शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी पार्टीमा एकीकरणको विषय बन्दैन एजेण्डा, शुन्य समयमा हुन्छ छलफल

बिहीबार, १२ भदौ २०७६, २० : ०६
बिहीबार, १२ भदौ २०७६

काठमाडौ– नेपाली राजनीतिमा राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चाले ठाउँ पाएको छ । राजनीतिमा यो विषयले ठाउँ पाए पनि समाजवादी पार्टीको एजेण्डा कहिले बनेनन् । जहिले पनि शुन्य समयमा यसको चर्चा हुने गरेको छ । 

विभिन्न विषयमा छलफल गर्नका लागि समाजवादी पार्टीको बैठक पटक–पटक बस्ने गरेको छ । तर हालसम्म एकीकरणको एजेण्डा बनेको छैन । समाजवादी पार्टीका कोषाध्यक्ष विजय यादवले भने, ‘राजपा नेपालसँग एकीकरण गर्ने चर्चा चले पनि त्यसको आधिकारीक छलफल भएको छैन ।’

एकीकरण गर्नका लागि सबभन्दा पहिले सैद्धान्तिक विषयमा कुरा मिल्नु पर्यो भन्दै त्यसपछि अन्य एजेण्डामा छलफल हुने उनको भनाइ छ । साथै हालसम्म सैद्धान्तिक विषयमा कुरा नै नमिलेको उनले बताए । 

उनले भने, ‘नेताहरुबीच साइड टकहरु भइरहेका होलान् तर पार्टीमा यस विषयमा एजेण्डा बनेर नै छलफल भएको छैन । एकीकरण हुने नहुने कुरा राजपा नेपालमाथि निर्भर हुन्छ, समाजवादी पार्टी एकीकरणका लागि तयार छ, तर राजपा नेपाल यसमा गम्भीर देखिएको छैन ।’ 

उनले अगाडि भने, ‘राजपा नेपालले एकीकरणका विषयमा छलफल गर्नका लागि बैठक बोलाएको छ । त्यो बैठकले के निर्णय गर्छ । एकीकरणको आगामी यात्रा त्यसमा निर्भर गर्छ ।’

राजपा नेपालले शुक्रवार र शनिवार दुई दिनका लागि राजनीतिक समितिको बैठक बोलाएको छ । बैठकले समाजवादी पार्टीसँगको एकीकरण र आगामी महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । 
यो बैठकको प्रतिक्षामा समाजवादी पार्टी बसेको छ । समाजवादी पार्टीले हिजो पदाधिकारीको बैठक बोलाएको थियो । 

नयाँ शक्तिसँग गरेको एकीकरणपछि विभिन्न सङ्गठनबीच हुने समायोजन तथा कार्यविभाजनको एजेण्डामा छलफल भयो तर एकीकरणको विषयमा छलफल नै भएन । 

प्रचार प्रसार विभागका प्रमुख प्रशान्त सिंहले भने, ‘दुई पार्टी बीच हुने भनिएको एकीकरणको विषय बैठक एजेण्डा नै बनेन्, जति कुरा हुन्छ शुन्य समयमा नै हुन्छ । राजपा र समाजवादी पार्टीबीच हुने भनिएको एकीकरणको हरेक विषयमा दुई दलबीच कुराकानी भएको हो तर के टुग्यों, के टुगिंएन त्यसको कुनै ठोस कुरा आएको छैन ।’

राजपा र समाजवादी पार्टीका नेताहरु बीच अनौपचारिक छलफल हुँदा ‘पावर सेयरिङ’, सरकार छाड्ने कि नछाड्ने, राजनीतिक दस्तावेजलगायतको विषयमा छलफल भएको छ । तर कुनै कुरा मिलेको छैन । दुई पार्टीबीच एकीकरण हुने कुरा निश्चित छ तर कहिले हुने हो त्यो टुगों छैन ।  प्रमुख सिंहले भने, ‘दुई पार्टीबीच एकीकरण हुन्छ तर कहिले हुन्छ त्यो कुराको अन्योल छ । यो सबै कुरा राजपा नेपालमाथि निर्भर हुन्छ ।’

दुवै पार्टीबीच हुने एकीकरणको विषयमा राजपा नेपालमा विवाद देखिन्छ । सो पार्टीको एकपक्षले महाधिवेशनपछि एकीकरणमा जाने भनिरहेको छ भने एकपक्षले एकीकरण गरेर महाधिवेशनमा जाने भनिरहेको छ । 

राजपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेतासँग पटक पटक अनौपचारिक छलफल गरेका छन् । तर त्यसको बारेमा पार्टीमा कुनै जानकारी उनले दिएका छैन । त्यसले गर्दा राजपा नेपालमा झन अन्योलमा देखिएको छ । 

अन्योल यतिसम्म भएको छ कि पार्टीमा छुट्टै समूह बनाउने चेतावनी आइसकेको छ । पार्टीका सह–महासचिव एवं प्रवक्ता कृष्णा सिंहले पार्टीमा यस्तै विवाद रही रह्यो भने छुट्टै पार्टी बनाएर अगाडि बढ्न सकिने चेतावनी दिएका छन् । 

उनले भने, ‘हाम्रै पार्टीका केही दलालहरुको कारण बाध्यात्मक स्थिति सृजना हुनसक्छ । अवस्था त्यस्तै आए नयाँ पार्टी वा स्वतन्त्र राजनीति समूहको स्थापना पनि गर्न सकिन्छ ।’ 

एकातिर समाजवादी पार्टीका नेताहरुले राजपा नेपालसँग हरेक कुरामा अनौपचारिक छलफल भइरहेको छ, त्यसलाई अन्तिम रुपमा दिन बाँकी छ तर यता संयोजक महतोसँग पार्टीले जानकारी लिँदा केही पनि भएको छैन, एकीकरणको नाममा समाजवादी पार्टीसँग बसेर एककप चिया पनि खाएको छैन भिन जवाफ दिन्छन् । त्यसले सो पार्टीमा झन अन्योल बढाएको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा भन्छन्, ‘एकीकरणको बारेमा पार्टीलाई कुनै जानकारी नै छैन । मैले पनि सुनेको छु, महतोजीले समाजवादी पार्टीसँग छलफल गरिरहनु भएको छ तर के कुरा हुन्छ के हुँदैन त्यसको बारेमा पार्टीमा कुनै जानकारी आएको छैन ।’ 

पार्टीका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले पार्टीमा देखिएका यस्तै अन्योलको बारेमा छलफल गर्नका लागि राजनीतिक समितिको बैठक बोलाए । तर अर्को पक्षले त्यसको विरोध गरेको छ । आफूहरुसँग सल्लाह नै नगरि बैठक बोलाएको कारण त्यसलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

 पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले बैठकलाई बहिष्कार गर्ने अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘छ जनाको अध्यक्षमण्डलका रहेका छन् , त्यसमा अधिकांश सदस्यहरुसँग छलफल नै नगरि अध्यक्षमण्डलका संयोजकले बैठक बोलाउनु भएको छ । त्यसले त्यसलाई बहिष्कार गरिनेछ ।’

महासचिव झा पनि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारीसँगै एकीकरणका पक्षमा रहेका छन् । समाजवादी पार्टीसँग एकीकरण हुनुपर्छ भनि उनी महोल बनाउनमा लागेका छन् ।      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप