नेपाललाई ७–० ले हराउँदै भारत च्याम्पियन
शनिबार, १४ भदौ २०७६, १८ : ०५
काठमाडौं–आयोजक भारत पाँचौ साफ यू–१५ फुटबल च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । भारतको कल्याणीमा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलले हराउँदै उपाधि जितेको हो ।
यससँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधिबाट बन्चित बन्यो । भारतले तेस्रो पटक उपाधि जित्न सफल भयो ।
यसअघि भारत सन् २०१३ र २०१७ मा उपाधि जितेको थियो । भारतको जितमा सिद्वार्थले ह्याट्रिक पुरा गरे । महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह, हिमांश जंग्राले एक÷एक गोल गरे । नेपाल लिग चरणको पहिलो खेलमा पनि भारतसँग ५–० गोलले पराजित भएको थियो । फाइनलमा नेपालको प्रदर्शन झनै कमजोर बन्यो ।
च्याम्पियनसिपमा नेपाल र भारतसँगै बंगलादेश, श्रीलंका र भुटानले भाग लिएका थिए । लिग चरणको दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० र तेस्रो खेलमा साबिक विजेता बंगलादेशलाई ४–१ गोलले हराएको थियो ।