बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राजकिशोरले बोलाए बैठक, राजेन्द्र महतोलगायतले दिए बहिस्कारको चेतावनी

बुधबार, ११ भदौ २०७६, १३ : २४
बुधबार, ११ भदौ २०७६

काठमाडौँ –समाजवादी पार्टीसँग एकता गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । 

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले भदौ १३ र १४ गतेका लागि बैठक बोलाएका हुन् ।  बैठकमा पार्टी एकता, महाधिवेशन लगायतका विषयमा छलफल हुने सो पार्टीका सचिव संजय यादवले बताए । राजनीति समितिमा रहेका २७ जनालाई बैठकको बारेमा जानकारी गराइसकिएको छ ।

तर राजेन्द्र महताेलगायतका एक समूहले बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ । पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले अध्यक्षमण्डलसँग छलफल नै नगरि बैठक बोलाइएको भन्दै आफूहरुले  बहिष्कार गर्ने बताए । उनले भने, ‘अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले पार्टीमा गुटबन्दी गर्नका लागि बैठक बोलाउनु भएको छ, यो बैठक हुँदैन ।’

समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भनि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह  भण्डारी लागिपरेका छन् । उनीहरु समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छललफल गर्दै आएका छन् । 

तर अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुर र अनिल कुमार झा पार्टीको महाधिवेशनपछि एकीकरण गर्ने अडानमा रहेका छन् । अध्यक्षमण्डलका संयोजक यादवले आफू एकीकरणको विपक्षमा नरहेको तर एउटा प्रकृयाबाट हुनुपर्ने पक्षमा रहेको कुरा पटकपटक भन्दै आएका छन् । 

उनले भने, ‘राजपा नेपाल नै संगठित भएको छैन भने अन्य कुनै दलसँग एकीकरण के आधारमा कसरी गर्ने त ? त्यसलै मैले पहिला महाधिवेशन गरेर पार्टीलाई व्यवस्थित गरेर एकीकरण गर्दा राम्रो हुने भन्दै आइरहेको छु ।’

तर महेन्द्र राय यादवले पार्टीको निर्णय नै एकता र महाधिवेशन गर्ने रहेको हुनाले एकीकरण गरेर महाधिवेशन गर्नुपर्ने बताए । एकीकरण भइसकेपछि दुई दलको एकता महाधिवेशन गर्दा सबै कुरा आफै ठीक हुने उनको भनाइ छ । 

अध्यक्षमण्डलका सदस्य अनिल झाले पनि आफू एकीकरणको यो प्रकृयामा सहमत नरहेको बताए । आफूले पनि पत्रपत्रिकाबाट एकीकरणको बारेमा जानकारी पाएको भन्दै उनले समाजवादी पार्टीसँग एकीकरणका लागि भएको छलफलका विषयमा पार्टीमा कुनै प्रकारको छलफल नभएको बताए । 

उनले पार्टीको बैठक बोलाउने नबोलाउने अधिकार अध्यक्षमण्डलका संयोजकसँग हुने बताउँदै भने, ‘यदि कसैलाई कुनै कुराको असहमति छ भने बैठकमा राख्न मिल्छ तर बैठक बस्नु अघि नै त्यसको विरुद्धमा व्यक्तव्यवाजी गर्नु गैर जिम्मेवार कार्य हो ।’

यता  पार्टीका अर्का महासचिव विनोद सिंहले आफूले नै राजनीतिक समितिका सदस्यहरुलाई बैठकको बारेमा जानकारी गराएको बताए । उनले बैठक बोलाएकोमा समितिका सदस्यहरु खुशी रहेको र सबै सहभागी हुने दाबी गरे । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप