बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

जय तीज ! नगर कसैले किचमिच !

सोमबार, १६ भदौ २०७६, १२ : ४१
सोमबार, १६ भदौ २०७६

व्यापार अपार भनेर त्यसै भनेको रहेनछ । हाम्रो सभ्यता र संस्कृतिको बिम्ब तीज केही व्यापारीहरूको स्वार्थमा थुनिँदै त छैन ? अहिलेको युग झन् वैश्य जुग भएर होला सबै क्षेत्रमा मात्र व्यापारिक सोच कोचाकोच छ बा ! शिक्षा, स्वास्थ्य, धर्म, राजनीति, सामाजिक सम्बन्ध र परम्परागत व्रत तथा उत्सवसमेत कमाउ धन्दाको फन्दा परेको देख्दा ‘आयो कलि धपक्कै बली’ भन्ने गीत गणितझैँ अकाट्य पो भो गाँठे ? तीज आउनुभन्दा धेरै अघिदेखि तीज गीतको भिडियोमा उर्लेको बाढी यतिखेर त नेपालै डुबाउने भइसक्यो ।

‘तीज’ घर संसारमा झगडाको बीउ, सासू–बुहारीबीचको छेडखानको निउँ र भुँडी अटेसमटेस हुनेसम्मको घिउ खाएर ग्यास्टिकमा हालाबाला पार्ने ज्युनार बन्न हुन्न । पर्वमा गर्वालु हुनुपर्छ खर्चालु हैन, ढासा र ढोङ होइन, आत्मीयता र सरलता । ‘व्रत’ बेकामको भतभत पोल्ने घाउ र खत बन्न हु‘दैन । सात्विक उपवासमा तामसी चिन्तनले आवास र आवाद गर्नु सनातन संस्कृतिमा अपशकुन मडारिनु हो । चाड घाँटीमा अड्किने हाड, ऋणको गाड, व्यपारीहरूको लुटका कार्ड बन्न हुँदैन । महोत्सवलाई अन्धविश्वासको श्वास प्रश्वास र निकृष्ट धन्दाको फन्दामा पारिनु हुन्न । ऋणलाई तृण बराबर सम्झिएर घिन नमानी घिचन्दास हुने कुकार्यले सधैँ अरूकै दास बन्नुपर्ने नियति आइपर्छ । पारिवारिक एवं सामाजिक जीवनमा सांस्कृतिक महोत्सवहरू यतिखेर बोझ, धाक, रवाफ, गहना र लुगा देखाएर स्वाङ पार्दै भ्वाङमा जाक्किने थिति नआओस् । 

नेपालीहरू अझै पनि आफ्ना साङ्केतिक पर्व वा दिवसहरूलाई विवस र बाध्य पारेर फगत् भकुर्ने कामलाई साध्य बनाउ‘दै सतही कुराभित्र गुँडुलिएको गुँडुलियै पो छन् त ! संसारका कैयौँ मुलुकले परिवर्तनको काँचुली फेर्दा, विज्ञान र प्रविधिको चरम क्रान्ति भइसक्दा पनि भ्रम पस्किएर नयाँ पुस्तालाई विभ्रम बनाउने क्रम जारी छ बा ! ‘छोरो पाउनु कहिले कहिले भोटो सिउनु अहिले’ भन्ने उखान चरितार्थ गर्दै महिनौँ दिनअघिदेखि रेडियो, टेलिभिजन, युटुब, फेसबुक, सिनेमा र टेलिशृङ्खलाहरूमा सम्बन्धितहरूलाई तताएर बेवकुफ बनाउने खेला ठेलम ठेला भएर आइरहेका छन् तीजको नाममा । नेपालमा आफ्नो कलाकारितालाई नचिनेको गुनासो गरेर विदेशिएका समेत यो बेला कलाकारको पगरी गुथेर तीजको नाममा दुई चार भिडियो बनाउन आइहाल्छन् ।

मातृभूमिको माया लागेको भनेर गोहीको आँसु चुहाउँदै छाडा गीतमा कौलासेको दृश्यले कुन सज्जनको मुटु कुटुकुटु खाँदैन ? कैयौँ दिदीबहिनीहरू दरमा तर मारेर तरबर गर्दै ब्युटिपार्लरलाई रोजगार दिएर बास्नादार बन्दै ठाँटिएको ठाँटियै पो छन् त गाँठे ! कतिपय सम्भ्रान्त एवं नवसम्भ्रान्त सुकिलामुकिलाहरू संस्कृति नै बदनाम र गुमनाम हुने गरी आधुनिकताको नाममा तीजको मौलिकतामा नै हुरीबतास मच्चाइरहेका छन् । तीज आज हर क्षेत्रका लुटन्दासहरूको कमाउमार्गको गतिलो पुल बनेर भविष्यलाई भुल थप्दैछ । मन्दिर, धर्मशाला, देवस्थल, चौतारो र पूजा–मण्डपमा भेला हुनुपर्नेमा कारमा हार लागेर बहार मार्दै पाँच तारे होटल, डान्सबार र पार्टी हलहरूमा तमोगुणी खानाको हलाहल भकुरेर बल झिकी अपसंस्कृतिको भलको हुण्डरी मच्चाइरहेका छन् । त्यसैगरी च्याउसरी उम्रिएका राजनीतिक दल, नाना नामका सहकारी, वित्तीय संस्था, भ्रातृ सङ्गठन, शुभेच्छुक सङ्घ–सङ्गठन र अशुभेच्छुक धनीमानीहरूको (खाना–कालको) हसुर्ने र भकुर्ने अभिमानी पर्व पो बन्दै छ । आध्यात्मिक शान्ति एवं सौम्यताको प्रतीक पर्व तीज जहाँ शिवको भजन कीर्तन र स्तवन गर्नु पर्ने ठाउँमा छिल्लिएका अनि पात्तिएका तथा मात्तिएका दोहोरीको कामुक गाना पो चल्छ गाँठे ? 

 यसरी धनाढ्य र नवधनाढ्यहरू तारे होटलमा बियर, स्कच, रेड लेभल, परिकार, परिकारका मासु, माछा दन्काएर ढ्याउ गर्दै छोटा फेसनमा मोटा गफ छाँटिरहेको देख्दा कुन संस्कृेतिप्रेमीको कन्सिरीको रौँ तात्दैन र ? त्यसमा पनि क्याट वाक, लाइन जम्प, कक फाइट र नशीला ताता गानामा मानाका माना तीनपाने समेत थप्ने थप्पुकाजी र कजिनीका तालले त भल्गर खाले रत्यौली नै पो बिर्साउँछ त ! आफ्नै खाले देवगान, लोकगान, नारी अस्मिता, वीर एवं भक्ति–गानलाई अपमान गरेर हिपहप, ¥याप र रेकमा च्यापाच्याप गरेका भाले पोथीको तातो दृश्यले संस्कृतिभीरुहरूको सातो लिएको छ । यसरी तीज धनीगरिब मापन गर्ने, गरगहनासहित फेसन सो भर्ने, फजुलमा कृत्रिम तरिकाले अङ्ग–प्रत्यङ्ग चम्काएर को भन्दा को कम ? को ढर्रामा गर्राका गर्रा झल्ला भएर हल्ला पिटिरहेको देख्दा धूर्त वैश्यतन्त्रका अनुयायीले उत्सवलाई मजैको नाफामुखी धन्दा बनाए बा ? वास्तवमा चाड आफ्नै ढाड सेक्ने, हाड घोट्ने र टाट उल्टाउने हुन थालेपछि संस्कृतिप्रेमीहरू घाट पुग्ने थितिमा छन् ।

नशाको बेसुरमा मर्यादालाई पैतालाले किचेर घरानियाहरूले तीजलाई भ्रान्ति–वीज र कमाउ ब्रिज बनाउने कुकाम गरिरहेका छन् । त्यसैगरी चुरा, धागा, पोते, टीका, सिन्दूर जस्ता सौभाग्यका सामान उपहार दिने क्रममा महँगा लोसन, क्रिम, माला, आभूषण र लत्ताकपडाले घरायसी बजेटलाई जेट र आखेट बनाउने क्रम भयकारी भएको छ । नव–सम्भ्रान्त र भुइँफुट्टाहरूले धर्म–संस्कृतिलाई नै टुट्टा पारेर झुट्टामा परिणत गर्दैछन् । पुरुषसरह समानता र स्वतन्त्रताको आलाप गर्ने नारी–मण्डली अझै आफ्ना लोग्नेको आयु बढाउन वायु चल्ने गरी अभक्ष्य हसुरेर आफ्नो पेटलाई गड्याङ गुडुङ पारिरहेका पनि भेटिन्छन् । श्रीमतीको आयु एवं आरोग्य वृद्धिमा तमाम श्रीमान्लाई उपवासको लगाम लगाइदिने सामथ्र्य कहिले आउला ? यी समानताको बिगुल फुक्ने मातृसत्तामा ? अहिले पत्रकार टीकाकार भनिरहेछन्– व्रतको नाममा कम्मर हल्लाउने, कुचमण्डल र नाभी प्रदेश देखाउँदै आँखा मर्काउनमै सन्चो मान्ने दब्बु नारीवृत्तिले कुन युगमा समानताको बाजा बजाउन सक्लान् ? हामी पुरुष वर्गको पुतली हैनौँ भनेर ललकार दिने ललना जमात अझै कैयौँ वर्ष अदना हुने हुन् ठेगान छैन । 

 किसिम–किसिमका गरगहना र भेषभूषा लगाएर अप्सराहरूले पुरुष मोराहरूलाई भ्रष्ट र दुई नम्बरी काममा बुइ चढाएरै छाड्ने भए गाँठे ! भनेर एक पाका बूढा जङ्गिदै थिए तीज प्रसङ्गमा । सत्वगुणी, सौम्य मुद्रा, शान्त र धीर चरित्रमा मनाउने तीज पर्व गर्वबाट गिर्दै छ । खबरदार ! तिजलाई फ्रीजमा नहाल, होसियार फगत बेपारीका ट्रेडमार्कको ब्रिज नबनाऊ तीजलाई । आदर्श र उच्च बन्न सिकाउने व्रतलाई अराजक र उद्दण्ड बनेर कलङ्कको टीका लगाउन पाइन्न । तीज त क्रान्तिको बीउ र शान्तिको फसल हुनु पर्छ । श्रीमान् श्रीमती र नयाँ पुस्तामा स्वस्थ सिर्जनाको बहार दिनसक्ने हुती राख्नुपर्छ । हाम्रा संस्कृति हाम्रा आगतलाई परिष्कृति, प्रगति, उन्नति र सौहाद्र्रताको द्योतक बन्न सक्नुपर्छ । आम चेलीको बेली फूल बन्न सकोस् तीज, जय तीज ! धन्य तीज ! बहुराष्ट्रिय कम्पनीका उत्पादन अङ्गउपाङ्गमा झकिझकाउ बनाएर अनि भएभरका गहना भिर्ने तमासा र फेसन सो गर्ने अल्लारेपनमा परिवर्तन ल्याउँनै पर्छ जय तीज ! कुनै स्वार्थी तागत नगर किचकिच !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप