मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजकुमारी डायनाको जीवनको अन्तिम दिन के के भए ? पूरा घटना विवरणसहित

आइतबार, १५ भदौ २०७६, १० : ४१
आइतबार, १५ भदौ २०७६

रेहान फजल /बीबीसी

राजकुमारी डायनाले आफ्नो अन्तिम दिन पार्टनर डोडी अल फायदको डुङ्गाको माथिल्लो डेकमा बिताइन् । नास्तामा उनीहरुले ताजा जामसँग एक–एकवटा क्रोसेन्ट खाए ।

यसका साथै डायनाले दुध भएको कफी लिइन् भने डोडीले कालो कफीको मग लिए । त्यो दिन साढे ११ बजे दुईजनाले डुङ्गा छोडे । उनीहरु डोडीको निजी विमानबाट पेरिस जाने योजनामा थिए । उनीसँग डोडीको बटलर (घरको मुख्य सहयोगी) र उनलाई मालिस गर्ने व्यक्ति पनि गएका थिए किनभने डोडीको ढाडमा त्यो दिन निकै पीडा भइरहेको थियो ।

त्यो दिन डोडीको क्यालेन्डरमा एउटा मात्रै एन्ट्रि थियो । उनले बेलुकी साढे ६ बजे पेरिसमा आफ्ना पिताको होटल रिट्ज नजिकै गहना व्यवसायीसँग एउटा औंठी लिनु थियो । उनीहरु पेरिसमा ओर्लिएलगत्तै क्यामरा उनीहरुतिर तेर्सिए र फ्ल्यास लाइटले वातावरण नै चम्किलो भयो । बेलुका उनीहरु रिट्ज होटल पुगे । डायना आफ्नो कपाल मिलाउन होटलको सैलुनमा गइन् भने डोडी गहना व्यवसायीलाई भेट्न गए ।

चर्चित पत्रकार क्रिस्टोफर एन्डरसन आफ्नो किताब ‘द डे डायना डाइड’ मा लेख्छन्, ‘सुरुमा उनीहरु दुबै पेरिसको रेष्टुरेन्ट ‘शे बेनोय’ गए त्यहाँ जब उनीहरुले फोटोग्राफरको भीड देखे तब फर्किएर ‘रिट्ज’ को डाइनिङ रुममा पुगे । त्यहाँ डायनाले भेजिटेबल ‘टेम्पुरा’ अर्डर गरिन् भने डोडीले ग्रिल्ड ‘टरबोट’ माछा मगाए ।’

‘अर्डर दिए लगत्तै उनीहरुले असहज महसुस गर्न थाले किनभने उनीहरुलाई थुप्रै आँखाले घुरिरहेका थिए । त्यसपछि तुरुन्त डाइनिङ रुम छोडेर पैसा तिरिदिने व्यक्तिलाई ती खाना इन्पेरियल स्विटमा पुर्याइदिन आग्रह गरे ।’

Photo: GETTY IMAGES

ड्राइभरले पिएका थिए रक्सीः

एन्डरसेन लेख्छन्, ‘डोडीलाई पत्रकार र क्यामराबाट बच्नु थियो त्यसकारण उनले उनीहरुलाई झुक्याउने योजना बनाए । ड्राइभर र अंगरक्षकलाई मर्सिडिज गाडीको कार्गेड भएठाउँ पठाएर आफूभने होटलको पछाडिको ढोकाबाट होटलकै अर्को मर्सिडिज एस २८० बाट निस्किने सोच बनाए ।’

डोडीको यो योजना सफल भयो तर त्यस दिन उनका ड्राइभर आनरी पालले रक्सी पिएका थिए । उनको रगतमा रक्सीको मात्रा फ्रान्सको कानूनी मापदण्डभन्दा तीन गुणा बढी थियो । पछि जब उनको रक्त परीक्षण गरियो तब त्यसमा प्रोजेक र टियाप्राइल जस्ता औषधीको अंश पनि भेटियो जसलाई एन्टी डिप्रेसेन्टको रुपमा प्रयोग गरिन्छ ।

Photo: GETTY IMAGES

सुरुङको खम्बामा ठोक्कियो मर्सिडिजः

उनी पछाडिबाटै निस्किएको बारे फोटोग्राफरले थाहा पाएलगत्तै उनीहरुको मर्सिडिजलाई मोटरसाइकलबाटै पछ्याए । उनका ड्राइभर फोटोग्राफरलाई झुक्याउँदै आइफिल टावर नजिकैको ‘पों दे अलमा’ सुरुङभित्र छिरे । ठिक १२ बजेर २३ मिनेटमा फोटोग्राफरबाट बच्ने कोसिस गरिरहेको कार सुरुङको एक कंक्रिट खम्बासँग ठोक्कियो ।

दुर्घटना हुनु केही मिनेटअघि मात्रै डोडीका अंगरक्षक ट्रेवर रिस जोन्सले आफ्नो सिट बेल्ट लगाएका थिए । उक्त कारमा सवार चार व्यक्तिमध्ये उनी एकमात्र व्यक्ति हुन् जो बिहानको सुर्योदय हेर्नका लागि जीवित भए । पछि एक प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा भने, ‘हामी सेन नदीको किनारामा हिँडिरहेका थियौं, त्यतिबेला एउटा ठूलो आवाज सुन्यौं । यस्तो लाग्यो कि कसैले निकै नजिकबाट बन्दुकबाट फायर गर्यो । त्यत्तिकैमा एउटा कारको टायर फुटेको पनि आवाज आयो ।’

अर्का एक प्रत्यक्षदर्शीले भने, ‘म आफ्नी श्रीमती र तीन अन्य पर्यटकसँग सुरुङको प्रवेशद्वारमा उभिएको थिएँ । ट्राफिक जाम बिस्तारै कम हुन थालेको थियो किनभने गाडीहरु ६० किलोमिटर प्रति घण्टाको रफ्तारमा अघि बढिरहेका थिए । जब दुर्घटना भयो म र एक जर्मन पर्यटक भित्र दौडियौं, कारमा सवार व्यक्तिहरुको मद्दतका लागि ।’

Photo: GETTY IMAGES

ड्राइभर र डोडीको घटनास्थलमा नै मृत्युः

१ बजेर २० मिनेटमा एम्बुलेन्स घटनास्थल पुग्यो । एम्बुलेन्समा सवार थिए डाक्टर अर्नाल्ड डोरोसी । उनले पछि बीबीसीलाई भने, ‘त्यहाँ हामीले कार होइन, कारको भग्नावशेष भेट्यौं । ड्राइभर र डोडीको मृत्यु भइसकेको थियो । कारभन्दा १०–२० गजको दुरीमा एक व्यक्ति छट्पटाइरहेका थिए र मेडिकलको एउटा समूहले उनलाई हर सम्भव मद्दत गरिरहेको थियो ।’

डोरोसी थप्छन्, ‘जब हामी त्यहाँ पुग्यौं तब राजकुमारी जिउँदै थिइन् । उनी कारको पछाडिको सिटमा थिइन् । उनको आधा शरीर कारको भुइँमा थियो भने आधा शरीर सिटमा । उनी करिब करिब बेहोस थिइन् र केही भन्न कोसिस गरिरहेकी थिइन् ।’

बीबीसीले उनलाई  ‘डायनाले खासमा के भन्न खोजिरहेकी थिइन्, तपाईंलाई केही याद छ ?’ भनेर सोध्दा उनको जवाफ थियो, ‘त्यो बुझ्न निकै मुश्किल थियो तर म स्पष्ट देख्न सक्थेँ कि उनलाई अत्यधिक पीडा भइरहेको थियो । उनले निकै गाह्रो गरेर भनिरहेकी थिइन् कि उनलाई असाध्यै दुखिरहेको छ ।’

Photo: GETTY IMAGES

घटनाको डेढ घण्टापछि एम्बुलेन्स अस्पताल पुग्योः

क्रिस्टोफर अन्डरसन लेख्छन्, ‘अमेरिका प्यारा–मेडिक्स ‘स्कूप एण्ड रन’ अर्थात् उठाउ र दौडिउमा विश्वास गर्छ जबकी फ्रेन्च ‘स्टे एण्ड प्ले’ मा विश्वास गर्छ । लेडी डायनलाई बाटोमा नै हुँदा हृदयघात भयो र एम्बुलेन्सलाई रोकेर ‘एर्डडी’ र ‘सिपिआर’ दिइयो ।’

‘१ बजेर ४५ मिनेटमा फ्रान्समा ब्रिटेनका राजदूत माइकल रेले यो घटनाको सूचना पाए । उनले तुरुन्तै महारानीका निजी सचिव रोबिन जेनव्रिनलाई फोन गरेर यसबारे जानकारी दिए । ठिक २ बजेर १ मिनेटमा डायना राखिएको एम्बुलेन्स अस्पताल प्रवेश गर्यो ।’

Photo: GETTY IMAGES

बाँच्ने आशा थियोः

पछि उक्त एम्बुलेन्समा सवार थुप्रैले अन्तर्वार्ता दिए । लेडी डायनालाई सिपिआर दिने प्यारामेडिक जेवियर गुरमिलानले डायनको शरीरभरी एक थोपा पनि रगत नदेखेको बताए ।

उनका अनुसार जब उनले उनलाई सिपिआर दिइरहेका थिए तब उनलाई उनी को हुन् भनेर थाहै थिएन । ‘जब मैले उनको छातीमा मालिस गरेँ तब मलाई लाग्यो कि उनी ठिक भइरहेकी छिन् । उनलाई एम्बुलेन्समा सुताइँदा सास चलिरहेको थियो । तपाईंलाई इमान्दारिताका साथ भन्ने हो भने मलाई उनी बाँच्छिन् जस्तो लागेको थियो ।’

Photo: GETTY IMAGES

जानीजानी एम्बुलेन्स बिस्तारै चलाइयोः

उनलाई हेर्ने अर्का एक डाक्टर ड्यानियल इरोडले डायनाको मुटुको धड्कन कारबाट उतारेर एम्बुलेन्समा चढाउँदा रोकिएको बताए । तर ‘कार्डियक मसाज’ गरेपछि उनको धड्कन चल्न थालेको पनि उनले जानकारी दिए ।

एम्बुलेन्सभित्रै हुँदा उनको स्थिती पुनः खराब भयो र डाक्टरले उपचार गर्नका लागि एम्बुलेन्स रोक्न लगाए । जब उनी अस्पताल पुगिन् तब उनको मुटुको धड्कन चलिरहेको थियो । त्यसपछि उनलाई सास फेर्न सहज गराउनका लागि कृत्रिम उपकरण लगाइयो ।

पछि एम्बुलेन्सका ड्राइभर माइकल मेसेबियूले अनुसन्धान दललाई आफूले डाक्टरको आदेशमा एम्बुलेन्सलाई बिस्तारै चलाएको जानकारी दिए । उनले यस्तो यसकारण गरे किनभने डायनाको रक्तचाप निकै तल्लो स्तरमा पुगेको थियो र एम्बुलेन्सभित्रै उनको उपचार भइरहेको थियो । ठिक चार बजे डाक्टरले राजकुमारी डायनालाई मृत घोषित गरे ।

Photo: GETTY IMAGES

बरेललाई डायनाको साथीको फोनः

त्यतिबेला लण्डनमा ओल्ड ब्यारेक्समा डायनाको बटलर पल बरेलको घरमा फोनको घण्टी बज्यो । अर्कोतिर डायनाकी साथी लुसिया फ्लेचा डे लिमा थिइन् जसले उनलाई वासिङ्टन, अमेरिकाबाट फोन गरिरहेकी थिइन् ।

लिमालाई राष्ट्रपति क्लिंटनका चीफ अफ प्राटोकल मेल फ्रेन्चले फोन गरेर राजकुमारीको कार दुर्घटना भएको जानकारी दिएका थिए । उनीसाग डायनाको नयाँ मोबाइल नम्बर थिए । बरेललाई थाहा थियो कि राजकुमारी आफ्नो मोबाइल फोनबिना कतै पनि जाँदिनन् । उनले उनको नम्बर डायल गरे । घण्टी बज्यो तर केही सेकेन्डमा नै त्यो ‘अटोमेटेड आन्सरिङ सर्भिस मोड’ मा गयो ।

Photo: GETTY IMAGES

मदर टेरेसले दिएको त्यो जप–माला:

डेढ घण्टापछि डोडीको मृत्यु भइसकेको पुष्टि भयो । डायनाको निजी सचिव ज्याकी एलनले पल र डायनाका ड्राइभरलाई पेरिसको टिकट बुक गरिदिए ।

त्यतिबेला ब्रिटिश एयरवेजको लण्डनको सबै कार्यालय बन्द थियो । पछि, ब्रिटिश एयरलाइन्सको न्युयोर्कको कार्यालयबाट टिकट बुक गरियो ।

बिहान चारबजे राजकुमारी डायनालाई मृत घोषित गरिदियो । बरेलले उनको घर गएर एउटा ब्यागमा आफ्नो सामान प्याक गरे उनी पुनः डायनाको अपार्टमेन्ट गए ।

त्यसपछिको विवरण पल बरेलले आफ्नो पुस्तक ‘अ रोयल ड्यूटी’ मा लेखेका छन् । ‘ म राजकुमारीको अपार्टमेन्ट ८–९ को पछाडिको ढोकाबाट भित्र पसेँ । त्यसभित्र व्याप्त सन्नाटाले मलाई नराम्रोसँग विचलित गरिदियो । म उनको मेच नजिक गएँ । त्यहाँ राखिएको तीन ‘साना’ घडी टिकटिक गरिरहेका थिए ।’

‘एउटा बीकरमा करिब दर्जनजति पेन्सिल राखिएका थिए । एक मेमो–शिटमा पत्र लेख्नका लागि शब्दको सूची लेखिएका थिए । उनको अंग्रेजी शब्दको ‘स्पेलिङ’ निक्कै कमजोर थियो र उनले यो कुरा कहिले पनि लुकाईनन् । पुनः मैले त्यो जप–माला देखें जुन उनलाई मदर टेरेसाले दिएकी थिइन् । त्यसमा एउटा सानो जीसस क्राइस्टको मूर्तिलाई चारैतर्फबाट लपेटिएको थियो ।’

Photo: GETTY IMAGES

पार्थिव शरीरलाई राजदूतकी पत्नीको पहिरनः

बरेल अगाडि लेख्छन् ,‘ मैले त्यसलाई उठाएर आफ्नो खल्तीमा राखें । उनको ड्रेसिङ टेबलमा उनको मनपर्ने पफ्र्यूम ‘फाउबर्ग २४’ को आधा प्रयोग भएको बोतल थियो । छेउमा उनको ‘प्यान्टिन’ हेयर स्प्रे, कटन बड्सले भरिएको गिलास र कैयन लिपस्टिक थिए । मैले एउटा लिपस्टिक र एउटा पाउडर कम्प्याक्ट उठाएर ब्यागमा राखें ।’

त्यसपछि पेरिस उडेका पल बरेल सिधा ब्रिटिस राजदूतको घर गए । पल बरेल लेख्छन् ,‘मैले राजदूतकी पत्नी सिल्विया जेलाई एक छेउमा लगेर भनेँ, ‘दुर्घटनापछि राजकुमारीको कपडा निक्कै खराब अवस्थामा होला । डायनाले मानिसहरु उनलाई यो रुपमा हेरेका रुचाउँदिनथिन् । ’

सिल्विया जेले मलाई उनको वार्डरोब नजिक लगिन् र भनिन् ,‘तपाईंलाई यसमा भएको जुन ड्रेस मन पर्छ, लिनुस् ।’

मैले एउटा कालो रंगको पोशाक छानँे । र मैले डायनाको खुट्टाको साइज ९ को कालो रंगकै हिल जुत्ता छाने । त्यसपछि हामी दुबै अस्पताल लाग्यौं । जब म अस्पतालको प्रवेशद्वार पुगें, सिल्वियाले मेरो हात समाएर भनिन् ,‘न हड्बडाउनु ।’

पार्थिव शरीरको कपडा फेरियो:

अस्पतालमा पुगेपछि पल बरेल डायनाको पार्थिव शरीर राखिएको कोठामा पुगे । कोठामा प्रवेश गर्नासाथ एकतर्फबाट नर्स बिट्रेस हम्बर्टले उनको हात समाते र अर्कोतर्फबाट डायनाको ड्राइभर कोलिनले उनको पाखुरा समाते ।

पल बरेलले उक्त क्षेणबारे लेखेका छन् ,‘मैले उनको शरीरलाई देखें । मैले कैयन वर्ष ख्याल गरेकी ती महिला एउटा पलङमा शान्त सुतेकी थिइन् । गर्दनसम्म उनको अनुहार एउटा सेतो कपडाले ढाकिएको थियो । मेरो बरर्र आँसु झरे । मैले कोठाको चारैतिर हेरें । कोठामा दुई दर्जनजति गुलाबको गुच्छा थिए जुन फ्रान्सका पूर्व राष्ट्रपति वेलेरी गिस्का दे एस्ताँले पठाएका थिए ।’

‘मैले आफ्नो आँसु पुछें र आफ्नो सम्पूर्ण तागत जम्मा गरेर त्यहाँ उभिएकी नर्स बिट्रेस हम्बर्डसँग भनें ,‘ राजकुमारीलाई लगाइदिनको लागि मैले एउटा कालो कपडा र जूता ल्याएको छु । मसँग उनको एउटा लिपस्टिक र पाउडर पनि छ । ’

पुनः मैले आफ्नो खल्तिबाट मदर टेरेसाले दिएको जप–माला निकालेर उनीसँग भने, ‘कृपया यो राजकुमारीको हातमा राखिदिनुहुन्छ ?’

केही समयपछि म पुनः राजकुमारी डायनाको पार्थिव शरीरको नजिक गएँ । कपडा फेरिएको डायनाको रुप फरक देखिन्थ्यो । उनलाई कालो ड्रेस र जुत्ता लगाइएको थियो । उनको कपाल ‘ब्लो ड्राइ’ गरिएको थियो र उनको हातमा मदर टेरेसाले दिएको जप–माला राखिएको थियो ।’

Photo: GETTY IMAGES

राजकुमार चार्ल्सले डायनाको दर्शन गरे:

यसैबीच ब्रिटिस काउन्सिल जनरल किथ मान्सले डायनाको शरिरको माथिल्लो हिस्सालाई आशिंक रुपमा प्रदशर्नीमा राख्न अनुमती दिए । त्यसकारण उनको शरीरको सम्पूर्ण पोस्टमार्टम असम्भव हुने भयो । कारण थियो, शरीरलाई सुरक्षित राख्न प्रयोग भएको फर्मलडिहाइडले गर्दा धेरै टेस्ट अशुद्ध आउँछन् ।

उता राजकुमार चार्ल्स महारानी चढ्ने बीआई १४६ रोयल जेटमा डायनाका दुई बहिनी सारा र जेन फिलोजका अतिरिक्त उनको निजी सचिव मार्क बोल्याण्डलाई लिएर उडे ।

पेरिसमा अवतरण गर्नासाथ उनी सिल्वर रङको ज्यागुअर कार चढेर अस्पताल गए । अस्पतालको मुख्य द्वारामा फ्रान्सका राष्ट्रपति ज्याक शिराकले उनको स्वागत गरे । शिराकले उनलाई अस्पतालको दोस्रो तल्लामा डायनाको पार्थिव शरीर रहेको कोठामा लगे ।

क्रिस्टोफर लेख्छन् ,‘डायनाको पार्थिव शरीर राखिएको कफिनमा सिसाको खोल्न र बन्द गर्न मिल्ने सानो ढोका राखिएको थियो । त्यसो गर्नुको कारण फ्रेन्च कस्टमका कर्मचारीलाई कफिनभित्र के छ देखाउनु थियो । कफिनबाट फर्मलडिहाइड, गुलाब र लिली फूलको मिश्रित सुगन्ध आइरहेको थियो ।’

‘जसै एयर कण्डिसनरको हावाबाट डायनाको कपाल उड्यो । चाल्स निक्कै भावुक भए । उनको छेउमा उभिएका पूर्व सालीहरु नराम्रारोसँग रोइरहेका थिए । त्यसपछि चार्ल्सले फ्रेन्च भाषामै डायनाको उपचारमा संलग्न डक्टरलाई धन्यवाद थिए । ’

डायनाको पार्थिव शरीर ब्रिटेन पुग्यो । विमानले ब्रिटिस जमिन छुँदा विमानस्थलमा बेलायतका प्रधानमन्त्री टोनी ब्लेयर डायनाको पार्थिव शरीरलाई पखिरहेका थिए ।

पल बरेलले लेखका छन्, ‘आठ जना वायु सैनिकले झण्डै झण्डै ‘स्लो मोशन’मा राजकुमारी डायनाको पार्थिव शरिरलाई विमानबाट तल झारे । पुनः हाम्रो कारको लाइन मध्य–लण्डनका लागि अघि बढ्यो ।

पलले अगाडि लेखेका छन् ,‘सडकको दुवै तर्फ कार चालकले आफ्नो कार रोके र आफ्नो कार अघि डायनाको सम्मानमा सिर झुकाएर उभिए । मैले सोचेँ डायना जिवित भएको भए के सोच्थिन् होला ? उनी लजाउँदै भन्थिन् होला, ‘ओ माई गड । उनीहरुले मेरो लागि कार रोकिरहेका छन् । ओहो ।’

Photo: GETTY IMAGES

एल्टन जोनको श्रद्धाञ्जली:

सन् १९९७ सेप्टेम्बर ६ मा बिहान ९ बजेर ८ मिनेटमा राजकुमारी डायनाको अन्तिम यात्रा सुरु भयो ।

जब उनको पार्थिव शरीर लण्डनको सडक हुँदै अघि बढिरहेको थियो, लाखौं मानिस सडकमा उत्रिए । उनहरुले आँखा भरी आँसु पारेर ‘जनताको मनमा बास बस्ने राजकुमारी’ लाई विदाई दिए ।

त्यसै दिन वेस्टमिनिस्टर एबेमा भएको श्रद्धाञ्जली समारोहमा लोकप्रिय गायक एल्टन जोनले उनको सम्मानमा गीत गाए –‘गूड बाई इग्ल्याण्ड रोज...यू लिब्ड योर लाइफ लाइक अ केण्डल इन द विण्ड...’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप