बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सरकारलाई चीन मोह : मुख्यमन्त्रीदेखि स्थानीय तहका प्रतिनिधिसम्मको लर्को

बिहीबार, १२ भदौ २०७६, १६ : ४६
बिहीबार, १२ भदौ २०७६

बुटवल– मुलुक सङ्घीयतामा गएपछि प्रदेश सरकारहरू विदेश सम्बन्ध विस्तारमा जुटेका छन् । नेपालसँग सीमा जोडिएको चीनसँगको सम्बन्ध विस्तार गर्न ५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारी लागिपरेका छन् । 

पछिल्लो समय ५ नम्बर प्रदेश सरकारका अधिकारी र चिनियाँ प्रतिनिधि मण्डलबीच आवतजावत र भेटवार्ता पनि बाक्लिएका छन् । 

यसैक्रममा ५ नम्बर प्रदेश सरकारका साथै स्थानीय सरकारका प्रतिनिधिहरूले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम पनि बढेको छ । 

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनका विभिन्न प्रान्तको भ्रमण गरे । सोही क्रममा ५ नम्बर प्रदेश र चीनको सिंचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भयो । 

मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा सिंचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने सम्झौता गरिएको छ ।

यस्ता सम्झौताले दुवै प्रदेशबीच लगानीका क्षेत्र पहिचान गरेर विकासमा साझेदारी गर्ने बाटो खुला गरिदिएको ५ नम्बर प्रदेश सरकारले जनाएको छ । 

चाँडै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा निस्किँदै छ । गिरी नेतृत्वको टोली आज बिहीबार चीन भ्रमणमा जाँदै छ । 

मन्त्री गिरीले प्रदेश सरकारलाई चीन सरकारले गरेको दोस्रो भ्रमण निन्ता अनुसार ९ जनाको टोली चीन लागेको जानकारी दिए । 

यसका साथै प्रदेश ५ का विभिन्न स्थानीय तहबाट पनि चीनका विभिन्न प्रान्तका समकालीन नगरपालिकाको भ्रमण धमाधम भइरहेको छ । विशेषगरी प्रदेश ५ मा बुद्धजन्मस्थल र बृहत् लुम्बिनी क्षेत्र रहेकाले धार्मिक आस्थाका आधारमा पनि चिनियाँहरू नेपालसँगको सम्बन्ध बढाउन आतुर देखिएका छन् ।

प्रदेश सरकारले पनि चीनका विभिन्न प्रान्तहरूमा सम्बन्ध विस्तारको गर्न चाहेकाले मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको टोलीले गत असारमा चीन भ्रमण गरेको हो । 

यसअघि रुपन्देहीको सैनामैना नगरपालिकाको एक टोली पनि चीन भ्रमणमा गएको थियो भने रुपन्देहीको तिलोत्तमा नगरपालिको एक टोली पनि केही दिनमै चीन जाँदैछ । 

यी हुन् चीनसँग सम्बन्ध बढाउने स्थानीय तह 
तीन वर्षअघि रुपन्देहीको सिद्धार्थ नगरपालिका र साङ्सी प्रान्तको बाउचीन नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएपछि प्रदेश ५ मा चिनियाँ सरकारी टोलीको भ्रमण बाक्लिन थालेको चीनका लागि प्रदेश ५ का सहजकर्ता डा. सागर न्यौपानेको जानकारी दिए । 

न्यौपानेका अनुसार चीनको सिंचुवान प्रान्तको लसान नगरपालिकाबीच पाल्पाको तानसेन, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाबीच सम्बन्ध कायम भइसकेको छ । 
त्यस्तै ५ नम्बर प्रदेशका रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकाले चीनका विभिन्न तहसँग सम्बन्ध स्थापति गरेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिकासँग पनि चिनियाँ सम्बन्ध गाँसिएको छ । यस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिका र आन्सोई प्रान्तको छिचौँ नगरपालिमा प्रदेशका सांसद विष्णु पन्थीको नेतृत्वमा भ्रमण हुँदा प्रदेश ५ को बृहत् क्षेत्रमा सहकार्य गर्नेगरी छलफल भएको थियो ।

यसअघि सैनामैनाका मेयर चित्रबहादुर कार्कीसहितको टोली दुई हप्ताअघि चीन पुगेको थियो । 

कस्ता विषयमा ध्यान दिनुपर्छ ?  
चिनियाँहरूलाई ५ नम्बर प्रदेशमा रहेको लुम्बिनी क्षेत्रले बढी आकर्षित गरेको सरोकारवालाहरूको भनाइ छ । ‘आकर्षण बढ्नु राम्रो हो । चिनियाँ पर्यटकमार्फत नेपालले फाइदा लिन सक्नुपर्छ’, चीनका जानकार मोहन भण्डारीले रातोपाटीसँग भने, ‘मौलिक र परम्परागत संस्कृति तथा स्थानीय उत्पादनमार्फत चीनसँग सहकार्य बढाउँदै आर्थिक समृद्धिमा  लाग्नसक्नुपर्छ ।’ उनले चीनको चासो र आकर्षण बढे पनि उनीहरूलाई फलोअप गर्ने संयन्त्र नहुँदा चिनियाँहरू टाढिन सक्ने जोखिम हटाउनुपर्ने बताए । 

त्यसो त प्रदेश र स्थानीय सरकारले चीनसँग भगिनी सम्बन्ध कायम गरे पनि उनीहरूले स्पष्ट योजना दिन सकेका छैनन् । भगिनी सम्बन्धले बृहत् क्षेत्रमा सहकार्य गर्ने बाटो खोलेकाले प्रष्ट योजनासहित चिनियाँ लगानी भित्र्याउनतर्फ ध्यान दिनसके धेरै फाइदा लिन सकिने चीनका लागि प्रदेश ५ का सहजकर्ता डा. सागर न्यौपानेको भनाइ छ । 

खागसगरी चिनियाँ  पर्यटक टोली नेपाल आउँदा खाना र भाषाका कारण बसाई लामो बनाउन कठिन भएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । 

चिनियाँ पक्ष लगानी गर्न चाहान्छ : मन्त्री गिरी 
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी सम्बन्ध विस्तार र आवतजावत बढेसँगै चीनले गरेको तीव्र विकासको मोडल नेपाल भित्र्याउनुपर्ने बताउँछन्  । ‘चीन तेस्रो मुलुक जस्तो मानिए पनि हामीसँग जोडिएको देश हो । चीनले तीव्र गतिको विकास गरेको छ । हाम्रो मुलुक विकासोन्मुख हो ।  तर पनि विकासमा दुवै देशको चासो रहेकाले पनि आकर्षण पनि बढ्न पुगेको हो । विगतमा नाकाबकन्दीका बेला चीनबाट भएको सहयोगले पनि हामी सम्बन्ध बढाउन मद्दत गरेको हुनसक्छ’, मन्त्री गिरीको भनाइ छ । 

चिनियाँ पर्यटक नेपालमा आउँदा खानपान र भाषाको थोरै समस्या भए पनि त्यो लामो सयम नरहने मन्त्री गिरीले बताए । उनले प्रविधिको विकाससँगै भाषा ट्रान्सलेट गर्न सकिने र त्यसको व्यावस्थापन गर्न प्रदेश सरकारले बजेट नै छुटाएको जानकारी दिए । 

‘हामी मात्र होइन चिनियाँ पनि नेपाल आउन उत्साहित छन् । उनीहरूले यहाँ लगानी वृद्धि गर्न चाहेका छन् । चिनियाँ पर्यटक लुम्बिनी ल्याउने प्रयत्न पनि भइरहेको छ । जसले लुम्बिनी भ्रमण वर्षलाई पनि सहयोग गर्नेछ’, मन्त्री गिरीको विश्वास छ । 

गाउँपालिकाकै खर्चमा चिनियाँ भाषाको तालिम
रुपन्देहीको सियारी गाउँपालिकाले चिनियाँ भाषाको तालिमदेखि फेसन डिजाइनसम्मका शीर्षकमा बजेट खर्च गरेको छ । गाउँपालिकाले साढे तीन लाख बजेट खर्च गरेर २६ जनालाई चिनियाँ भाषाको तालिम दिएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईका अनुसार जिल्लामा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी तालिम दिइएको हो । योसँगै गाउँपालिकाले २७ जनालाई सवारी चालक ड्राइभिङ तालिम पनि दिएको छ । तालिममा सहभागीमध्ये १७ जना स्वरोजगार भएको गाउँपालिकाको भनाइ छ । त्यस्तै केही ठाउँमा भाषा प्रशिक्षण केन्द्रसमेत सञ्चालन गरिएको छ । 

के भन्छन् चीनसम्बन्धी जानकार ? 
चीनको विश्वविद्यालयमै अध्ययन गरेर फर्केका डा. सागर न्यौपानेले प्रदेश र स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गराउने सूत्राधारका रूपमा चिनिन्छन् । उनले भाषा र चिनियाँको मनोविज्ञानबारे सहजीकरण गरेकाले प्रदेश सरकारसँग सहकार्य गर्ने सहज भएको छ । 

चीनले निजी क्षेत्रसँग भन्दा पनि सरकारसँगै सम्बन्ध कायम गरेर सहकार्य गर्न खोजेकाले आफूले सहजीकरणको काम गरेको डा. न्यौपानेले बताए । उनका अनुसार चिनियाँ सरकारका उच्च अधिकारीहरू समेत बारम्बार यहाँका विभिन्न क्षेत्रको भ्रमणमा आउने र लगानी गर्ने गरेका छन् । यसै क्रममा चिनियाँ पक्षले रुपन्देहीको सियारी गाउँपालिकामा नेपालकै नमुना ‘नेपाल–चीनमैत्री कृषि पर्यटकीय उद्यान’ निर्माण गर्ने तयारी थालेको छ ।

सियारी गाउँपालिका र चीनको कान्सु प्रान्त सरकारबीच सम्झौता भएर यसको निर्माण प्रक्रियासमेत सुरु भइसकेको छ । दुई वर्षयता चिनियाँ सरकारको उच्चस्तरीय टोलीले ५ नम्बर प्रदेशका स्थानीय र प्रदेश सरकारसँग सहकार्यको हात बढाएसँगै यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप