शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाई मृत्यु प्रकरण : गाई ‘बोक्ने’ पार्टीकै मेयरमाथि उठ्यो प्रश्न !

शनिबार, १४ भदौ २०७६, १४ : ०३
शनिबार, १४ भदौ २०७६

काठमाडौं –सुर्खेतमा भएको गाई–गोरु मृत्यु प्रकरणमा गाई चुनाव चिन्ह भएको पार्टी रापप्राबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी धवलशमशेर राणाको लापरबाही देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा लापरवाही गरेकै कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा वन क्षेत्रमा गाईगोरु मरेको अवस्थामा भेटिएको बताइएकाे छ । 

 उपमहानगरपालिकाले छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्ने भन्दै दैलेख पठाउँदा बीचबाटोमै २५ गाईगोरु शुक्रबार मृत फेला परेका थिए । 

२९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ । 

 कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । नेपालगञ्ज बजारमा छाडा रुपमा छाडिएका गाई–गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको बुझिएको छ । 

सो विषयमा नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाको प्रतिक्रिया लिन  पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन् । तर नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलको गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको दाबी गरेका छन् । 

‘गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियौँ,’ पौडेलले भने । उनका अनुसार आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको थियोे । 

नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाइएको बताइएको छ।  

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सुर्खेतको जङ्गलमा गाईगोरुको मृत्यु भएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै यसबारे सुक्ष्म ढंगले छानबिन गरिनुपर्नेमा जोड दिए ।

नेपालगन्ज उपमहानगरपालिकामा आफ्नै पार्टीको नेतृत्व रहेको उल्लेख गर्दै उनले यो कसरी हुन पुग्यो भन्नेबारे पार्टीबाट आन्तरिक रुपमा पनि बुझ्ने काम भइरहेको बताए । 

‘पार्टी यसमा गम्भीर बनेको छ, नेपालगञ्जका मेयर धवलशमशेर राणा पार्टीको जिम्मेवार नेता र सम्मानित व्यक्तित्व हुनुहुन्छ । यो कसरी हुन पुग्यो भन्नेबारे उहाँले पनि छानबिन गरिरहनुभएको छ । दोषी जो कोही भएपनि कारबाहीमा ल्याइनुपर्छ भन्नेमा पार्टी दृढ छ।’ उनले भने ।


दोषीमाथि कारबाहीको माग
तर सामाजिक सञ्जालदेखि विभिन्न निकायले गाई– गोरु मृत्यु प्रकरणका दोषीलाई कारबाही गर्ने जोडदार माग गरेको छन् । 

सेभ द लाइभ्स अभियन्ता उत्तम पुडासैनीले नेपालगन्जबाट ट्रकमा लोड गरि ल्याइएका गाई गोरुलाई सुर्खेतको जंगलमा मृत फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय जनावरमाथी भएको यस प्रकारको नृशंस हत्याले हाम्रो समाज कुन बाटोतर्फ उन्मुख हुँदैछ भन्ने बिषयमा सोच्न सबैलाई बाध्य तुल्याएको छ । पछिल्लो समयमा गौप्राणीहरुमाथी हुने गरेको अत्याचारले सिमा नाघिसकेको चर्चा यत्रतत्र हुँदैगर्दा गाई–गोरुहरुको सामूहिक हत्याले सचेत नेपाली समूदायलाई चिन्तित तुल्याएको छ ।’

पुडासैनीले सीमा नाकाहरुबाट हुने गरेको गाइ–गोरुको तस्करीले नियमितता पाइरहँदा गाईका यस्ता घटना हुने गरेको बताए । 

उनले छाडा चौपायाको व्यवस्थापनका लागि प्रत्येक नगरमा एउटा कान्जी हाउसको आवश्यकता औल्याए । ‘राष्ट्रिय जनावरको हत्या भनेको राष्ट्रप्रतिको गद्दारी पनि हो । राष्ट्रिय जनावरमाथी हुने अन्याय र क्रुरताको अब अन्त्य हुनु जरुरी छ । प्रत्येक नगरमा कम्तिमा एउटा कान्जी हाउसको ब्यवस्था हुनु जरुरी छ,’ उनले भने । 

याे प्रकरणमा नेपाली काँग्रेस लगायतका पार्टीले पनि  गम्भीर छानबिन हुनुपर्नेमा जोड दिएका छन् । 

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले भने दैलेखस्थित भैरवी गाउँपालिका वडा नं. १, श्रीस्थानको नामै तोकेर नेपालगन्जबाट ३७० गाई ‘पाल्नका लागि लगिएको’ भनेर भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् । 

उनले सामाजिक सञ्चालन फेसबुकमा लेखेका छन्, ‘दैलेखस्थित भैरवी गाउँपालिका वडा नं. १, श्रीस्थानको नामै तोकेर नेपालगन्जबाट ३७० गाई ‘पाल्नका लागि लगिएको’ भनेर भ्रमपूर्ण प्रचार गरिएको छ ।’

श्रीस्थानमा गाई लैजान लागिएको भनिए पनि सम्बन्धित क्षेत्रका कसैलाई थाहा नदिएको उनको दाबी  छ । ‘श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव थापा, वडा नं. १ का वडाध्यक्ष काशीराम कार्की, गाउँपालिका अध्यक्ष प्रेमबहादुर वुढा र जिल्ला समन्वय समितिका सदस्य सर्बराज महतारा कसैलाई पनि यसबारेमा केही जानकारी छैन ।’ श्रीस्थान सो संख्याको गाई बाध्ने ठाउँ पनि नभएको उनको जिकिर छ । ‘श्रीस्थानमा त्यति गाई पाल्ने त कुरै छाडौं, बाध्ने ठाउँ पनि छैन । यो समाचार सुनेर त्यहाँका मानिस छक्क परेका छन्,’ रिजालले भनेका छन् ।

यसबाट दुईवटा कुरा स्पष्ट भएको उनले बताए । रिजालले भनेका छन्, ‘या ती गाई रातीमा लगेर जबरजस्ती श्रीस्थानतिर छाड्न लागिएको रहेछ । या त रातीको मौका पारेर भीरबाट लडाएर मार्नकै लागि लगिएको रहेछ ।’ 

यसैबीच घटना सार्वजनिक भएपछि शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले  पनि शुक्रबार विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनी कारवाहीको माग गरेका थिए । दोषीमाथि कारवाहीको माग पनि चर्को रुपमा उठेको छ । 

अनुसन्धान सुरु
यता गाई – गोरु मृत्यु घटनाबारे अनुसन्धान गर्न चार ट्रकसिहत सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले चार ट्रकसिहत सात जनालाई नियन्त्रणमा लिएका र अनुसन्धानपछि मात्रै सबै कुरा खुल्ने बताए । रावलका अनुसार मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुरमा दोषीलाई कारवाही गरिने छ  । 

मुलुकी अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ अनुसार गाई–गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप