मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुर र गाई मार्नेलाई कडा कारबाही गर्न माग

सोमबार, १६ भदौ २०७६, १५ : ३९
सोमबार, १६ भदौ २०७६

काठमाडौं । स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले  खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले यस्तो ध्यानाकार्षण गराएको हो । 

उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ । हामी यी दुबै घटनाको घोरभत्र्सना गर्दै दोषीउपर कानून बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानून निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिईने विश्वास दिलाए । पछिल्लो समय पशुमाथि भएको यस्तो निर्दयी र निर्मम घट्नाप्रति पनि उनले दुःख व्यक्त गरे । 

त्यस्तै, कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घट्नाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । उनले नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्राको रुपमा रहिरहँदा विश्व समुदायसँग गरेका प्रतिवद्धता तथा हस्ताक्षर गरिएका सम्झौताहरुको विपरित हुनेगरि यस्ता किसिमका गैरजिम्मेवार क्रियाकलापहरु हुनुले राज्य संयन्त्रहरुको आपसी तालमेल कतिसम्म धरासयी छ भन्ने प्रष्ट देखिएको सुनाईन् । 

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दिर्घकालिन समाधानको लागि सरोकारवाला निकायबाट जिम्मेवारपूर्ण पहल हुनुपर्नेमा जोड दिए । 

त्यस्तै, अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याण सम्बन्धमा रहेका कानूनी व्यवस्था र प्रावधानहरु परिपालन हुनुपर्ने बताए । उनले तत्काल पशु कल्याण ऐन जारी गरी पशुहरुप्रति हुने क्रुरतालाई रोक्न सकिने सुझाए । 

अर्का वक्ता नारायण प्रसाद घिमिरेले खोटाङ र सुर्खेतमा भएको घट्नाप्रति भत्र्सना गर्दै सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप