बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

फैलिँदै ‘रुपाताल’

शुक्रबार, १३ भदौ २०७६, १७ : ५०
शुक्रबार, १३ भदौ २०७६

पोखरा–  ‘तालमा ६ मिटर अग्लो बाँध बाँधिने छ । ३ दशमलव ५ मिटर गहिराइको ताल बाँध बाधेपछि ७ दशमलव ५ मिटरको अधिकतम गहिराइमा पुग्ने छ,’ रुपाताल संरक्षण परियोजनाका इन्जिनियर कृष्णबहादुर विश्वकर्माले सुनाए,  ‘त्यसपछि रुपा पनि पर्यटकीय गन्तव्य बन्छ ।’ 

फेवाको जस्तै तालबीचमा मन्दिर पनि बनाउने योजना छ । तालको किनारको ‘बराह’ मन्दिरलाई ताल बीचमा सारिने छ । यसरी फेवाले जस्तै रुपाले पनि पर्यटक लोभ्याउने छ । अहिले तालको माथिल्लो भागमा तटबन्ध लगाउने काम धमाधम भइरहेको छ । यसै वर्ष ड्याम बाध्न टेन्डर पनि निकालिदै छ । 

संघ सरकारले ०७३ बाटै लागू हुने गरि निकालेको १० वर्षे परियोजनाअनुसार अहिले ताल संरक्षणको काम भइरहेको छ । तालको जलाधार क्षेत्रमा हुने भू–क्षय र अन्य मानवीय गतिविधिले गर्दा ताल पुरिन थालेपछि सरकारले संरक्षणमा चासो देखाएको थियो । 

ई–को टुरिजम प्लानअनुसार ताल वरपर भौतिक पूर्वाधार बन्ने छ । यसपछि रुपा पनि फेवा र बेगनास जस्तै पर्यटकीय गन्तव्य बन्ने सरोकारवाला बताउँछन्  ।  पोखराका ९ तालमध्ये रुपा तेस्रो ठुलो हो । फेवापछि दोस्रोमा बेगनास । साबिकको लेखनाथ नगरपालिका ७ तालमध्येमा रुपा दोस्रो थियो ।  

रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले ताललाई पर्यटकीय गन्तव्य बनाउने गरि विस्तृत प्रतिवेदन (डिपिआर) लागू गरेको छ । परियोजना सम्पन्न गर्न ४ अर्ब ५१ करोड ६६ लाखको खर्च हुने परियोजनाको अनुमान छ ।

ताल संरक्षण अन्तर्गत जमिनको सतहबाट ६ मिटर अग्लो बाध बाँधिने छ । तालमा जमेको माटो निकाल्ने, खोला, खोल्सी र जालाधार क्षेत्रमा छेकबार गर्ने, बगेर आउने माटो र पानीलाई थिग्राउन पोखरी निर्माण गर्ने, ताल वरपरका वातावरण संरक्षण र तालको  ई–को टुरिजम प्लान बनाई कार्यान्वयन गर्ने गरि ६ भागमा काम विभाजन गरिने इन्जिनियर विकले जानकारी दिए  । उनका अनुसार १ सय २२ दशमलव ५ हेक्टर तालको क्षेत्रफल फैलाएर १ सय ८३ दशमलव ४ हेक्टर क्षेत्रफलमा पु¥याइने छ  । 

गएको दुई वर्षमा परियोजनाले जलाधार क्षेत्र संरक्षण र तालको बाँधले डुबानमा पर्ने जग्गा अधिग्रहणको काम गरिरहेको छ । इन्जिनियर विकका अनुसार तालको मुख्य जलस्रोत तालवेसी, चिसा, दोभान, भगरा, तेरजिङ लगायतका खोलाखोल्सी नियन्त्रणको काम गरिएको छ । अर्को आर्थिक वर्षमा बाँध निर्माणको काम सुरु गर्ने परियोजनाको तयारी परियोजनाले लिएको छ । 

अहिले भइरहेको भन्दा ४ मिटर माथि पानीको सतह बढ्ने छ । जसबाट डुवानमा पर्ने  करिब १२ सय रोपनी व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने छ । परियोजनाले २ सय ६० रोपनीको मु– अब्जा प्रकृया टुङ्ग्याएको छ । पहिलो चरणको मु–अब्जा दिने काम सकिइसकेको छ । यो वर्ष ५० प्रतिशत मु–अब्जा वितरण गरिसक्ने परियोजनाको लक्ष्य लिएको छ ।

वाकिङ र साइक्लिङ साथै फुट टे«ल, तालको पूर्वपट्टी रहेको सीता गुफाको सौन्दर्यकरण परियोजनाको अर्को महत्वपूण पाटो रहेको छ ।  परियोजना सम्पन्न हुँदा रुपाताल पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हुने आशा परियोजनाले लिएको छ । पोखरामा रहेका ९ वटा ताल मध्य फेवा र वेगनास तालमा पर्यटकको अलि बढी बाक्लो चहलपहल हुन्छ । परियोजना सम्पन्न हुदाँ अबको केही वर्षमा रुपाले पनि पर्यटकलाई तान्ने छ । बिचमा सुन्दरी डाडाँ पूर्वमा रुपा पश्चिममा वेगनास ताल । यी दुइ तालको एकिकृत विकासले अझै बढि पर्यटक अकर्षीत गर्न सक्ने सम्भावना बढेको छ । 

चित्त नबुझ्ने मु– अब्जा 
चित्त बुझ्दो मु–अब्जा नपाएको भन्दै स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् । चल्तिको मुल्यभन्दा आधा रकम नै घटाएर मु–अब्जा निर्धारण गरेको स्थानीयको आरोप छ । सरकारले दिएको मुअब्जा रकम आफूहरुलाई मान्य नभएको संघर्ष समितिका कोषाध्यक्ष शिवराज अधिकारी बताउँछन् । ‘एकिकृत विकास परियोजनाले दिएको मुअब्जा हामीलाई चित्त बुझ्दो छैन,’ उनले भने, ‘हिजो बाउ,बाजेदेखि भोगचलन गर्दै आएको जग्गा राज्यले पञ्चायत शैलीमा हड्पन खोज्दै आएको छ । यो हामीलाई चित्त बुझ्दो छैन ।’ 

रोपनीको ३५ लाख बराबर रकम पाए पनि आफूहरुले राहत महसुस गर्ने उनले सुनाए । तर, आफूहरुको अपेक्षा विपरित १२ लाख ९२, १३ लाख मूल्य निर्धारण गरेको उनको दाबी छ । ८, १० रोपनी जग्गा ताल परियोजनालाई बुझाएर लिएको मुअब्जाले बाहिर घडेरी पनि किन्न नसकिने उनी बताउँछन् । 

सम्बन्धित निकायमा खबरदारी गरे पनि सुनुवाई नभएको उनको गुनासो छ । यता, ताल संरक्षण परियोजना भने मापदण्डको क्षेत्राधिकार भित्र आफूहरु नभएको बताउँछ । गृहमन्त्रालयबाटै यसको छिनोफानो हुने भएकाले आफूहरुले केही गर्न नसक्ने परियोजनाका इन्जिनियर विक बताउँछन् । 

‘यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन,’ उनले भने, ‘केन्द्रबाटै गर्ने काम हो । संघर्ष समितिले बुझाउनुभएको गुनासो हामीले केन्द्रमा पठाएका छौं । केन्द्रले नै यसको छिनोफानो गर्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप