडियो सुटिङको स्तरोन्नती पनि एक हो ।

Slideshow by Business Insider

फेस आइडी छिटो खुल्ने:

एप्पलले आईफोन ११ फोनका फेस आइडीलाई तीव्र र राम्रो बनाउन काम गरिरहेको छ । विभिन्न रिपोर्ट अनुसार, नयाँ परिष्कारपछि आईफोनले न्युन प्रकाशमा पनि थप प्रभावकारिताका साथ फेस आईडीले काम गर्नेछ ।

नयाँ हुने परिष्कारमा फोन सिधा नुहँदा पनि प्रयोगकर्ताले फोनको लक  खोल्न सकिने बनाउन लागेको छ । यसका लागि कम्पनीले फोन सेटमा बहु–कोणीय सेन्सर समावेश गर्दैछ ।  

यो विशेषता गुगल पिक्सेल ४ मा आइसकेको छ । गुगलले आफ्नो पिक्सेल ४ लाई उल्टो पारेर समाउँदा पनि अनलक गर्न सकिने पुष्टि गरेको छ ।

रिभर्स चार्ज हुने:

वायरलेस चार्जिङ प्रविधि आएको वर्षौं भइसक्यो । सामसङ र हुवावेजस्ता ब्राण्डले पहिलेदेखि रिभर्स वायरलेस चार्जिङ प्रविधिको प्रयोग गरिरहेका छन् । यस प्रविधिले फोनलाई ‘चार्जिङ प्याड’मा बदलिदिन्छ । सामसङले ग्यालेक्सी एस–१० र नोट–१० फोनमा यो सुविधा दिएको छ । हुवावेले पनि उसको मेट २० सेटबाट यो सुविधा सुरु गरिसकेको छ । रिपोर्टहरुका अनुसार एप्पलका प्रयोगकर्ताले अब आईफोन ११ का सेटबाट तिनको एयरपड (बक्सको माध्यमबाट) चार्ज गर्न सक्छन् ।

पेन्सिलसहित आउनेछ नयाँ सेट:

एप्पलले यस पटकका आईफोनमा पेन्सिलको प्रयोग गर्न मिल्ने विशेषता थप्ने सम्भावना अत्यधिक छ । फोर्ब्स पत्रिकाको रिपोर्ट अनुसार, आइफोनका खोल बनाउनेले यही परिवर्तनलाई ध्यानमा राखेर खोल बनाइरहेका छन् । अधिकांश आइफोन ११ प्रोको खोल पेनसिल राख्ने भाग सहित निर्माण भइरहेका छन् । यो वर्षको सुरुमा सिटि रिसर्चले जारी गरेको रिपोर्टले पनि यो वर्ष सार्वजनिक हुने आइफोन फोनमा डिजिटल पेन्सिल हुने सम्भवना व्यक्त गरेको थियो । अहिले एप्पल पेन्सिलले आई–प्याडमा मात्र काम गर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप