केन्द्रीय संस्करण

चितवनको ‘जनसमर्थन’ले उब्जाएका केही प्रश्न

person explore access_timeभदौ ११, २०७६ chat_bubble_outline8

आत्महत्याको दुरुत्साहनको अभियोग लागेर हाल धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामेछानेको समर्थनमा चितवनमा भएको प्रदर्शनबारे केही विश्लेषण गर्नु जरुरी भएको छ । सामाजिक सञ्जाल, टीभी, अनलाइन पत्रिकामा यतिका दिनसम्म चर्चा गरिएको विषयमा विश्लेषण गर्नु अप्रसाङ्गिक नहोला ।

चितवन प्रदर्शनको धेरै पक्षहरूमध्ये गम्भीर प्रकारले लुकेको तर सत्य एउटा पक्ष छ । त्यो हो, गणतन्त्रविरुद्ध व्यापक नारा लाग्नु । राजतन्त्रको वकालत गर्ने व्यक्तिहरू हाबी हुनु । एउटा टेलिभिजनकर्मी गणतन्त्रको विरुद्ध प्रयोग हुनु दुःखद् छ । यही गणतन्त्र ल्याउनका लागि सयौँ टेलिभिजन पत्रकारहरूको ठूलो योगदान रहेको छ । सयौँ पत्रकारहरूले गणतन्त्रका लागि जेलनेल, हिरासत भोगेका छन् । ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिँदा सम्पादकको कक्षमा गएर सेनाले हस्तक्षेप गरेको थियो । कैयौँ पत्रकारहरू मारिएका, बेपत्ता पारिएका, गिरफ्तार गरिएका थिए । तर दुःखका साथ भन्नुपर्छ, आज रवि लामिछानेको आडमा, उनी  चर्चित भएको बहानामा उनलाई गणतन्त्रका विरुद्ध प्रयोग गरेर, प्रयोग भएर राजतन्त्रका नारा लागेका छन् । यो पूरापूर प्रतिगामी दृश्य हो । ती दृश्यलाई रवि लामिछानेले मौन समर्थन गरेका छन् ।

आपराधिक तुलना

चितवनको जुलुसलाई धेरै मान्छेले निर्मला पन्तको लागि गरिएको जुलुससँग तुलना गरेका छन् । यो तल्लो स्तरको तुलना हो । एउटी बलात्कारपछि हत्या गरिएकी बालिकाको न्यायको पक्षमा काठमाडौँलगायत देशभर उर्लिएको जनसागर थियो । तर अहिलेको भीड आत्महत्याको दुरुत्साहन गरेको अभियोग लागेका व्यक्तिका पक्षमा देखिएको भीड हो । न्यायको लागि होइन, न्यायलाई विथोल्नका लागि, न्यायिक प्रक्रियालाई गिजोल्नका लागि जम्मा भएको भीड हो । जुन भीडले अदालती प्रक्रियाहरूलाई अस्वीकार गरेको थियो । रवि लामिछानेलाई फौजदारी अभियोग लागेको थियो । करिब १० दिनसम्म अदालतको  अनुमतिमा त्यो विषय प्रहरीसँग मात्रै थियो, अदालतमा बहस र छलफलमा गएकै थिएन । फौजदारी अभियोग लागेको मान्छेको पक्षमा भएको प्रदर्शन र निर्मलाको न्यायको पक्षमा उर्लिएको जनमतलाई तुलना गर्नु जत्तिको पाखण्ड अर्काे हुनै सक्दैन । रवि लामिछानेलाई प्रहरीले अन्याय गरेको हो भने जिल्ला अदालत थियो, जिल्ला अदालतले न्याय दिन सकेन भने उच्च अदालत छ र उच्च अदालतले पनि न्याय दिन सकेन भने सर्वाेच्च अदालत छ । तर त्यो भीडले सडकबाटै न्यायको उद्घोष गरेर ती सारा न्यायिक प्रक्रियाहरूमाथि धावा बोलको छ । त्यो भीडले घटनाको स्वतन्त्रतापूर्वक छानविन गर भनेर पनि भन्न सकेन ।

टेलिभिजनको दुरुपयोग

फेसबुको दुरुपयोगको कारण त धेरैको इहलीला समाप्त भएको छ । जतिसुकै तर्क वा कुतर्क अगाडि सारिए पनि शालिकराम पुडासैनीको आत्महत्या टेलिभिजनको दुरुपयोगको कारण भएको हो । टेलिभिजन र फेसबुकको कुन हदसम्म दुरुपयोग भयो भन्ने कुरा छानविनले बताउने कुरा हो । तर म के कुरामा निश्चित छु भने कुनै व्यक्तिको व्यक्तिगत घटनालाई टेलिभिजनबाट दुरुपयोग गरिनु वा दुरूपयोगको प्रयास गरिनु निन्दनीय छ ।

अहिले फेसबुकमा राम्रा मात्र हैन, नराम्रा पक्षहरु पनि हावी भएर आएको छ  रुकु कार्की, रवि लामिछाने र युवराज कँडेलले व्यक्तिगत इगोलाई सञ्चार माध्यमको प्रयोग गरी तमासा देखाइदिन सक्नेसम्मको हर्कत गरेपछि शालिकराम पुडासैनीले आफ्नो इहलिला समाप्त पारेको हुन सक्ने सम्भावना जीवितै छ । प्रकाशित जानकारीहरु सत्य हुन् भने रुकु कार्कीले आफ्नै दाइलाई घटनाबारे कुनै कुरा नगरी सीधै टेलिभिजनबाट देखाइदिने धम्की दिएपछि, त्यो धम्कीलाई टेलिभिजनबाट प्रसारण गर्ने सम्भावना भएपछि नै शालिकराम पुडासैनीले आत्महत्या गरेको हुन सक्ने बलियो सम्भावना छ, यो बारेमा सम्मानित आदालतबाट निरुपण हुने नै छ । तर अहिलेलाई त्यो सम्भावनाको कोणलाई सत्य मानने हो भने र त्यस आधारमा विवेचना गर्दा  आत्महत्याको लागि पुडासैनी, कार्की, कँडेल र लामिछाने सबै कुनै न कुनै रूपमा दोषी छन् भन्ने देखिन आउँछ । आत्महत्या गरेको कारणले शालिकराम दोषी नै छैनन् भन्नु पनि सही हुँदैन । रुकुले आफ्नै दाइलाई कुनै कुरा नभन्नु तर टेलिभिजनको धाक लगाउँदा कुनै न कुनै घटना त घट्थ्यो नै । अर्थात् कि पुडासैनीले गलत हर्कत गरेको भए टेलिभिजनबाट देखाइन्थ्यो वा उनलाई फसाइन्थ्यो । जे भए पनि यी छिपेका दृश्य भए ।

असुरक्षाको नाटक

रवि लामिछानेले हिरासतमा रहँदा आफू असुरक्षित भएको नाटक गरे । देशमा त्यति ठूलो चर्चा भइसकेपछि कुनै पनि व्यक्ति हिरासतमा असुरक्षित हुने कल्पना गरिँदैन । प्रजातन्त्रका लागि १४ वर्ष जेल बसेका, कालो कोठरी व्यहोरेका, पञ्चायती शासन व्यहोरेका नेताहरू सयौँ गुना असुरक्षित थिए । जनताकै मुक्तिका लागि राजनीतिक उद्देश्यसहित लडिरहेका विप्लवका कार्यकर्ता असुरक्षित छन् । उनीहरूलाई बलजफ्ती गिरफ्तार गरेर कुनै अभियोगविना दुःख दिइएको छ । तर रवि लामिछानेले तिनै कार्यकर्ताहरूका विरुद्ध आफ्नो कार्यक्रममार्फत् विष बमन गरिरहेका देखिन्छन् । प्रचण्डले आफू असुरक्षित छु भन्ने अभिव्यक्ति दिएपछि प्रचण्ड मरे पनि केही फरक पर्नेवाला छैन भन्ने आशय आउने कार्यक्रम टेलिभिजन कार्यक्रममार्फत् प्रसारण गरेका थिए । रवि लामिछानेको ज्यान चाहिँ ज्यान हुने, विप्लवका कार्यकर्ताको ज्यान चाहिँ गड्यौलाको ज्यान हो ? रवि लामिछाने एउटा अभियुक्त थिए र हुन् । उनका विरुद्ध किटानी जाहेरी परेको थियो । त्यसैले उनी कानूनी कारवाहीकै क्रममा हिरासतमा थिए । उनलाई कसैले जालझेल, षड्यन्त्र गरेर हिरासतमा लिएको पनि होइन । मृत्यु भएका शालिकराम पुडासैनीका परिवारले किटानी जाहेरी दिएपछि नै प्रहरीले पक्रेको थियो । यो विद्यमान सामाजिक राजनीतिक व्यवस्थाअन्तर्गतको एउटा सामान्य न्यायिक प्रक्रिया थियो ।

तर सुरक्षित र सम्मानका साथ हिरासतमा राखिएका व्यक्तिले आफू असुरक्षित भएको नाटक रच्नु र सोहीअनुसारको सन्देश जनमानसमा प्रवाह गर्नु आफैमा नमिल्ने कुरा थियो । त्यो निकृष्ट नाटकका बारेमा उनका वकिलहरू पनि केही नबोल्नु उदेकलाग्दो छ ।  रवि लामिछानेको आडमा चर्चा कमाउनका लागि गर्न सक्ने जति सबै हर्कत सबैले गरेका थिए, गरिएकै थियो ।

किन लागे गणतन्त्रको विरुद्धमा नारा ?

रवि लामिछानेलाई आत्महत्या दुरुत्साहनको मुद्दामा हिरासतमा लिइएपछि चितवनमा उनलाई छोड्नुपर्ने भन्दै आन्दोलन भयो । कतिपयले विगतमा रवि लामिछानेले गरेका असल कर्मका आधारमा त्यो आन्दोलनमा सहभागी भएका थिए । तर त्यो आन्दोलन उनलाई छोड्नुपर्ने आन्दोलन मात्रै थिएन । पानी धमिल्याएर माछा मार्ने कथालाई दोहोर्याउँदै त्यहाँ राजावादीहरूको पनि व्यापक घुसपैठ भएको थियो । फलतः त्यो आन्दोलनमा गणतन्त्रका विरुद्ध नाराहरू लागे । राजा आउ, देश बचाउ भन्ने नारा घन्काए । रवि लामिछाने थुनामै भएको अवस्थामा ती कार्यक्रममा बोल्ने केही वक्ताहरूले गणतन्त्रका विरुद्ध विष बमन गरे ।

चितवनमा जुन सभा गरिएको छ, त्यो सभा गर्न पाउने अधिकारका लागि राजनीतिक दलले ७० वर्षदेखि लडाइँ लडेका छन् । विडम्बना त यो छ कि जुन सभामा रविले भाषण गरिरहेका थिए, त्यही सभाको बीचबीचमा गणतन्त्रको विरुद्ध राजतन्त्रको नारा लागेको छ । तिनै राजाले राजनीतिक दलले सभा, सम्मेलन, आन्दोलन गर्न नपाउने घोषणा गरेका थिए । उनले ५ जना भन्दा धेरै जम्मा भएमा गिरफ्तार गरेर हिरासतमा पुर्याउँथे । आज त्यति धेरै मान्छे जम्मा भएको सभामा अवसान भइसकेको राजतन्त्रको नारा लाग्नु दुःखद् छ । त्यो दुःखद् दृश्यको रवि मौन समर्थक हुन् । त्यहाँ उनले त्यो नारा नलगाउन भनेनन् । त्यसबाट के प्रतीत हुन्छ भने रवि लामिछानेलाई पनि प्रतिगामीहरूदेखि अराजकहरू, भीडतन्त्रमा रमाउने मान्छे जम्मा गराएर चर्चित हुनु छ । उनको ग्रन्थिमा चर्चित हुनुबाहेक अरू कुनै उद्देश्य छैन । चर्चित हुनका लागि केही न केही त कर्म गर्नैपर्छ । त्यसका लागि राजा चाहियो भन्नेदेखि गणतन्त्रका विरोधीहरूको साथ लिएका छन् । चितवनको त्यो सभामा सबै गणतन्त्रविरोधीहरू मात्रै थिए भन्न खोजिएको होइन । त्यहाँ गणतन्त्रवादीहरू पनि त्यत्तिकै गएका थिए । त्यस प्रकारका सभाहरूमा धेरै प्रकारका मान्छे जाने गर्छन् । जुन अन्यथा होइन ।

रवि लामिछानेको अर्काे उद्देश्य गणतन्त्रप्रति घृणा फैलाएर प्रतिगामीहरूलार्ई सहयोग गर्नु हो भन्ने सन्देश त्यसबाट गएको छ । त्यसका लागि उनका ससुरा सम्मिलित पार्टीको सहयोग रहेको प्रस्टै देखियो । त्यहाँ राप्रपाका मान्छेहरूबाहेक अरूले गणतन्त्रका विरुद्ध नारा लगाउन सक्ने कुरै थिएन ।

‘अन्धसमर्थक’हरूको हर्कत

यो कुराको सुरु गरौँ मेरो बुबाबाटै । उहाँ साक्षर हुनुहुन्छ । ६ वर्षपहिले दसैँ पूर्णिमाको दिन काँग्रेसहरूले हाम्रो राजनीतिक कार्यक्रमपछि मलगायत साथीहरूमाथि भीरमा साङ्घातिक हमला गरे । हामी घाइते भयौँ । अस्पताल २५ किलोमिटर टाढा थियो भने प्रहरी चौकी १२ किलोमिटर टाढा थियो । घाइते हामीहरूलाई गाडीमा राति नै अस्पताल लगियो । हामीलाई अस्पताल लग्नेबेलामा बुबाले भन्नुभयो, सुरुमै प्रहरीलाई रिपोर्ट गर्नु, अस्पताल गएर घाउ जाँच गर्नु । पछि ज्यानै गयो भने के गर्ने ? घटना भएको दुई दिनपछि ६ जनालाई प्रहरीले हिरासतमा लियो । उहाँले भन्नुभयो कि अब हामी किन कराउने ? जे गर्छ कानुनले गर्छ । तिनीहरू हिरासतमा जानु भनेको कानुनमा जानु हो । मेरो साक्षर बुबामा पनि यति ठूलो कानुनी चेतना छ । तर रवि लामिछानेका समर्थकहरूको हर्कत हेर्ने हो भने यहाँ उल्लेख गर्न लायकसमेत छैन ।

रवि लामिछानेका धेरै समर्थकहरूलाई मोबाइल चलाउन आउँछ, पढ्न लेख्न पनि आउँछ । धेरै त पढेलेखेका, विदेश गएका पनि छन् । तर तिनीहरूलाई मेरा साक्षर बुबालाई जत्तिको पनि जानकारी रहेनछ । तिनीहरू पूरापूर भेडाको रूपमा प्रस्तुत भएका थिए । रवि लामिछानेमाथि कुनै छानविन नै गर्न नपाइने भन्दै नाराबाजी समेत भए । रवि लामिछानेलाई छानविन गर्न दिऊँ न त भन्नेहरू सबैमाथि फेसबुक, ट्विटर र युट्युबबाट रवि लामिछानेका समर्थकहरु आक्रमणमा उत्रिए । घटनाको वस्तुस्थितिलाई राम्ररी बुझ्न नसकेका वा बुझिनसकेकालाई भड्काउनका लागि जुन हदसम्मका हर्कत गर्न सकिन्थ्यो, रवि लामिछानेका समर्थकहरूले ती सबै हर्कतहरू गरेका छन् ।

जसले फेसबुक, युट्युबमा हेरेको भरमा छानविन गर्नै पाइँदैन भनेर नाराबाजी गर्छ, त्यो मान्छेको रूप भएको भेडो हो भन्ने कुरामा दुई मत हुनै सक्दैन । त्यस्ता भेडाहरूले समाजलाई निश्चित रूपमा दुःख दिन्छन् । तिनीहरूले आतङ्क फैलाउँछन् ।

रवि लामिछाने, फेसबुक र युट्युबबाहेक सबै अन्धकार

अन्ततः फेसबुक र युट्युबले जे सिकाएको थियो, चितवनमा त्यही भयो । संसारमा जे सिकिन्छ, जे सिकाइन्छ, त्यही हुन्छ । फेसबुक र युट्युबले नेपाली जनतालाई धेरै ठूलो नकारात्मक पाठ पढाइरहेको छ । भए नभएका कुराहरूलाई प्रचार गरिएको छ । नेपाली जनतालाई अहिले फेसबुक, युट्युब र न्युज २४ ले न्याय दिइरहेका छन् । मानौँ चितवनमा जम्मा भएका जनतालाई संसद्, सरकार, अदालत केही चाहिएकै छैन । तिनीहरूलाई तीनवटा कुरा भए पुगेको छ । एक, रवि लामिछाने, दुई, फेसबुक, तीन युट्युब । त्यति भएपछि तिनीहरूलाई संसार जितेको महसुस भएको छ । रवि लामिछाने, फेसबुक र युट्युब तिनीहरूको जीवन जिउने साधन बनेका छन् ।

तिनीहरूलाई साँझ आफ्नो ओछ्यानमा आएर एकछिन सोच्ने फुर्सद छैन । त्यो किन पनि छैन भने त्यहाँ जम्मा भएका धेरैको हातमा मोबाइल छ, त्यही मोबाइल हेरेर आफ्नो निद्रा भन्दा अगाडिको समय विताउँछन् । जब तिनीहरू उठ्छन्, फेरि फेसुबुक, युट्युब र रवि लामिछानेलाई हेरिरहेका छन् । त्यसैले तिनीहरूको दिमाग अन्त कहीँकतै गएकै छैन ।

यो देशमा राम्रा मान्छेहरू छन्, केही भए पनि न्याय पनि छ, केही भए पनि सुशासन छ, केही भए पनि विकास भएको छ भन्ने कुरा तिनीहरूको दिमागमा छैन । तिनीहरूले रवि लामिछाने, फेसबुक र युट्युबबाहेक अरू सबै अन्धकार देखिरहेका छन् ।

त्यहाँ जम्मा भएका सबै होइन, तीमध्ये धेरैलाई फेसबुक र युट्युबले बिरामी पारिसकेको छ । तिनीहरूको सोच्न सक्ने क्षमता समाप्त भइसकेको छ । तिनीहरूले घर, परिवार, समाज, विकास, पद्धति साराका सार भुलेका छन् । तिनीहरूको दिमागमा फेरि पनि माथि उल्लेख गरिएका तीन चीज छन् ।

घृणाको निकृष्ट रूप

रवि लामिछानेको समर्थनमा जानुमा कुनै समस्या छैन । जान सक्छन् । त्यो स्वतन्त्रताको उपयोग गर्न सबै स्वतन्त्र छन् । रविलाई चितवनको मञ्चमा उभिएर भाषण गर्ने बनाउनका लागि अहिलेका नेताहरू शेरबहादुर देउवादेखि, माधव नेपालसम्म सयौँ नेताकार्यकर्ताले रगत, पसिना मात्रै बगाएका छैनन् कि सिङ्गो जीवनको आहूति दिएका छन् । तर त्यो सभामा ती नेताहरू घृणाको पात्र बनाइए । तर रवि लामिछानेलाई पनि परिस्थिति आउँदा उनले सिकाएको घृणा तिनैमाथि प्रहार हुने दिन आउन सक्छ ।

रविले सबै काम गलत गरेका छन् भन्ने होइन । उनले राम्रा राम्रा कामहरु पनि गरेका छन् । ती राम्रा कामहरु गर्नेक्रममै उनले कतिपय अवस्थामा विद्यमान ऐन, कानून र नियमलाई समेत वेवास्ता गर्ने गरेको आरोप लाग्छे गरेको छ । अहिले उनले फेरि पनि देशमा घृणा, घृणा र फेरि पनि घृणा फैलाएका छन् । गणतन्त्रप्रति घृणा फैलाएर सुशासन कायम हुन सक्दैन । यदि घृणालाई नै आदर्श मान्ने हो भने त यो देश बस्न लायक हुने छैन ।

रवि लामिछानेले नेपाली जनताको कमजोर चेतनास्तरबाट धेरै नै फाइदा लिएका छन् । यो कुरा उनमा मात्रै लागू हुँदैन । राजनीतिक दलले पनि जनताको कमजोर चेतनास्तरबाट धेरै फाइदा लिएका छन् । १४ वर्ष जेल बसेका केपी शर्मा ओली तुच्छ, अनि रवि लामिछाने महान् हुनै सक्दैनन् । जिन्दगीलाई दाउमा राखेर मर्न तयार भएको मान्छे र मलाई यो देश चाहिँदैन भनेर देशको नागरिकता त्यागेर अमेरिका पुगेर पुनः गल्ती गरेँ नागरिकता लिएर काम गर्छु भन्ने मान्छेको एउटै मूल्याङ्कन गर्नु कुनै पनि हालतमा सही सक्दैन ।

रविको राजनीति

रविले राजनीतिमा आउने सङ्केत दिएका छन् । त्यो उनको व्यक्तिगत निर्णयमा आपत्ति जनाउनुपर्ने केही छैन । तर राजनीति गर्न सङ्गठन चाहिन्छ, सङ्गठनमा बसेपछि सामूहिक अनुशासन चाहिन्छ । सबैलाई एउटै अनुशासन लागू हुन्छ । सङ्गठन चलाउन पद्धति चाहिन्छ । दुःख र हण्डर धेरै खानुपर्छ । न्यूज २४ मा जस्तै भटाभट तलब आइरहन्न । चन्दा उठाउनुपर्छ । रवि लामिछानेले चन्दा उठाउने दलहरूलाई निकृष्ट गालीगलौज गर्ने गरेका छन् । उनको पार्टी चन्दा नउठाई चल्ने कुरा भएन । चन्दा उठाउनका लागि उनको इथिक्सले दिँदैन । एकातिर चन्दा उठाएको विरोध गर्ने, अर्कातिर चन्दा उठाएर अस्पताल बनाउने गर्नु उनको आफ्नै नैतिकताले दिने कुरा होइन ।

राजनीति गर्न विचार, सिद्धान्त, सङ्गठनात्मक पद्धति, सङ्गठनलगायत धेरै चिज चाहिन्छ । टेलिभिजनमा बसेर गाली गरेजस्तो सजिलो हुँदैन । उनले चाहेको राजतन्त्र हो कि गणतन्त्र हो ? त्यो पनि प्रष्ट छैन । उनको धन्यवाद सभामा राजतन्त्रको नारा लागेको छ । उनले त्यो नाराका बारेमा केही बताएका छैनन् । उनी गणतन्त्रवादी थिए भने त्यो नाराको खण्डन गर्नुपथ्र्यो । तर उनले त्यसो गर्न सकेनन् । त्यसैले उनको गणतन्त्रप्रतिको प्रतिबद्धता, विचार र दृष्टिकोण शङ्कास्पद छन् ।

जे भए पनि उनी राजनीतिमा आउन स्वतन्त्र छन् । जुनसुकै उद्देश्य लिएर आए पनि राजनीतिमा आउन पाइन्छ । त्यो स्वतन्त्रता रवि लामिछानेले उपयोग गर्न पाउँछन् । यसभन्दा पहिले पनि धेरै कलाकार, पत्रकार र अन्य पेसाका व्यक्तिहरू राजनीतिमा आएको हुनाले उनी पनि आउन सक्ने सम्भावना उनले आफै व्यक्त गरेको हुनाले यस बारेमा अहिले नै केही विश्लेषण गर्नु आवश्यक छैन ।

(लेखक नेकपा मसाल सम्बद्ध विद्यार्थी नेता हुनुहुन्छ । लेखमा व्यक्त विचार लेखकका निजी विचार हो ।)

कमेन्ट

  1. Aug. 30, 2019, 5:58 a.m. भगवान घिमिरे
    यो लेख अत्यन्तै पूर्वाग्रही र रबि लामिछानेको पपुलारिटी देखि अत्तालिएर लेखिएको छ र रातोपाटिमा यसले स्थान पाएको देख्दा छक्क परें म। कुन पार्टीको भरौटे हौ यो लेख्ने? रविले सभामा र पत्रकार सम्मेलनमा बोलेको कुरा फेरी एकचोटी सुन उनले हिरासत भित्रै हुँदा,पत्रकार सम्मेलनमा र आमसभा समेत आफुले अनुसन्धानमा सघाउने नियम कानुनको सम्मान गर्ने बताइरहेका थिए। पटकपटक आफ्ना समर्थक हरुलाई उछ्रींखल नहुन र संयमित रहन आग्रह गरिरहेका थिए। राजनीतिमा आउने संकेत बाटै यति साह्रो आत्तिनु पर्दैन तिमि पनि यसैगरी समर्थन जुटाउ। भेडो त तिमि हौ जो तिम्रा नेताहरुको अन्ध भक्त हौ। रबि लामिछानेलाइ समर्थन गर्नेहरु कुनै राजनीति बाट प्रेरित नभई बिशुद्द स्वतन्त्र युवा हुन् ख्याल गर। हजारौंको भिडमा एकदुईजनाले राजतन्त्रको नारा लगाए भन्दैमा रविलाई राजाबादी भन्नु तिमि आफैंलाई आफु र गणतन्त्र प्रति भरोसा नहुनु हो। फेसबुक र युट्युब चलाउने संसारमा कति छन् महोदय हेक्का छ ? राजनीतिको अन्धभक्त भएर सोच्यो भने स्वतन्त्र मान्छेलाई भेडा नै देखिन्छ। थाहा छ कि छैन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले यहि सोसल मिडियाको माध्यमले गर्दा नै राष्ट्रपतिको निर्वाचन जितेका थिए। सोशल मिडियाको कत्तिको पावर हुन्छ भन्ने यहीं बाट थाहा हुन्छ।
  2.  0 Reply
  3. Aug. 28, 2019, 8:03 p.m. Arjun Thapa
    गणतन्त्र ल्याउँदैमा कायापलट भयो के ? राजा हुँदा बरु एक्लैले खान्थ्यो, अहिले दुनिया पालेर, पालेर मात्र नभएर देशको सम्पत्तीमा रजाईं गरेर देश दिनदिनै खोक्रो हुँदैछ ! राज्यका जनताले कर तिरे वापत शान्ति संग बाँच्न पाउँछन्, राज्यको सुबिधा भोग गर्न पाउँछन, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी राज्यले लिन्छ, विकासको लहर छाउँछ भने राणा शाशन फर्केर आएपनि आपत्ती हुँदैन । आयो रबिको कुरा, यो सब आफुलाई ठूला बिद्वान र पुरानो पत्रकार भन्ने, समाचार लेख्न जाँगर नगर्ने, कार्यक्रममा मुख देखाएर खाजा खाएर फर्कने मै हुँ भन्ने पत्रकारलाई डाह लागेको हो । राजतन्त्रको नाराको बिषयमा कुरा गर्नुपर्दा ति त्यस्ता ब्याक्तिले भीडको फाइदा उठाएका हुन् । रविले मौन समर्थन गरेका छैनन् । विद्वान लेखक ज्यू !
  4.  0 Reply
  5. Aug. 28, 2019, 7:05 p.m. Shiva kharel
    Thuikka ghatiya lekhera k paisa jabaki taile lekheko ya kasaile sunne wala xaina pasu afu ni kei gardainas aru le ni gareko herna sakdainas?
  6.  0 Reply
  7. Aug. 28, 2019, 6:23 p.m. Krishna
    Malai yo lekh nikai man paryo hamro nepali samajko nimna chetana istar ra virtual life le pareko asarko ramro bislesan garieko chha.lekh man pardaima rabi mero birodhi chai huna sakdaina
  8.  0 Reply
  9. Aug. 28, 2019, 4:50 p.m. सुरेश भट्टराई
    कालो गणतन्त्र लाई बिदा गर्न बेला भै सकेको छ यो कालो दलाली गणतन्त्र को औकात देखि सके नेपाली जनताले गणतन्त्र ले जनता र देशको भलो गरेको देखिएन नेता र कर्यकर्ता पोसेको मत्र देखिन्छ त्यसैले अब यो हजारौं को हत्या गरेर देश लुट्नु लाई तोपरिएको कालो गणतन्त्र चाहिन्न
  10.  0 Reply
  11. Aug. 28, 2019, 2:51 p.m. Ratna Poudel
    Sala kukur, kati daha garchas arka ko pragati dekhera.. himmat cha bhane yesto tori laure lekh lekhnu ko satta yeso rabi le kaam gareko jasto garera dekha.. aja dekhin ratopati blocked mero tarfa bata..
  12.  0 Reply
  13. Aug. 28, 2019, 2:08 p.m. Aibhan
    था रैछ है तलाई
  14.  0 Reply
  15. Aug. 28, 2019, 1:48 p.m. SB
    Nepal ka Communist Neta Raja bhanda Bilasi chhan ra Garib Janta lai ganatanra Badar ko hatma coconut Jastai ho .
  16.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...