शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई ओपन च्यालेन्ज दिने ?’

कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिइने सञ्चारमन्त्रीको उद्घोष
शुक्रबार, १३ भदौ २०७६, १३ : १४
शुक्रबार, १३ भदौ २०७६

सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताएका हुन् ।

मन्त्री बाँसकोटाले भने, ‘लोकतन्त्र गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस्, प्रणालीले काम नगरोस् भन्ने तहबाट हुने बाहय आक्रमणहरु र मिडिया आफै वहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गरेर जान खोज्ने कुराले प्रेसको विश्वसनियतामाथि प्रश्न उठाएको छ ।’

त्यो आन्तरिक चुनौति डरलाग्दो रहेको भन्दै उहाँले ती सबै चुनौतिको सहज व्यवस्थापन गर्ने सोचमा रहेर विधेयकमा आवश्यक व्यवस्था गरिएको बताए ।

उनले नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सीमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको स्पष्ट पारे ।

कारवाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टिकरण अनि क्षतिपूर्ति वा जरिवानाका विषय राखिएको भन्दै उनले क्षतिपूर्ति र दण्ड जरिवानाका कुरालाई अदालति प्रक्रियामा लैजान सकिने बताए ।

पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएको अचम्म–अचम्मका प्रवृति देखिएको भन्दै उनले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्रविरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताए ।

उनले भने “जसलाई जे पनि भनेको छ । जे पनि आरोप लगाएको छ । जवाफदेहिता छैन । उत्तरदायित्व छैन । संविधान खारेज गरौ । संशोधन होइन खारेज । समाप्त गरौँ । अर्को चीज ल्याऔँ । यो पनि पत्रकारिता हो ? यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने  ? यो त्यस्तो हो ? म सोध्न चाहन्छु । हिजो निरकुंशकालमा जय जय गान गाएर हिँड्ने त्यसको विषयमा केही बोल्न नसक्ने त्यसका विरुद्ध लडेर आएको शक्तिलाई चाहीँ आरोप । लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति हो । त्यसको समाप्तिका लागि त्यो छुट दिन सकिन्न । सकिन्छ र ? ”

तानाशाही व्यवस्थामा नबोल्नेले अहिले गणतन्त्र आफुले ल्याएको दाबी गर्दै त्यसविरुद्ध विभिन्न वक्तव्य बाजी गर्दै हिँडेकोमा पनि उनले आपत्ति जनाए । उनले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याएर पुनःस्थापित हुने प्रयास गरिरहेको दाबी गरे ।

उनले भने “कहिले देश टुक्राउन आउ । कहिले गणतन्त्र समाप्त गर्न आउ । कहिले के गर्न आउ भनेर  ओपन–ओपन च्यालेन्ज दिने डेमोक्रेशीलाई, गणतन्त्रलाई ? त्यो हेरेर बस्न सकिन्छ ? निरंकुशताको रहलपहलले आज पनि फणा उठाउन खोज्दैछ । के को नाममा, स्वतन्त्र प्रेसको नाममा । स्वतन्त्र प्रेस हिजो तिनले गर्याथे ? पञ्चायतको भक्तिभाव गर्याथे । निरंकुश राजतन्त्रको गाना बजाना गर्याथे ।स्वतन्त्रता छ भन्ने नाममा जे पनि गर्याछ । ”

उनले नेताहरुको मानमर्दन गरि स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने बताए  । उनले अनुजा, भक्तमान, दिलशोभा लगायत प्रकरणबाट सरकार अनुशप्त रहेको स्मरण गराउँदै कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिइने चेतावनी दिए ।

उनले भने “अनुजा, भक्तमान, दिलशोभा प्रकरण हेरौँ न । अदालति काम प्रेसले गर्न सक्दैन । मिडिया ट्रयाल हुन सक्दैन । अदालती ट्रायल हुन्छ । पहिले नै राय दिएर समाजलाई दिग्भ्रमित बनाउने कुराले हो अराजकता र स्वच्छन्दता मौलाउने र स्वतन्त्रता र लोकतन्त्र अप्ठ्यारोमा पर्ने ।”

आमसञ्चारसम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई सम्बृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिबद्धता पनि उनले जनाए ।  

छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप