शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गरिनुपर्छः मन्त्री विष्ट

बुधबार, ११ भदौ २०७६, १८ : ०२
बुधबार, ११ भदौ २०७६

काठमाडौं – उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहत् राष्ट्रिय संवादको आयोजना गरिएको छ । 

युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको सो कार्यक्रममा युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गरिने छ ।

कार्यक्रमले सिर्जनाशीलता र उद्यमशीलतामार्फत दिगो विकासका लक्ष्य प्राप्तीमा योगदान गर्न अभिप्रेरित गर्ने आयोनले जनाएको छ । संवाद कार्यक्रममा सातै प्रदेशबाट चयन भएका ३०० बढी युवा उद्यमी सहभागी भएका छन् । 

कार्यक्रममा प्रत्येक प्रदेशबाट छनोट भएर आएका १० युवा उद्यमीका समूहले आआफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिनेछन् । कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।

संवाद कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए । 

मुलुकको सर्वाङ्गीण विकास र सामाजिक कार्यमा युवा परिचालन हुनुपर्ने उल्लेख गर्दै उनले युवा सशक्तीकरण भएमात्र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने बताए ।

‘कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता छ’, विकासमा युवाको सहभागिता विश्वासिलो हुनुपर्नेमा जोड दिँदै उनले भने। 

वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्र्दै उहाँले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताए । 

उनले व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुने गरी उद्यमशीलता बढाउन आवश्यक भएको बताए । ‘उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ’, उनले भने, ‘उद्यमशीलताले समाज बदल्नुपर्छ ।’ 

आयोन ४४ जिल्लाका ९२ युवा संस्थाका छाता सङ्गठन हो । सन् २००५ मा स्थापना भएको यस संस्थाले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धानलगायत कार्य सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप