बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मारुनी’ले माया गर्‍यो भने दोस्रो अवश्य जन्मिन्छ – पुनम क्षत्री

बिहीबार, १२ भदौ २०७६, १० : ५६
बिहीबार, १२ भदौ २०७६

अन्तर्राष्ट्रिय फेसन डिजाइनर पुनम क्षत्री गौतमको पहिलो परिचय हो । फेसनका नयाँ क्रिएसनमार्फत् विश्वका २० भन्दा बढी मुलुकमा उनी चिनिएकी छन् । फेसनका कारणले विदेशका कैयौँ राष्ट्रमा चिनिन सफल उनको स्वदेश अर्थात् नेपालमा भने दुइटा परिचय छ । एक फेसन डिजाइन अर्काे फिल्म निर्माता ।
फेसन डिजाइनर उनको सुरुको परिचय हो । फिल्म निर्माताका रूपमा भने उनी करिब ५ वर्ष अगाडि देखापरेकी हुन् । त्यो पनि फिल्म ‘अझै पनि’ मार्फत । आलोक नेम्वाङको निर्देशन रहेको यो फिल्मले उनलाई चर्चा धेरै दिलाए पनि व्यावसायिक सफलता भने सकेन । सायद त्यसैले पनि होला उनी निर्माण फेरि फर्किन ५ वर्ष लाग्यो ।
तर उनी ‘अझै पनि’को व्यावसायिक असफलताले निर्माणमा ग्याप भएको मान्न तयार छैनन् । ‘अझै पनि’ निर्माणको समय  फाइनान्सर थिए । अहिले निर्माता भएर आए’ उनले भन्ने गरेकी छन्, ‘फाइनान्सरबाट निर्माता बन्न समय लाग्यो ।’ फाइनान्सर हुँदा फिल्मका बारेमा केही नजानेको बताउने उनी निर्माता बन्दा धेरै कुरामा जानकार भएको बताउँछिन् । उनी निर्माता भएर आएको फिल्म ‘मारुनी’ हो । ‘मारुनी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । नवल नेपाल निर्देशित यो फिल्मको अहिले चर्चा पनि छ । पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘मारुनी’ र फेसनको विषयमा केन्द्रित रहेर पुनम क्षत्री गौतमसँग गरिएको छोटो कुराकानी ।

के हो मारुनी ?
– मारुनी एउटा अस्तित्व अथावा बनावट हो । जसले जेलाई पनि मारुनीको रूपमा प्रस्तुत गर्न सक्छन् । मेरो फिल्मले मारुनीलाई कसरी देखाएको छ त ? भनेर सबै खोल्न मिल्दैन । किनभने त्यो खोल्यो भने फिल्म हेर्दाको मज्जा नै रहँदैन । फिल्म मारुनी एउटा सौन्दर्य र घटना विषयवस्तुका रूपमा प्रस्तुत गरिएको फिल्म हो । फिल्मभित्र धेरै घटना समेटिएका छन् ।

पहिलो फिल्म ‘अझै पनि’देखि ‘मारुनी’ निर्माणमा लामो ग्याप रह्यो नि किन ?
–‘अझै पनि’ निर्माणमा फिल्म उद्योगमा काम गर्ने इच्छाले होमिएको थिए । सो समय फिल्म निर्माण मेरो सपना थियो । त्यो पूरा गर्न पैसा लगाए । ‘मारुनी’मेकरको रूपमा निर्माण गरेको हो । सीधा शब्दमा भन्नुपर्दा सो समय म फाइनान्सर थिएँ । अहिले निर्माता भएकी छु । फाइनान्सरबाट निर्माता बन्न त समय लाग्छ नै । निर्माता बन्न पैसाले मात्र पुग्दैन । धेरै कुराको जानकारी हुनुपर्दाे रहेछ भन्ने मैले फिल गरेँ । आवश्यक सबै जानकारी हासिल गरेर निर्माताका रूपमा आएकी हुँ ।

पहिलो पेसा त फेसन डिजाइनर नै होइन र ?
–सानैदेखि मेरो क्रिएसनमा रुचि थियो । क्रिएसन मनपर्ने भएकाले डिजाइनिङ आफ्नो अध्ययनको विषय बनाए । डिजाइनिङ पढेपछि फेसन डिजाइनर बन्ने सोच पलायो । मेरो सोच र अध्ययन मिलेपछि फेसन डिजाइरका रूपमा आफूलाई अगाडि बढाए । फिल्म मेकिङ पनि सपना थियो । यो पूरा गर्न फिल्मतिर लागेँ । 

अहिले फेसन डिजाइनिङबाट ब्रेक लिनुभएको हो ?
– मेरो फेसनमा जहिले पनि मुलुकले प्राथमिकता पाउने गरेको छ । मैले विदेशका जति पनि देशमा फेसन सो गरेकी छु । मुलुकको केही न केही विषयले प्रथामिकता पाएकै छन् । 
म सबैभन्दा पहिले यो देशको नागरिक हुँ । त्यसैले मेरो विचारमा देशको नागरिक भएको नाताले सबैले पहिलो प्रथामिकतामा देशलाई दिनुपर्छ ।
लन्डन, अमेरिका, पेरिसलगायत विश्वका दर्जनभन्दा बढी राष्ट्र र चर्चित सहरहरुमा मैले जति पनि फेसन सो गरेकी छु । नेपाल चिनाएकै छु भन्ने लाग्छ । अब फिल्मबाट पनि चिनाउनु पर्छ भनेर फिल्मीतिर लागेकी हुँ ।

वर्तमान समयमा फिल्मले लगानी उठाउन गाह्रो छ नि ?
– अहिले समय टप स्थितिमा छ । बजार र मार्केटिङ सबैभन्दा गाह्रो विषय भएको छ । राम्रो विषयवस्तुलाई उचित प्रस्तुतिले सिँगारेर फिल्म बनाउन सक्यो र त्यहीअनुसार मार्केटिङ भयो भने चल्छ । यो मेरो बुझाइ हो ।
फिल्म चल्नु र नचल्नुमा त्यसको पूरै युनिटको हात हुन्छ । पहिलेभन्दा अहिले फिल्मको बजार राम्रो भएको मेरो बुझाइ हो । फिल्म राम्रो बन्यो भने रेकर्ड तोड कमाइ गर्छ ।
उदाहरण ‘छक्का पन्जा’ हो । फिल्म राम्रो बनाउनु सुटिङ लोकेसनले हुँदैन । छायाङ्कनमा जानु अगाडि विषयवस्तु, कलाकार र बजारको विषयमा वर्कआउट जरुरी छ ।

फिल्मको मुहूर्त फेसन सो स्टाइलले गर्नुभयो किन, के यो फेसन सोको विषयमा फिल्म हो ?
– कुनै पनि विषयमा अरूलाई लोभ्याउनु छ भने फरक तरिका अपनाउनु पर्छ नै । मैले पनि त्यही गरेकी थिए । म फेसन पेसामा आबद्ध भएकाले पनि सोही तरिका अपनाएर फिल्मको शुभमुहूर्त गरेको थिए ।
फेसनबाट मैले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रमाणित गरिसकेकी छु । कुन कन्टेन्टका लागि कुन बाटो रोज्नुपर्छ त्यसको ज्ञान छ ।
‘फस्ट इम्प्रेसन नै लास्ट इम्प्रेसन’ भन्ने मेरो बुझाइ पनि हो । यही सोचेर मैले मुहूर्तमा फरक प्रयोग गरेकी थिए । 

मारुनी कस्तो फिल्म ?
–पूरै रोमान्स, प्रेम, थ्रिलरलगायत विषयवस्तुले भरिएको  कमर्सियल फिल्म हो । यो फिल्मलाई हरेक दर्शकले आफ्नो फिल्म भन्न सक्छन् । नेपाली माटोको वासनाले भरिएको फिल्मभन्दा केही फरक पर्दैन ?

अबका दिनमा आफूलाई कसरी चिनाउनु चाहनुहुन्छ । फेसन डिजाइनर कि फिल्म निर्माता ?
– म को हुँ, के हुँ भनेर कहिल्यै चिनाउँदिन । मलाई चिनाउने भनेको मेरो कामले हो । मैले मेरो प्रोडक्ट चिनाउनेभन्दा पनि प्रोडक्टले मलाई चिनाएको मनपर्छ ।
मैले फेसनका नयाँ नयाँ डिजाइन प्रस्तुत गर्दा उसले पनि मलाई चिनाइरहेको हुन्छ । यो फलानोको क्रिएसन भनेर । फिल्म निर्माणमा पनि यो फिल्मका निर्माता पुनम भनेर चिनिन चाहन्छु । 

फेसन डिजाइनरको फिल्म प्रदर्शनमा आउँदै गर्दा त्यो फिल्मबाट फेसनको नयाँ जानकारी मिल्छ भन्ने सोच राख्नु गलत नहोला नि ?
– निश्चय नै । मारुनीमा पनि फरक देख्न सक्नुहुनेछ । यसको अनुमान हामीले प्रचारका लागि सार्वजनिक गरेका गीत र ट्रेलरबाट गर्न सकिन्छ । फिल्म पूरै हेरेपछि सबै कुरो थाहा हुन्छ । 

प्रचारको पाटो कस्तो छ ?
–बजारमा जे चलेको छ । हामीले पनि त्यसको फलो गर्ने हो । हामी भिन्न गर्छाैं भन्न सकिँदैन । किनभने हामी भगवान पनि होइनौँ । केही फरक गरेर देखाउने केसिस भने छ । अहिलेका मेकरले आफ्नो फिल्म प्रचार जुन तरिकाले गरिरहेका छन् मैले पनि त्यस्तै गरे ।

नयाँ फिल्मको सोच छ कि छैन ?
– म एउटी नेपाली नारी हुँ । ममा नारी सशक्तीकरण धेरै छ । मेरो दायित्व पनि धेरै छन् । मैले सबैभन्दा पहिले घर बिर्सनु हँुदैन । फिल्म बनाउनका लागि धेरै पैसा लाग्छ । ‘मारुनी’ले मलाई माया गर्यो भने दोस्रो मारुनी अवश्य जन्मन्छ । 

विदेशमै बसेर फेसन डिजाइन गर्ने थुप्रै अफर पनि थियो रे, किन स्वदेश नै प्यारो लाग्यो ?
– अफर थिए, अहिले पनि छन् । तर स्वदेश जस्तो विदेश कहिल्यै लागेन । कामको हिसाबले पनि यहाँ जस्तो सजिलो छैन विदेशमा । मैले धेरै मुलुक घुमेर यो बुझिसकेँ ।
विदेशका धेरै देश घुम्दा त्यहाँ रहेका नेपाली दाजुभाइको असन्तुष्टि पनि देखेकी छु । अर्काे कुरो म राष्ट्रप्रेमी छोरी हुँ । राष्ट्रले मलाई नाम, खान र बस्न दिएको छ । यसलाई किन छोड्ने । देश प्रेमको मायाले विदेशमा रमाउने रहर कहिल्यै लागेन ।

नेपालमा फेसन सोका विषयमा फिल्म बनाउन सकिन्छ त ?
– फेसन भनेको एउटा अस्तित्व हो । फेसनले तपाईंको व्यक्तित्वको मूल्याङ्कन गरिरहेको हुन्छ । ‘मारुनी’ पनि त्यही हो । यो निकै राम्रो र नेपाली परिवेशको जनराको फिल्म बनाएकी छु । अब बनाउने फिल्मको विषयवस्तु राम्रो पाए भने फेसन सोलाई पनि आबद्ध गराउँछु ।

फिल्मको लगानी कति पुग्यो ?
– मैले मारुनी मानिसका रूपमा लिएकी छु । मारुनीले मलाई खर्च गर भन्यो भने खर्च गर्ने हो । मलाई यो ठाउँमा सुटिङ गर, यो विषयमा खर्च भन्यो भने गर्ने हो । यी सबै कुरा पूरा गर्दै गर्दै अहिले म अन्तिमतिर आइरहेकी छु । कति पुग्यो अहिले गणना गरेकी छैन । जति नै पुगे पनि फिल्ममा भएको क्वालिटीले सन्तुष्टि मिलेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप