शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन नयाँ प्रस्ताव

शुक्रबार, १३ भदौ २०७६, १६ : ०३
शुक्रबार, १३ भदौ २०७६

काठमाडौं– सांसदहरुले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नहुने बाध्यकारी व्यवस्था गरिनुपर्ने धारणा राखेका छन् । 

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  २०७५ माथिको छलफलमा सहभागी सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तिलाई बन्द गर्नुपर्ने र नियुिक्तपछि पनि सदस्यसचिव राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिनुपर्ने धारणा राखेका हुन् । 

विधेयक संशोेधनकर्ता दिव्यमणी राजभण्डारीले सदस्यसचिव राजनीतिक गतिविधिमा संलग्न हुँदा खेलकुद क्षेत्रमा राजनीतिक भेदभावको अवस्था श्रृजना हुने भएकाले त्यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखे । त्यसैगरी सांसद विमला विकले खेलाडी कल्याणकोषको स्थापना गरी खेलाडीले खेलबाट विदा लिने अवस्थामा निवृत्तिभरण वा पेन्सन दिने व्यवस्था मिलाउनुपर्ने धारणा राखिन् । उनले विधेयकमा खेलाडी प्रवद्र्धन कोष बनाउने विषय थप गर्न सुझाव दिइन् । 

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलक्षेत्रका समस्या तथा चुनौती सम्बोधन  र दायित्वलाई केन्द्र भागमा राखेर विधेयकलाई पूर्णता दिनेतर्फ प्राप्त सुझावलाई मन्त्रालयले सधै स्वागत गर्ने बताए ।  राष्ट्रियसभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझावसहित प्रतिनिधिसभामा पठाएको हो । समितिले शुक्रबार विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुसँग संशोधन प्रस्ताव बारे छलफल गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप