बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्षमण्डलप्रति नेताहरुको आक्रोश, बैठकमै रोए राजकिशोर यादव

शुक्रबार, १३ भदौ २०७६, २१ : २४
शुक्रबार, १३ भदौ २०७६

काठमाडौ – राष्ट्रिय जनता पार्टी  (राजपा) नेपालका राजनीतिक समितिका सदस्यहरुले अध्यक्षमण्डलको आलोचना गरेका छन् । राजनीतिक समितिको बैठकका लागि काठमाडौं बोलाइए पनि अध्यक्षमण्डलका सदस्यहरुले वास्ता नगरेको भन्दै राजनीतिक समितिका सदस्यहरु आक्रोशित भएका हुन् । 

शुक्रवार राजनीतिक समितिको बैठक बस्ने भन्दै सबै सदस्यहरुलाई फोन गरी काठमाडौ बोलाइएको थियो । तर, अचानक विहीबार अध्यक्षमण्डलको बैठकले राजनीतिक समितिको बैठक स्थगित गरेपछि नेताहरु आक्रोशित बनेका हुन् ।

विहीबार महन्थ ठाकुरको घरमा बसेको अनौपचारिक बैठकमा राजनीतिक समितिको बैठकमा सहभागी हुन काठमाडौ आएका सदस्यहरुलाई शुक्रवार बस्ने अध्यक्षमण्डलकै बैठकमा बोलाएर उनीहरुको कुरा सुन्ने सहमति गरेको थियो । 

तर अध्यक्षमण्डलको बैठकमा उनीहरुलाई बोलाइएन । बरु उनलाई कार्यालयको भूँतल्लामा बोलाएर अध्यक्षण्डलका संयोजक राजकिशोर यादव मात्र भेट्न गएका थिए । जब कि अध्यक्षमण्डलका छ जना सदस्य नै भेटेर उनीहरुको कुरा सुन्नु पर्ने सहमति भएको थियो । 

अध्यक्षमण्डलका अरु पाँच जना सदस्यहरुले राजनीतिक समितिका सदस्यहरुलाई भेट्न नमानेपछि संयोजक राजकिशोर यादव आफै भेट्न गएका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार राजनीतिक समितिका सदस्यहरुले एकै स्वरमा समाजवादी पार्टीसँग एकीकरण गर्नु हुँदैन भनि सुझाव दिएका थिए । 

पहिला पार्टीको महाधिवेशन गर्ने र त्यसपछि मात्र एकताको कुरा गर्नुपर्ने सुझाव दिएको एक सहभागीले बताए । अध्यक्षमण्डलका बाँकी पाँचजना सदस्यहरु भेट्न नआएकोमा पार्टीका सहअध्यक्ष एवं उपाध्यक्ष लक्ष्मणलाल कर्णले आक्रोश पोख्दै बैठकमा भनेका थिए ‘हामी अछुतो हौँ ? एकछिन आएर हाम्रो कुरा सुनि दिए के विग्रिन्थ्यो । उहाँ (अध्यक्षमण्डलका सदस्य) हरु पार्टी चलाउन त सक्नु भएको छैन, तर बैठकका लागि काठमाडौ बोलाइ सकेका नेताहरुलाई भेट्न पनि फुर्सद छैन ।’

उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि अध्यक्षमण्डलका सदस्यहरुको विरोध गरेका थिए । अर्का उपाध्यक्ष नरसिंह चौधरी पनि राजनीतिक समितिको बैठक नबोलाएको प्रति आक्रोशित भएका थिए । अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले आफूले राजनीतिक समितिको बैठक बोलाए पनि परस्थिति विग्रेको कारण स्थगित गर्नु परेको कुरा राखेका थिए । 

यदि मैले बैठक बस्नै पर्छ भनि अडान लिएको भए आज पार्टीको अवस्था अर्कै हुन्थ्यो भन्दै पार्टी फुट्न नदिनका लागि राजनीतिक समितिको बैठक स्थगित गरेको कुरा राजनीतिक समितिका सदस्यहरुलाई सुनाएका थिए । विहीबार महन्थ ठाकुरको घरमा बसेको अध्यक्षमण्डलको अनौपचारिक बैठकमा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोहरुले राजनीतिक समितिको बैठक बस्यो भने त्यसलाई बहिष्कार गर्ने चेतावनी दिएका थिए । 

यदि त्यहाँ राजकिशोर यादवले अडान लिएको भए पार्टी दुई चिरा हुन्थ्यो । यही कुरा सुनाउँदै राजकिशोर यादव धुरुधुरु रोएका थिए । बैठकमा सहभागी एक महासचिवले भने, ‘राजकिशोर यादवले पार्टीलाई बचाउन सबैको सहयोग चाहिन्छ, बनेको पार्टी ध्वस्त हुन लागेको छ, यसलाई कसरी बचाउने हो, तपाईहरुको जिम्मा हो भन्दै रुन थाल्नुभयो ।’

‘तपाईरुलाई भेट्न मैले सबै अध्यक्षमण्डलका सबै सदस्यलाई भनेको थिए तर उहाँहरु तल झर्नुभएन, म तपाईहरु समक्ष आएको छु, तपाईहरु सल्लाह दिनुस् म कसरी अगाडि बढु, पार्टीलाई कसरी अगाडि बढाउँ,’ उनी यति भन्दा पटक पटक भक्कानिएका थिए । 

अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी समाजवादी पार्टीसँग जसरी पनि एकीकरण गर्नुपर्छ भने पक्षमा छन् भने संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा, महन्थ ठाकुर महाधिवेशनपछि मात्र एकीकरण कुरा अगाडि बढाउने पक्षमा रहेका छन् । 

आज बसेको अध्यक्षमण्डलको बैठकमा पनि महेन्द्रराय यादवहरुको अडान समाजवादी पार्टीसँग एकीकरण गर्नु नै थियो । बैठक शनिबार पनि चल्नेछ । अध्यक्षमण्डलको बैठकमा नेताहरुले आआफ्नो कुरा राख्ने काम गरेको तर कुनै निष्कर्ष ननिष्केको पार्टीका सहमहामन्त्री संजय यादवले बताए । 

नेताहरुले के के कुरा राखे त्यो कुरा उनले बताउन चाहेन । उनले यति भने, ‘छलफल जारी छ निष्कर्ष के निस्किन्छ भोली मात्र थाह हुन्छ ।’  पार्टीका एकजना वरिष्ठ नेता गणेश नेपालीको आज निधन भएको छ । अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर उनको श्रद्धाञ्जलीका लागि जिल्ला गए भने शनिबारको बैठक स्थगित पनि हुन सक्ने सम्भावना रहेको सहमहासचिव यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप