शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशी तेस्रो पूर्ण क्षमताको बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री विष्ट

शुक्रबार, १३ भदौ २०७६, २२ : १४
शुक्रबार, १३ भदौ २०७६

दोलखा-सरकारले दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले क्षमताअनुसार नै निर्माण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

जिल्ला समन्वय समिति दोलखाको तेस्रो जिल्लासभामा भाग लिन दोलखा आउनुभएका मन्त्री विष्टले सरकारले प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग गरी उत्पादनमा विशेष जोड दिइरहेको समयमा तामाकोशी तेस्रो जस्ता गौरवका आयोजना कम क्षमतामा उत्पादन गर्ने सरकारको मनसाय नभएको र कुनै आशङ्का नगर्न आग्रह गरे । 

उनले सरकारले ६५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर २०० मेगावाट क्षमतामा निर्माण गर्न लागेको भन्ने हल्ला मात्र भएको र आधिकारीकरूपमा सरकारको तर्फबाट कतै पनि सम्झौता नभएको स्पष्ट पारे । 

मन्त्री विष्टले सरकारसँग नागरिकको धेरै अपेक्षा रहेको र अहिले सरकारप्रति विभिन्न आलोचना भइरहेको भए पनि परिणममुखी नतिजा आउन केही समय लाग्ने भएका कारण सरकारले परिणममुखी नतिजा दिने उद्देश्यले काम गरिरहेको बताए । उनले लामो सङ्घर्षले विकसित भएका देशहरु जस्तै नेपालमा पनि तत्काल विकास होस् भन्ने आम नागरिकको इच्छा र चाहना स्वभाविक भए पनि विकासले धेरै घुम्तीहरु पार गर्नुपर्ने भएका कारण आम नागरिकको चाहना पूरा गर्न केही समय लाग्ने बताए । 

कार्यक्रममा सांसद पार्वत गुरुङले देशले हरेक वर्ष व्यापार घाटा व्यहोरिरहेको अवस्थामा स्थानीय तह आत्मनिर्भर बन्न सम्भाव्यता अध्ययन गरी हरेका गाउँपालिका तथा नगरपालिकाले उत्पादनमा जोड दिनुपर्ने बताए । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जिल्लाको समग्र राजनीतिक, आर्थिक, पर्यटकीय, सामाजिकलगायतका विषयमा मन्त्री विष्टलाई जानकारी गराएका थिए । 

‘समृद्ध दोलखाको आधार, जलस्रोत, पर्यटन, व्यावसायिक कृषि र पूर्वधार’ भन्ने नारासहित जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको तेस्रो जिल्लासभामा पूर्वमन्त्री आनन्द पोखरेलले हरेक क्षेत्रमा प्रचुर सम्भावना बोकेको दोलखा विकासको यात्रामा अघि बढिरहेको र सबैले साथ सहयोग गरेर जानुपर्ने बेला आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप