बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा अब आफ्नै पाठ्यक्रम : ‘बुक कर्नर’ प्रभावकारी

आइतबार, १५ भदौ २०७६, १६ : ५३
आइतबार, १५ भदौ २०७६

बुटवल– बुटवल उपमहानगरले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि विशेष अभियान सुरु गरेको छ । जसमा विद्यालयहरुमा एउटै पोशाकदेखि स्थानीय पाठ्यक्रम निर्माणसम्म सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाले सामुदायिक विद्यालयका लागि ‘बुक कर्नर : हाम्रो पहिचान’ भन्ने नाराका साथ यस्तो  अभियान सुरु भएको हो ।

अभियानअन्र्तगत आधुनिक विज्ञान प्रयोगशाला निर्माण थालेको उपमहानगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयहरूमा बुक कर्नरको लागि मात्रै ४८ लाख १८ हजार चार सय ५० रुपैयाँ रकम निकासा गरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

पहिलोचरणमा विज्ञान शिक्षा सञ्चालन भएका समुदायिक विद्यालयमध्ये तीनवटा विद्यालयमा आधुनिक ल्याब बनाउन मात्रै झण्डै २० लाख बजेट विनियोजन गरेको छ ।

कार्यक्रम लागु गरेका विद्यालयहरुमा उपप्रमुख गुमादेवी आचार्यको नेतृत्वमा विषय विज्ञसहितको टोलीले निरन्तर अनुगमन समेत गरिरहेको छ । उपमहानगरका शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले नविन औद्योगिक कदरबहादुर–रीता मा.वि., कान्ति मा.वि. र सिद्धेश्वर–लालकुमारी माविमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण भएको जानकारी दिए । उनका अनुसार बाँकी विद्यायलमा चालु आर्थिक वर्षमा निरन्तरता दिइने छ । 

बुटवलकै नहरपुर माध्यमिक विद्यालय,  मोतिपुर माध्यमिक विद्यालय र नवरत्न माध्यमिक विद्यालयमा शिक्षण सिकाई सूचना प्रविधिको प्रयोग भएको छ । यसका लागि पनि प्रति विद्यालय ६ लाख ५० हजार बजेट उपलव्ध गराइएको थियो । चार वटा माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गर्न प्रति विद्यालय ६ लाख ५० हजार उपलव्ध गराइएको छ । अमर मावि,उजिरसिंह मावि, ज्ञानोदय मावि र जितेश्वरी माविमा आधुनिक पुस्तकालय स्थापना भएका छन् ।

आउँदो शैक्षिक शत्रदेखि स्थानीय पाठ्यक्रम
उपमहानगरपालिकाले सय पुर्णङकको स्थानीय स्तरकै पाठ्यक्रम तयार पारेर आगामी आर्थिक बर्षबाट उक्त पाठ्यक्रम आउँदो शैक्षिक शत्रदेखि लागु गर्ने तयारी गरेको छ । स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा लिइएको उपमहानगरपालिकाले जनाएको छ । 

स्थानीय सीप, व्यवसाय, पेसा, स्रोत साधनको महत्व र आवश्यकता पहिचान गर्दै पाठ्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

स्थानीय पाठ्यक्रम नगरको शिक्षा व्यवस्थित गर्न, नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानीय पाठ्यक्रम निर्माण कार्यदल र कक्षा ११÷१२ मा सीपसँग सम्बन्धित विषयको पाठ्यक्रम तयार भइसेकेको शिक्षा महाशाखा प्रमुख उपसचिव खनालले बताए । 

तीनवटै कार्यदलका प्रतिवेदनहरूलाई अन्तिम रुप दिन विषयविज्ञसहितको शैक्षिक संगोष्ठी भएको थियो । 

नगर शिक्षा समिति, वडा शिक्षा समिति, परीक्षा समन्वय समिति र परीक्षा व्यवस्थापन समिति गठन भई कार्य आरम्भ भएको शिक्षा महाशाखा प्रमुख उपसचिव खनालले जानकारी दिए । सबै सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूसँग ३२ बुँदे कार्यसम्पादन करार सम्झौता गरी त्यसकै आधारमा अनुगमन र मूल्याङ्कन गर्न शुरू गरिएको छ । 

टिफिन र प्रतिदिन खाजाका लागि २० रुपैयाँ

उपमहानगरले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्तालाई मन्टेश्वरी विधिमा आधारित तालिम सञ्चालन गर्नुका साथै प्रारम्भिक बाल कक्षाका झण्डै १३ सय बालबालिकालाई टिफिन वक्स वितरण र प्रति विद्यार्थी २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बुटवलले १८ वटा सामुदायिक विद्यालयहरुमा खाजा व्यवस्थापन गर्न मकै भुट्ने मेसिन (पप कर्न मेसिन) समेत वितरण गरेको छ । 

त्यस्तै सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकको एउटै ड्रेस बनाउने प्रयासका लागि गृहकार्य गरेको छ । उपमहानगरका सामुदायिक विद्यालयहरुमा अपाङग, दलितलगायतलाई ३६ लाख तीन हजार दुई सय रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ ।

भवन, शौचालय निर्माण
तिलोत्तमा मावि र मैनावगर प्राविमा शौचालय निर्माणका लागि प्रतिविद्यालय सात लाख रुपैयाँ निकासा गरिएको छ । नहरपुर माविमा शैक्षिक विकास कोषबाट १६ लाख ६८ हजार सात सय ६४ र शशर्त अनुदानबाट रू.३२ लाख रुपैयाँ गरी जम्मा ४८ लाख ६८ हजार सात सय ६४ रुपैयाँ निकासा भई ४ कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप