शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले तीजको शुभकामना दिँदै के भने ?

सोमबार, १६ भदौ २०७६, ०८ : २५
सोमबार, १६ भदौ २०७६

    काठमाडौँ– तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले शुभकामना दिएकाछन् । 

राष्ट्रपति भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छिन् । 

    राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताएकी छिन् । 

    सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताएकीछिन् । 

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाको पर्व हरितालिका (तीज)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गरेका छन् । 

    उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको विविधतायुक्त संस्कृतिले मुलुक धनी रहेको स्मरण गर्दै यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताएका छन् । 
उनले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचो रहेको औँल्याउँदै स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गरेका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताएका छन् ।  उनले हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । 

नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । 

“नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,” तीजका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ । नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानूनहरु बनिसकेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताएका छन् । 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हिन्दू नारीहरुको विशेष पर्व हरितालिका (तीज)ले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै सभामुख कृष्ण बहादुर महरा, विभिन्न प्रदेशका मुख्यमन्त्री, राजनिितक दलका नेता लगायतले पनि तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप