शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

डेङ्गु किटको अभाव हुन दिँदैनौँ : रेणु दाहाल

सोमबार, १६ भदौ २०७६, १३ : ००
सोमबार, १६ भदौ २०७६

चितवन– भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ । महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताए ।

भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसलगत्तै महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखाप्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिए । 

महानगरप्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँग समेत कुराकानी गरिसकेको बताए । महानगरप्रमुख दाहालले सम्बन्धित निकायबाट किट उपलब्ध हुन नसकेमा तत्कालका लागि प्रक्रिया पु¥याएर महानगरले व्यवस्था गर्ने जानकारी दिए । उनले भने, ‘किटका कारण सरकारी अस्पतालमा डेङ्गु परीक्षण रोकिनु हुँदैन ।’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किटको अभावमा परीक्षण रोकिएको बताए । आज तीन सय वटा किट टेकुबाट आउने जानकारी दिँदै सो किटले दुई दिनभन्दा बढी नधान्ने बताए । किट व्यवस्थापनका लागि महानगरप्रमुख दाहाल, प्रजिअ जितेन्द्र बस्नेतलगायत सबै लागिपरेको हुँदा अबका दिनमा किटको अभाव नहुने विश्वास आफूले लिएको जानकारी दिए । 

डेङ्गु परीक्षण निःशुल्क हुने गर्दछ । अस्पतालसँग किट खरीद गर्ने अधिकार र बजेट नहुने भएकाले किट नआएकै कारण सेवा रोकिएको उनको भनाइ थियो । किट भएमा जुनसुकै समयमा अस्पतालले परीक्षण गर्ने तिवारीले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले अस्पतालमा किट नहुँदा बीमाका बिरामीलाई निजी अस्पतालमा सिफारीश गर्न बाध्य भएको जानकारी दिए । निजीमा धेरै खर्च हुने भएकाले बिरामीले मार खेप्नु परेको छ । रु पाँच सय हाराहारी पर्ने सो किट निजी अस्पतालमा परीक्षण गर्दा रु दुई हजारसम्म पर्ने गर्दछ । 

हालसम्म जिल्लामा ५३७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । 

रोगले महामारीको रुप लिन सक्ने भन्दै शनिबार बिहान सचेतनामूलक ¥यालीको आयोजना गरेको महानगरले रोग परीक्षण सहज बनाउन चाहेको छ । प्रमुख दाहालका अनुसार सबै वडामा सचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिइएको छ । दैनिक माइकिङ गर्ने काम महानगरले गरिरहेको छ । अटेर गर्नेहरुलाई कारवाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ । 

नारायणगढमा टायरमा पानी भरिँदासमेत अटेर गरेर नफालेका चार जनालाई आज पक्राउ गरी प्रहरीलाई बुझाइएको महानगरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप