‘प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई ओपन च्यालेन्ज दिने ?’

सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताएका हुन् ।
मन्त्री बाँसकोटाले भने, ‘लोकतन्त्र गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस्, प्रणालीले काम नगरोस् भन्ने तहबाट हुने बाहय आक्रमणहरु र मिडिया आफै वहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गरेर जान खोज्ने कुराले प्रेसको विश्वसनियतामाथि प्रश्न उठाएको छ ।’
त्यो आन्तरिक चुनौति डरलाग्दो रहेको भन्दै उहाँले ती सबै चुनौतिको सहज व्यवस्थापन गर्ने सोचमा रहेर विधेयकमा आवश्यक व्यवस्था गरिएको बताए ।
उनले नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सीमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको स्पष्ट पारे ।
कारवाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टिकरण अनि क्षतिपूर्ति वा जरिवानाका विषय राखिएको भन्दै उनले क्षतिपूर्ति र दण्ड जरिवानाका कुरालाई अदालति प्रक्रियामा लैजान सकिने बताए ।
पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएको अचम्म–अचम्मका प्रवृति देखिएको भन्दै उनले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्रविरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताए ।
उनले भने “जसलाई जे पनि भनेको छ । जे पनि आरोप लगाएको छ । जवाफदेहिता छैन । उत्तरदायित्व छैन । संविधान खारेज गरौ । संशोधन होइन खारेज । समाप्त गरौँ । अर्को चीज ल्याऔँ । यो पनि पत्रकारिता हो ? यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने ? यो त्यस्तो हो ? म सोध्न चाहन्छु । हिजो निरकुंशकालमा जय जय गान गाएर हिँड्ने त्यसको विषयमा केही बोल्न नसक्ने त्यसका विरुद्ध लडेर आएको शक्तिलाई चाहीँ आरोप । लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति हो । त्यसको समाप्तिका लागि त्यो छुट दिन सकिन्न । सकिन्छ र ? ”
तानाशाही व्यवस्थामा नबोल्नेले अहिले गणतन्त्र आफुले ल्याएको दाबी गर्दै त्यसविरुद्ध विभिन्न वक्तव्य बाजी गर्दै हिँडेकोमा पनि उनले आपत्ति जनाए । उनले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याएर पुनःस्थापित हुने प्रयास गरिरहेको दाबी गरे ।
उनले भने “कहिले देश टुक्राउन आउ । कहिले गणतन्त्र समाप्त गर्न आउ । कहिले के गर्न आउ भनेर ओपन–ओपन च्यालेन्ज दिने डेमोक्रेशीलाई, गणतन्त्रलाई ? त्यो हेरेर बस्न सकिन्छ ? निरंकुशताको रहलपहलले आज पनि फणा उठाउन खोज्दैछ । के को नाममा, स्वतन्त्र प्रेसको नाममा । स्वतन्त्र प्रेस हिजो तिनले गर्याथे ? पञ्चायतको भक्तिभाव गर्याथे । निरंकुश राजतन्त्रको गाना बजाना गर्याथे ।स्वतन्त्रता छ भन्ने नाममा जे पनि गर्याछ । ”
उनले नेताहरुको मानमर्दन गरि स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने बताए । उनले अनुजा, भक्तमान, दिलशोभा लगायत प्रकरणबाट सरकार अनुशप्त रहेको स्मरण गराउँदै कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिइने चेतावनी दिए ।
उनले भने “अनुजा, भक्तमान, दिलशोभा प्रकरण हेरौँ न । अदालति काम प्रेसले गर्न सक्दैन । मिडिया ट्रयाल हुन सक्दैन । अदालती ट्रायल हुन्छ । पहिले नै राय दिएर समाजलाई दिग्भ्रमित बनाउने कुराले हो अराजकता र स्वच्छन्दता मौलाउने र स्वतन्त्रता र लोकतन्त्र अप्ठ्यारोमा पर्ने ।”
आमसञ्चारसम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई सम्बृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
धोबीखोला करिडोर पीडितको प्रदर्शन