बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको अन्तरपार्टी निर्देशन–२ :  विशेष राष्ट्रिय अभियानका लागि तयारी रहन आन्तरिक ‘सर्कुलर’

शुक्रबार, १३ भदौ २०७६, १७ : १८
शुक्रबार, १३ भदौ २०७६

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ । 

पार्टी एकीकरण घोषणा गरेको १५ महिना बित्दा समेत एकता प्रकृया टुङ्ग्याइनसकेको नेकपाले भदौ १३ गते अन्तरपार्टी निर्देशन–२ जारी गर्दै चाँडै नै एकता प्रकृया टुङ्गिने र विशेष राष्ट्रिय अभियान जारी गर्ने जनाएको छ ।

गत जेठ २ देखि भदौ ९ गतेसम्म बसेका पार्टी सचिवालय बैठकका निर्णयका आधारमा अन्तरपार्टी निर्देशन जारी गरेको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए ।

ती सदस्यका अनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका सबै तहका नेता तथा आम कार्यकर्तालाई सम्बोधन गर्दै  विशेष राष्ट्रिय अभियान सञ्चालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

यसअघि नेकपाले एकता–एकीकरणका बाँकी कामहरू तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेपनि विविध कारणले सम्भव नभएको जारी निर्देशनमा उल्लेख छ ।

अन्तरपार्टी निर्देशन २ जारी गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता– एकीकरणका बाँकी काम सम्पन्न गर्ने पूर्व घोषित मितिमा एकता– एकीकरणको काम सम्पन्न गर्न सम्भव नभएको बताएका छन् ।

सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको छ र अन्तिम चरणमा आइपुगेको भन्दै अध्यक्ष प्रचण्डले छिट्टै नै एकताका बाँकी कामहरू सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

त्यस्तै एकतासँगै पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने पनि नेकपाले जनाएको छ । ‘पार्टीले सवै नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ’ अन्तरपार्टी निर्देशन–२मा भनिएको छ । 

नेकपाले केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयहरूको आधारमा अन्तरपार्टी निर्देशन–१ जारी गरिसकेको छ ।

अन्तरपार्टी निर्देशन–२ पार्टीका सवै केन्द्रीय सदस्यहरूलाई पठाइसकिएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए । ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ,’ निर्देशनमा भनिएको छ ।

नेकपाले गर्ने राष्ट्रिय अभियानमा प्रभावकारी ढङ्गले लाग्न आफ्नो पार्टीपंक्तिलाई कडा निर्देशन दिएको छ ।

नेकपाले जनवर्गिय संगठन र पार्टीका केन्द्रीय विभागहरुको नाम, नेतृत्व टुंगो लगाएको जानकारी पनि केन्द्रीय सदस्यहरूलाई जानकारी गराएको छ । एकीकृत पार्टी नेकपामा अब २५ वटा जनवर्गीय संगठन र ३३ विभाग हुनेछन् । निर्देशनमा नेकपाले एकीकरण प्रक्रिया बाँकी रहेका जिल्ला कमिटीहरुको एकता छिटो सक्न निर्देशन दिएको छ । नेकपाले आयोगहरु, परिषद्, मञ्च, ६ महानगरपालिका र प्रवास कमिटीको एकीकरण टुङ्ग्याउन बाँकी छ । अन्तरपार्टी निर्देशन–२ मा एकता प्रकृयाका  क्रममा अहिलेसम्म टुङ्गिएका विषयहरुबारे जानकारी गराईएको छ ।

त्यस्तै जनवर्गीय संगठनहरूको संगठनको विधान, कमिटी सदस्यहरूको छनोटलगायतका विषयमा प्रस्ताव तयार गर्ने जिम्मेवारी इन्चार्ज, सह–इन्चार्ज तथा संयोजक, सहसंयोजक कमरेडहरूलाई दिइएको जानकारी गराउदै यसका लागि सम्बन्धित नेता कार्याकर्ताहरुलाई महाससचिव विष्णु पौडेलसँग सम्पर्क गर्न भनिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप