शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिटरब्याजी’ परदेशीबाट ठगिएका पीडितहरुको विलौना, दुई जनाले गरेका थिए आत्महत्या

सोमबार, १६ भदौ २०७६, १९ : ४०
सोमबार, १६ भदौ २०७६

जनकपुर – पैसा ब्याजमा लगाई ठगी गर्ने  (मिटरब्याजी) श्याम परदेशी भनिने श्यामकृष्ण साह अहिले प्रहरीको नियन्त्रणमा छन् । 

उनीसँग २ सय ९९ जना व्यक्तिले १ करोड ९ लाख २१ हजार रुपैयाँ ऋण लिएको थिए । परदेशीसँग ऋण लिने अधिकांश ऋणीहरु उनीबाट निकै नै पिडामा छन् । उनीसँग ऋण लिएका अधिकांश ऋणीले पटक पटक गरी १ करोड ४७ लाख ४ हजार रुपैया भुक्तानी गरिसकेको पीडितहरु बताउछन् ।

पीडितहरुले प्रहरी कार्यालयमा जाहेरी दिएपछि परदेशीलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । नक्कली तमसुक बनाई स्थानीय सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा वडा नम्बर १० स्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार आइतबार सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न लागेको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अनुसन्धान गर्न आग्रह गरिएको छ ।  सर्लाही प्रहरीले परदेशी माथि जालसाजी तथा ठगी मुद्दा दायर गरेर सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुँदैछ । साथै परदेशीको नाममा रहेका हरेक चल अचल सम्पत्ती रोक्का गरिएको छ ।

साहु परदेशीको यस्तो लिला

सर्लाहीको मलंगवा वडा नम्बर ४ का श्यामकृष्ण साह कलवार श्याम परदेशी उपनामले चिरपरिचित छन् । उनले समाजमा परम्परागतरुपमा चल्दै आएको सामन्तीप्रथा अनुसार साहु महाजन बनेर एक ऋणीसँग पटक पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकै पटक असुल्ने गर्थे ।
प्रायः उनीसँग ऋण लिन आउने अति विपन्न परिवारका हुन्थे । साहु परदेशीले उनीहरुलाई गलत नियतीले ऋण दिएर ऋणी बनाउने गर्थे भने सोही रकमको व्याजदेखि प्याजसम्म असुली गर्थे । पीडित ऋणीहरुले उनको ऋण तिर्न नसकेर कतिपयले आत्महत्या नै गरेको स्थानीयले बताए ।

सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ३ बस्ने दुर्गा चौधरीले साहु परदेशीसँग ३ वर्ष पहिले ऋण लिएकी थिइन् । ऋण लिएको एक वर्षपछि पैसा तिर भन्दै साहु परदेशी दवाव दिन थाले । 

जसले दुर्गामाथि मानसिक दवावमा पर्न थाले । ऋण तिर्नु पर्ने दवावले उनले अन्तिम विकल्प आत्महत्या रोजिन् । दुर्गाका पतिले विदेश जानका लागि ३ लाख रुपैया ऋण लिएका थिए । पति विदेशमा रहेको अवस्थामा साहु परदेशीले घरमै आएर ताकेता गर्न थाले । दिनहुँ ताकेता र गाली गलौज सहन नसकेर  उनले आत्महत्या गरेको स्थानीयवासीको भनाइ छ । 

दुर्गाको मृत्युपछि पनि उनका ससुरा श्रीकान्त चौधरीसँग ऋण ४ गुणभन्दा बढी रकम चुक्ता गर्न परदेशीले दवाव दिन थाले । उनले पनि आत्महत्याकै बाटो रोजेको स्थानीयवासी बताउछन् । स्थानीयवासीका अनुसार साहु परदेशीले ऋण दिने बेलामा मिठो मिठो कुरा गर्ने गर्छन् । तर ऋण लिइसकेपछि त्यसको केही वर्षपछि अर्को कागज बनाउन ऋणीलाई दवाव दिएर चर्को रकम असुली गर्ने गर्छन् ।

साहु परदेशीबाट ऋण लिएर पीडा भोगे हरिशचन्द्र महतोले पनि । पीडित महतोले साढे २ लाख ऋण लिएका थिए । तर, परदेशीले पीडित महतोसँग ४ वटा कागज गराए । पहिलो पटक ५० हजार, दोश्रो पटक ११ लाख, तेश्रो पटक १७ लाख र चौथो पटक ४५ लाख रुपैया गरी  ७३ लाख ५० हजार रुपैयाँको कागज बनाएका थिए ।

पीडित हरिशचन्द्र महतोले ब्याजसहित सो ऋण चुक्ता गर्न जाँदा ७३ लाख रुपैयाको कागज देखाएपछि झण्डै बेहोस् नै भएको उनले बताए । 

पीडित हरिशचन्द्रले रकम चुक्ता गर्न नसकेपछि उनीमाथि मुद्दा दिए र अहिले पनि उनीमाथि पक्राउ पुर्जी जारी भएको उनी बताउछन् । त्यस्तै आर्थिक विपन्नताको विकराल अवस्था आएपछि सर्लाहीको हरिपुरकी रीनादेवी साहले समेत ०७२ सालमा ऋण लिएकी थिए ।

पति विदेश जानुपूर्व साहु परदेशीबाट रीनादेवीले दुई लाख रुपैया जति ऋण लिइन् । तर साहुले भने २ लाखको साटो कागजमा २ लाख ३० हजार भनेर ३ लाखको कागज बनाए । कागजमा ३ लाख रुपैया ऋण लिएको लेखियो । किस्ताबन्दीमा थुप्रै पटक ऋणको व्याज समेत बझाइन् । तर ऋण घट्नुको साटो उल्टै साहु परदेशीले ऋण लिएको अर्को नयाँ कागज बनाउदैँ गए ।

उनले भनिन्, ‘४ लाख ५० हजार रुपैया साहुलाई चुक्ता गरिसकेको छु ।’ तर साहुले महिना नवित्दै ऋण चुक्ता गर्न दवाव दिदैँ आएको उनी बताउछन् ।

परदेशीसँग सर्लाहीका विभिन्न गाउँका वासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा परदेशीसँग नै ऋण लिने गर्थे  । तर परदेशीले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थाले ।

उनीबाट ठगीने पीडितको संख्या बढ्दै गयो । उनीविरुद्ध सर्लाहीमा केही गर्न नसकेपछि पीडितहरु काठमाण्डौँमै पुगेर राजनीतिक दलका शीर्षनेतादेखि प्रशासनिक निकायसँग गुहार मागिरहेका छन् । 

स्थानीयवासीका अनुसार अहिलेसम्म परदेशीबाट ठगीनेको संख्या २ सय ९९ जना रहेको छ भने ४७ जनाले औपचारिक रुपमा प्रहरीमा उजुरी दिएका छन् ।

पीडितहरु अहिले संघर्ष समिति गठन गरेर परदेशीविरुद्ध भण्डाफोर अभियान नै संचालन गरेका छन् ।

परदेशीले आफ्नो राजनीतिक पकड बनाउदैँ गएपछि व्याजमा ऋण लगाउने र चर्को ब्याज असुली गर्ने गरेको थियो । उनी तत्कालीन नेकपा एमालेका स्थानीय नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप