बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब ऋषि कपुरले नितूलाई भनेका थिए, ‘तिमीलाई डेट मात्र गर्छु, कहिल्यै विवाह गर्नेछैन’

बुधबार, १८ भदौ २०७६, ११ : ०५
बुधबार, १८ भदौ २०७६

ऋषि कपुर र नितू सिंहलाई बलिउडका मोस्ट आइकोनिक अनस्क्रिन र अफस्क्रिन जोडीको रुपमा हेरिन्छ । विवाहको ३९ वर्षपछि पनि यी दुईको केमेस्ट्रि गज्जबको छ । ऋषि नितूको तारिफ गरेर कहिले पनि थाक्दैनन् । फिल्ममा काम गर्दागर्दै यी दुई नजिकिए र पछि विवाह बन्धनमा बाँधिए । यो जोडीको लभ–स्टोरी निकै रोचक छ । आउनुहोस् उनीहरुको लभ–लाइफबारे केही जानकारी लिऔंः

ऋषि र नितूले थुप्रै फिल्ममा सँगै काम गरेका छन् । जसका कारण उनीहरु धेरैजसो सँगै हुन्थे तर यी दुई त्यतिबेला एक–अर्काप्रति आकर्षित नभएको पनि स्विकार्छन् । ऋषि कपुरलाई नितूसँगको प्रेम त्यतिबेला महसुस भयो जब उनी फिल्म बारुदको सुटिङका कारण केही दिनका लागि उनीसँग टाढा भए ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार ऋषि कपुर सुटिङका लागि पेरिस गएका थिए र त्यहाँ उनी एक्लो महसुस गरिरहेका छन् । २–३ दिनमा नै ऋषिलाई आफू नितूसँगको प्रेममा रहेको महसुस भयो ।

पेरिसबाट ऋषिले नितूलाई टेलिग्राम पठाए । टेलिग्राममा ऋषिले लेखेका थिए, ‘यो सिखणी निकै याद आउँछ ।’ त्यो पढेर नितूको खुसीको सीमा रहेन र उनी आफ्नो खुसी कसैसँग लुकाउन सकिनन् । उनले त्यो यश र पामेला चोपडालाई देखाइन् ।

ऋषिले नितूसँगको प्रेम त व्यक्त गरे तर उनी प्रतिबद्धतासँग डराउँथे । उनलाई विवाह एक जिम्मेवारी लाग्थ्यो र त्यतिबेला उनी विवाहका लागि तयार थिएनन् । नितूसँगको प्रेम सम्बन्धका बेला उनले भनेका थिए, ‘म तिमीलाई डेट मात्र गर्नेछु, कहिले विवाह गर्नेछैन ।’ ऋषि कपुरकी बहिनीले यी दुईलाई एक गराउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरिन् । ऋषिसँग नितूको इन्गेजमेन्ट पनि निकै रोचक तरिकाले भएको थियो ।

ऋषि कपुर एकजना साथीको विवाहमा सरिक हुन दिल्ली गएका थिए र उनकी बहिनीले गोप्य रुपमा दुबैको परिवारलाई विवाहमा निम्तो दिइन् । दुबैको परिवारलाई उनीहरुको सम्बन्धबारे थाहा थियो । परिवारका सदस्यले त्यति नै बेला इन्गेजमेन्ट गर्ने निर्णय गरे ।

त्यतिबेला ऋषि कपुरसँग नितूलाई लगाइदिनका लागि औंठी पनि थिएन । उनले बहिनीसँग औंठी मागेर नितूलाई लगाइदिए । यस्तै नितू कपुरले फिल्म ‘झुठा कहिँ का’ का निर्देशकको औंठी ऋषिलाई लगाइदिइन् । त्यसपछि यी दुईले विवाह गरेका थिए । स्मरण रहोस्, नितूलाई पाँच वर्ष डेट गरेपछि उनले विवाह गरेका थिए ।

ऋषि कपुर सेप्टेम्बर ४ मा आफ्नो जन्मदिन मनाइरहेका छन् । यतिबेला उनी न्यूयोर्कमा क्यान्सरको उपचार गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप