मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य अझै बढ्ने, अन्तर्राष्ट्रिय बजारमा भन्दा यसकारण महँगो पर्छ नेपालमा सुन

बिहीबार, १२ भदौ २०७६, १२ : ५१
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– बिहीबार नेपाली बजारमा सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर ७३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

 एक महिनाको अन्तरालमा प्रतितोला सुन ८ हजार रुपैयाँले बढिसकेकेको छ । साउन १५ गते ६५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन भदौ १२ गतेसम्म आइपुग्दा ७३ हजार चारसय रुपैयाँ कायम भएको हो । बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँ पुगेको छ । 

किन बढिरहेको छ सुन ? 
अन्तर्राष्ट्रिय बजारमा नै अहिले सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सात डलरले बढेपछि नेपालमा पनि त्यसको असर परेको सुन चाँदी व्यवसायी महासँघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले रातोपाटीलाई बताए । 

भदौ १० गते सुन तोलामा ९ सय रुपैयाँले घटेको थियो । त्यतिबेला फ्रान्समा जी सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले अमेरिका–चीनको व्यापारिक समस्या समाधान गर्ने विषय बोलेका थिए भने त्यसको स्वागत चीनले गरेको थियो । यसले गर्दा सुनको मूल्यमा केही गिरावट आएको थियो । 

तर इरान–अमेरिकाबीचको तनाव, अमेरिका–चीनबीचको व्यापार युद्ध जस्ता समस्याको ठोस समाधानका लागि उपयोगी पहल भने कतैबाट चालिएको छैन । यसले गर्दा सुन अझै बढ्ने शाक्यको भनाइ छ । उनी भन्छन, ‘यदि सुन घट्यो भने पनि ७५ हजार पुगेपछि घट्ला तर धेरै घट्दैन ।’ 

अहिले सुन व्यवसायीहरु फुर्सदमा छन् भन्दा पनि हुन्छ । तीजमा सुनको माग ह्वात्तै बढ्नुपर्ने भएपनि महँगिएपछि माग आउनै छाडेको पूर्व अध्यक्ष शाक्य ले बताए । यो सिजनमा ३५ केजीसम्म सुनको माग हुने गरेको थियो तर अहिले ५ केजी पनि मुस्किलले बिक्री हुन्छ । अरु बेच्नेहरु बढेका छन् । 

यसकारण अन्तर्राष्ट्रिय बजारमा भन्दा महँगो पर्न जान्छ नेपालमा सुनको मूल्य
नेपालले सुन विदेशबाट आयात गर्नेगर्छ । विशेषगरी संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट सुन भित्र्याइन्छ । सुन ल्याउँदा त्यसको बिमा गरेर ल्याइएको हुन्छ । हराए वा चोरिएमा बिमाले जोखिम बहन गर्छ । बिमाका लागि केही शुल्क लाग्छ । 

अर्कोतर्फ सुन नेपाल भित्र्याउँदा भन्सार बिन्दुमा कर लाग्छ । बैंकले सुन ल्याउने भएकाले आधा प्रतिशत नाफा राखेर व्यवसायीहरुलाई बेच्छ । र, व्यवसायीले उपभोक्तालाई बेच्दा आधा प्रतिशत नाफा राख्न पाउँछन् । यसरी विभिन्न चरणमा लागेको शुल्क, भन्सार, बैंक र व्यवसायीले राख्ने नाफाको भार उपभोक्तालाई नै पर्छ  र उपभोक्ताले महँगोमा सुन किन्नुपर्ने हुन्छ । 

डलर, सुन, तेल र सेयर बजारको सम्बन्ध
डलरको भाउ बढ्दा इन्धनको मूल्य पनि बढ्छ । उर्जा लागतमा वृद्धि भएसँगै मुद्रास्फ्रिति (महंगी)  हुने हुनाले अर्थतन्त्रमा चाप पर्छ ।  उच्च मुद्रास्फ्रितिका कारण मानिसले सुनमा बढी लगानी गर्ने र शेयरमा कम लगानी गर्ने हुनाले शेयर बजार ओरालो लाग्छ ।

तेलको मूल्य बढ्दा ऊर्जाको लागत घट्छ । तेल आयात गर्दा कम डलर भुक्तान गर्नुपर्ने हुनाले उर्जा लागत घट्छ र राष्ट्रिय मुद्रा बलियो हुन्छ । जब डलरको मूल्य घट्छ, तब तेलको मूल्य पनि घट्छ । यसरी यी ४ बस्तु एकअर्कासँग सम्बन्धित रहेका छन् ।

 सामान्यतयाः एउटाको मूल्यमा आएको परिवर्तनले अर्को बस्तुको मूल्यमा प्रभाव पार्ने गर्दछ । तर, सुन र इन्धनबीच धनात्मक सम्बन्ध रहेको हुन्छ । अर्थात् तेलको मूल्य बढ्दा सुनको मूल्य पनि बढ्छ । सुन र सेयरबीच भने ऋणात्मक सम्बन्ध हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप