एउटै गीत : कोही शिखरमा, कोही चाहिँ कष्टकर जीवनको अँध्यारो गल्लीमा
सोसल मिडियाका अनेकन प्लेटफर्ममा आजभोलि रानू मंडल सेलिब्रेटी बनेर छाएकी छन् । ‘सोसल मिडिया’को शक्ति र प्रभावकारितालाई नजरअंदाज गर्ने जस्तासुकै महाशक्तिका लागि आउने दिन निश्चय पनि सहज हुने छैन ।
खासगरी ‘बिग हाउस मिडिया’ र स्थापित सत्तापक्ष–प्रतिपक्ष दलका राजनीतिज्ञहरुका लागि सोसल मिडियाका माध्यमहरु यस्तो शत्रुका रुपमा उदाउँदै गइरहेका छन्, जसको मुकाबिला वा मर्दन गर्ने सामथ्र्य परम्परागत सोच र शैली बोकेका उपर्युक्त दुबै वर्गसँग कम्तिमा अहिलेसम्म देखिएको छैन ।
नेपालमै जारी एउटा घटना प्रकरणले सोसल मिडियाको पहुँच र प्रभावकारितालाई छर्लङ्ग बनाएको छ । एउटा व्यक्तिका पक्षमा देशभरि उर्लिएको आक्रोशलाई चानचुने भन्न मिल्दैन । सवाल ठीक वा बेठीकको होइन, प्रसंग सोसल मिडियाको संप्रेषण शक्ति, विश्वसनियता र प्रभावकारिताको हो ।
ठीक वा बेठीकको फैसला त महाभारतका गंगापुत्र पितामह भिष्म, कुलगुरु कृपाचार्य, धुरन्धर द्रोण र धर्मराजकै अंशका रुपमा जन्मिएका महात्मा विदुरले त गर्न सक्नुभएन । आजन्म बेठीककै पक्षमा उभिनु पर्यो तत्कालीन युगका यी युगद्रष्टाले !
इतिहाससँग खासै पिरती कहिल्यै नबसेकोले विश्व घटनाक्रमबारे त थाहा छैन । तर, पदासीन प्रहरी प्रमुखले हेडक्वार्टरबाट १५० किमि पर गई छानबीनका लागि हिरासतमा राखिएको कुनै मानिसलाई भेटेको शायद यो नै पहिलो घटना होला ।
यस घटनालाई पनि व्याख्या गर्ने व्यक्तिपिच्छे फरक अवधारणा हुनसक्छन् । तर, मेरो मान्यतामा नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालले यसो गरेर उत्कृष्ट परम्पराको जग राखेका हुन् ।
‘म प्रहरी हिरासतमा सुरक्षित छैन’ भन्ने प्रपोगण्डा सार्वजनिक भएपछि प्रहरी परिवारको मुखिया भएको नाताले अपिलकर्तालाई हिरासतकै अवस्थामा भेटेर सुरक्षाप्रति आश्वस्त गराउनु निःसन्देह स्वागतयोग्य कार्य हो । सर्वेन्द्र खनालको यस कर्मको पृष्ठभूमिमा पनि सोसल मिडिया कै व्यापकता र असरकारिता हो भन्नुमा अत्युक्ति नहोला । यस नेपाली प्रकरणको जिम्मा म नेपालीजनलाई सुम्पेर पुनः म रानु मंडलकै कथामा फर्कन्छु ।
भारतको कुनै रेल्वे स्टेशन वरिपरि गीत गाएर जीविकोपार्जन गर्ने रानु मंडललाई सोसल मिडियाले प्रक्षेपित गरी सोझै मायानगरी मुम्बईमा स्थापित गराइदिएको समाचार पनि सोसल मिडियाले नै जनजनसम्म पुर्याउने दायित्व निर्वाह गरिरहेको छ ।
इक प्यार का नगमा है मौजो की रवानी है
जिन्दगी और कुछ भी नहीं तेरी मेरी कहानी है ।
(गीतकार सन्तोष आनन्द, संगीतकार लक्ष्मीकान्त प्यारेलाल, (लक्ष्मीकान्त शांताराम कुडालकार र प्यारेलाल रामप्रसाद शर्मा )
लता मंगेशकर र मुकेश
लता मंगेशकर र मुकेशको स्वर रहेको यो गीत ‘सुर–ताल–कंठ–भाव–लय–शब्दको अपूर्व समागम हो । सन् १९७२ मा मनोज कुमार अभिनित र निर्देशित ‘शोर’ फिल्मको यो गीत आज पनि संगीतप्रेमीहरुको रोजाइमा अब्बल स्थान नै राख्छ ।
रानु यही गीत गाएर भिक्षाटनबाट जीविकोपार्जन गर्दै आएकी थिइन् । केही दिन पहिला मात्र कुनै एकजना सोसल मिडिया प्रयोगकर्ताले पश्चिम बंगालको एउटा रेल्वे स्टेशनमा उनले गाउँदै गरेको गीतको भिडियो बनाएर पोस्ट गरिदिए । भिडियो रातारात भाइरल बन्यो ।
बलिउडका गायक तथा नायक हिमेश रेशमियाले भाइरल बनेको भिडियो हेरेर उनलाई मुम्बई लगे, र आफ्नो निर्माणाधीन फिल्मका लागि गीत गाउने मौका पनि दिए । रानु मंडल फुटपाथबाट एक्कासि बलिउडमा स्थापित हुन पुगिन् ।
रानु मंडलको यस कथाले यो अकिंचनलाई हर्षित तुल्यायो । ५९ वर्षीया रानुको आवाज साँच्चिकै सुमधुर छ ।
कहाँ छन् इक प्यारका नगमाका गीतकार ?
जुन गीत गाएर रानु फर्शबाट अर्शमा पुगिन्, त्यससँग सम्बन्धित गायक मुकेश, संगीतकार द्वयमध्येका एक लक्ष्मीकांत शांताराम कुडालकर जीवित छैनन् । गायिका लता, अर्का संगीतकार प्यारेलाल रामप्रसाद, गीतकार सन्तोष आनन्द र अभिनेता मनोजकुमार वृद्धवयको जीवनयापन गर्दैछन् ।
सन्तोष आनन्द
अनेकौं कर्णप्रिय सुप्रसिद्ध गीत लेख्ने सन्तोष आनन्दको नाम नयाँ पुस्ताका लागि अपरिचित हुनसक्छ । १९७० मा प्रदर्शित भएको फिल्म पुरब और पश्चिमको गीत ‘पुरवा सुहानी आइ रे’ बाट फिल्मी गीत लेखनमा प्रवेश गरेका सन्तोष आनन्दले यसपछि थुप्रै फिल्मका लागि गीत लेखे । रोटी कपडा और मकान, क्रान्ति, प्यासा सावन, प्रेमरोग, गोपीचन्द जासुस, मेरा जबाब, सन्तोष, सूर्या, नागमणि, तहलका, तिरंगा, प्रेम आँगन लगायत थुप्रै फिल्मका लागि सन्तोष आनन्दले कलम चलाए ।
‘मैं ना भुलुँगा’ गीतका लागि उनले पहिलो पटक फिल्मफेयर अवार्डको सम्मान पाएका थिए । उनले २६ वटा फिल्मका लागि १०९ वटा गीत लेखे ।
जिन्दगी की न टुटे लडी, चना जोर गरम, अब के बरस तुझे धरती की रानी कर देगे, उइ समासा उइ देजा प्यार जरा सा, हाय हाय यह मजबुरी, और नही वस और नही, मेघा रे मेघा रे, मुहब्बत है क्या चीज कोई हमको बताए, मारा ठुमका बदल गयी चाल, तेरा साथ है तो मुझे क्या कमी है, यह प्यार था या कुछ और था, ओ मेरी छम्मक छल्लो, मै हुँ प्रेमरोगी, ये गलिया ये चौबारा यहाँ आना ना दोबारा जस्ता भावगम्य गीत लेखेका सन्तोष आनन्द अहिले अत्यन्त सकसपूर्ण जीवन बिताइरहेका छन् । चरम आर्थिक अभावले उनको अवस्था एक महिना अघिको रानु मंडल जस्तै छ ।
५ मार्च १९४० मा उत्तर प्रदेशको बुलन्द शहर जिल्लाको सिकन्दरावाद भन्ने स्थानमा जन्मिएका ७९ वर्षीय सन्तोष आनन्दले ४७ वर्ष पहिले लेखेको गीत ‘इक प्यार का नगमा है’ ले रानु मंडलको भाग्य परिवर्तन गरिदियो तर कवि स्वयंको भने...
सन्तोषा आनन्द र महेन्द्र कपुर
उनका लागि जीवन भने महेन्द्र कपुरले स्वर दिएको उनले लेखेकै गीत– और नही वस और नही, गम के प्याले और नही, दिल मे जगह नही बाँकी, रोक नजर अपनी शाकी झैं चरितार्थ भइरहेको छ ।
रानुलाई भाइरल बनाउने अतिन्द्र चक्रवर्ती
सोसल मिडिया प्रयोगकर्ता अतिन्द्र चक्रवर्तीले पश्चिमी बंगालको रानाघाट रेल्वे स्टेशनमा गीत गाउँदै मागेर हिँड्ने रानु मंडलको भिडियो पोस्ट गरेर उनलाई किस्मतको बुलन्दीमा पुर्याइदिए । अतिन्द्र चक्रवर्ती सफ्टवेयर इन्जिनियर हुन् ।
रानु मंडलले नाम, दाम र काम साथै दस वर्ष पहिला सम्पर्कविहीन भएकी आफ्नी एकमात्र छोरीलाई भेट्टाएकी छन् ।
हिमेश रेशमियाले आफ्नो बन्दै गरेको फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’ का लागि गीत गाउने मौका दिएर रानु मंडलका दुर्दिन अन्त्य गरिदिए ।
आजीविकाका लागि सानातिना कवि गोष्ठी डुल्दै गरेका ७९ वर्षीय सन्तोष आनन्दलाई मुफलिसी (गरिबी)को दलदलबाट माथि उकास्न को अतिन्द्र चक्रवर्ती प्रकट हुन्छ ? अनि को हिमेश रेशमिया देखापर्छ ? सोसल मिडियाको एक प्रयोगकर्ता ‘म’ त्यो हेर्न पर्खिरहेको छु ।
(सबै तस्विरहरु : इन्टरनेट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो