बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला प्रहरीको तीजः सुरक्षा दिँदै समय गएको थाहा हुँदैन

सोमबार, १६ भदौ २०७६, १८ : १२
सोमबार, १६ भदौ २०७६

-माया श्रेष्ठ

काठमाडौं– भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व आज । पशुपतिनाथ मन्दिरमा शिव पार्वतीको पूर्जा तथा दर्शन गर्नका लागि निराहर वर्त बस्ने महिलाहरुको भीड लागेको छ । शिव पार्वतीको दर्शन गर्नका लागि टन्टालापुर घामको प्रभाह नगरेर रातो रङको साडी, चुरा, पोते, सिन्दुका साथै कुर्ता र लेहेङगामा सजिएका हजारौं महिला पशुपतिनाथ मन्दिरको चार ढोकातर्फ लामबद्ध भएर उभिएको देख्न सकिन्छ । साथै ब्रतालु महिलाहरुले तीजका भाका गाउँदै र नाच्दै गर्दा मन्दिर परिसर गुञ्जयमान भएको छ ।

महिलाहरु समूह समूहमा विभाजित भएर तीजका गीत गाउँदै  छमछमी  नाचिरहेका छन् । यहि बीचमा मन्दिरमा दर्शन गर्न आउने र छमछमी नाच्दैँ गाउँदैँ गरेका भीडलाई सुरक्षा दिनका लागि करिब ५ सय महिला सुरक्षाकर्मी पनि टन्टलापुर घाममा खटिरहेका छन् । महिला प्रहरी मन्दिरको दर्शन गर्न आएका महिलाको लाइन मिलाउन व्यस्त देखिन्छन् ।  केही महिला प्रहरी मन्दिर परिसरमा भएको भीड्को बीच बीचमा सुरक्षार्थका लागि व्यस्त देखिन्छन् ।

मन्दिर परिसरमै सुरक्षाका लागि व्यस्त थिइन् महानगरीय प्रहरी प्रभाग कपनकी प्रमुख प्रहरी उपरीक्षक (इन्सपेक्टर) सुरक्षा केसी । बिहान सात बजेदेखि सुरक्षार्थका लागि खटिएको उनले बताइन् । उनले भनिन् ‘चाडपर्वको समयमा घरपरिवारको सम्झना अरु बेलाभन्दा बढी आउँछ, जागिर गर्नुभन्दा अगाडि मनाउने चाडपर्व र अहिले मनाउने पर्वहरुको शैली परिर्वतन भएको छ ।’ उनले भनिन् । 

घरपरिवार आफन्तसँग तीज मनाउन नपाए पनि पशुपति मन्दिरको परिसरमा आएर महिला दिदी बहिनीलाई सुुुरक्षा दिएर उहाँहरुसँगै तीज मनाउन पाउनु ठूलो कुरा भएको उनले बताइन् । चर्को घामको प्रभाह नगरिकन निधारबाट तप–तप पसिना चुहाउदैँ पशुपति मन्दिर परिसरमा सुरक्षार्थका लागि खटिएकी थिइन्, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिान महाराजगञ्जकी प्रहरी निरक्षक सरला गिरी ।

बिहानै देखि साँझसम्मका लागी सुुरक्षार्थमा खटिएको उनले बताइन् । ‘घरपरिवार साथीसँग तीज मनाउन सम्भव नभएपनि धेरै संख्यामा महिला प्रहरी दिदी बहिनीसँगै सुरक्षार्थ मन्दिर परिसरमा खटिएर सेवा गर्दा तीज मनाए जस्तै भएको छ, धेरै महिला प्रहरीसँग भेट भएर काम गर्ने अवसर कम मात्रै आउँछ त्यसैले परिवारसँगै भएको महसुस गरेको छु ।’ उनले भनिन् । 

महाराजगञ्ज मै कार्यरत प्रहरी नायव निरिक्षक मञ्जु चौधरी पनि सुरक्षाकै लागि पशुपति परिसरमा व्यस्त थिइन् । ‘देशको सेवा गर्नका लागि खटिएकाले अन्य नारीहरुले जस्तै वर्त बसेर रातो पहिरनमा नसजिए पनि मनबाट नै चार्डपर्वका राम्रा पक्षहरुलाई स्वीकार गछुर््,मन्दिरमा दर्शन गर्न आउने दिदी बहिनीलाई आफ्नो क्षेत्रबाट सेवा गर्न पाउँदा तीजको उल्लास् झन् बढेको छ ।’ उनले भनिन् ।  

मन्दिर परिसरमा नाच्ने गाउने, दर्शन गर्ने र सेल्फी खिच्ने महिलाहरुको भीडमा काम गरिरहेकी थिइन् पशुपति क्षेत्र विकास कोषकी कर्मचारी सरस्वती तिमिल्सेना । विगत २० वर्षदेखि पशुपति मन्दिरमा काम गर्दै आएको उनले बताइन् । ‘विगत २० वर्षदेखि तीज मनाउन पाएको छैन्, बिहान ५ बजेदेखि काम खटिएकी छु’ उनले भनिन् ।

शिव पार्वती भगवानको वरिपरि बसेर सफा गर्ने अवसर पाउँदा खुसी भएको उनले बताइन् । धेरै वर्षदेखि दिदीबहिनी साथीसंगीसँग तीज मनाउने अवसर नपाएकाले प्रत्येक वर्ष आउने तीजमा खासै हर्ष उल्लाहस नभएको तिमिल्सेनाले बताइन् । त्यस्तै क्षेत्र विकास कोष कै कर्मचारी लक्ष्मी सापकोटालाई तीजमा अन्य महिला दिदीबहिनी जस्तै राम्रो रातो पोसाक लगाएर मन्दिर दर्शन गर्न आउने र नाच्ने रहर नभएको होइन ।

उनले पनि कार्यव्यस्तताले गर्दा आनन्दले साथीभाईसँग रमाएर तीज नमनाएको धेरै वर्ष भयो । मन्दिर परिसरमा अन्य दिदीबहिनीहरुले तीज मनाएको हेदैँ काम गरेर तीजको मज्जा लिन बाध्य भएको उनले सापकोटाको गुनासो थियो ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको किवंदन्ती सुनेका हिन्दु महिलाहरु ब्रत बस्दा मनोकामना पूरा हुने विश्वासका साथ निराहर व्रत बस्ने गर्छन् । वर्त बसेरै दर्शन गर्ने महिलाको सेवा र सहयोग गरेर पनि मनोकामना पुरा हुन्छ भन्दै भक्तजनलाई खानेपानी निशुल्क वितरण गर्न व्यस्त थिइन्, लायन्स क्लब अफ काठमाडौँ क्रियटिभ ओमनकी सचिव रेनु श्रेष्ठ । बिहानदेखि साँझसम्म मन्दिरमा आएका भक्तजनहरुलाई खानेपानी वितरण गर्दै आएको उनले बताइन् । ‘१०–११ वर्षअगाडि खानेपानी राख्दा निराहार व्रत बस्नेहरुले गली गर्थे, अहिले त्यस्तो छैन्, केही वर्षयताको तीजमा भने पानी पिउने भक्तजन धेरै छन् ।’ उनले भनिन्

भगवानका नाममा पानी नपिइकन व्रत बस्तु गलत मान्यता भएको उनले बताइन् । ‘रातो पोसाक लगाएकी छैन्’ उनले भनिन्, ‘रातो पोसाक लगाएर मात्रै तीज मनाउने भन्ने हुँदैन ।’ तिर्खा लागेका दिदीबहिनीहरुको प्यास मेटाउन पाउँदा तीजको मज्जा नै बेग्लै भएको उनले बताइन् ।

त्यस्तै सोही क्लबकी शोभा गुरुङ मन्दिर परिसरमा भक्तजनहरुलाई खानेपानी वितरण गर्न व्यस्त थिइन् । परिसरमा आएर तिर्खाएका महिलालाई खानेपानी वितरणका लागि बिहानदेखि साँझसम्म उभिँदा तीज लागेको आभास बल्ल भयो,’ गुरुङले भनिन्, ‘मन्दिरमा गएर दर्शन गरेपनि आनन्द हुन्छ, दिनभरि यसरी सेवा गर्न पाउँदा पनि आनन्द हुन्छ ।’ गुरुङ र श्रेष्ठ जस्तै मन्दिर परिसरमा क्लबका १५ जना महिलाहरु व्यस्त थिए । खानेपानी र स्वयम् सेवकका रुपमा विभिन्न संघ–संस्थाबाट ठूलो संख्यामा महिलाहरु खटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप