संविधान दिवसमा मोदी नआउने, भिडियो कन्फरेन्समार्फत पाइपलाइन उद्घाटन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पटक पटक निमन्त्रणा दिएपनि उनी नेपाल आउन अझै समय जुर्न सकेको छैन ।
पहिलो पटक प्रधानमन्त्री बन्दा सपथ लिएको चार महिनापछि नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए । मोदीले २०७१ वैशाख ३१ गते पहिलो पटक प्रधानमन्त्रीमा शपथग्रहण गरेका थिए भने साउन १८ गते नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनको निकै प्रसंशा भएको थियो ।
उनले त्यतिबेला पनि पहिलो भ्रमण भुटान (२०७१ जेठ ३१) को गरेका थिए । त्यसपछि ब्राजिल (२०७१ असार २९) र अनि नेपालको भ्रमण गरेका थिए । यसपटक उनले पहिलो भ्रमण माल्दिभ्सको गरेका छन् भने श्रीलंका, कार्गिस्तान, जापान, भुटानको भ्रमण गरिसकेका छन् ।
यूएई हुँदै फ्रान्स गएका मोदी हिजो राती भारत फर्केका छन् । असोज ७ गतेसम्म उनको विदेश भ्रमणको कार्यतालिका तयार भइसकेको छ । तर उक्त कार्यतालिकामा नेपालको नाम समावेश नभएको स्रोतको दाबी छ ।
भारतीय विदेश मन्त्रालयका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने भनेर हालसम्म कुनै कार्यतालिका बनेको छैन । नेपालबाट भ्रमणका लागि निमन्त्रणा आएपनि प्रधानमन्त्री मोदीले कार्यतालिकामा राख्नुभएको छैन ।’
दोस्रो पटक मोदीले प्रधानमन्त्रीमा सपथ लिँदा त्यसमा सहभागी हुन दिल्ली गएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि निम्तो दिएका थिए । उनले स्वीकार गर्दै चाँडै नेपाल आउने प्रतिबद्धता पनि जनाएका थिए । त्यसयता मोदी पटक–पटक नेपाल आउने हल्ला चले पनि त्यो वास्तविकता बन्न सकेको छैन ।
शुरुमा रेल मार्ग उद्घाटनका लागि मोदी आउने तयारी भएको थियो । तर, नेपालको तर्फबाट त्यसको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित भएको थियो ।
त्यसपछि पेट्रोलियम पाइपलाइन उद्घाटनका लागि मोदी नेपाल आउने चर्चा चलेको थियो । तर त्यसमा पनि नआउने पक्कापक्की भएको छ ।
अहिले संविधान दिवसको अवसरमा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले आफ्नो भारतीय समकक्षीलाई निमन्त्रणा दिएका छन् । तर, त्यसमा पनि नआउने लगभग पक्का भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई संविधान दिवसमा आउन निमन्त्रणा दिएका थिए ।
तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले यसको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।
त्यस्तै, नेपालस्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक द्वीवेदीले यो विषयमा कुनै प्रतिकृया नै दिन मानेनन् ।
नेपालले असोज ३ मा संविधान दिवस मनाउदा दिन मोदी अमेरिकामा हुनेछन् ।
असोज २ गते दिल्लीबाट अमेरिका प्रस्थान गर्ने मोदी असोज ३ गते अमेरिका पुग्नेछ । असोज ४ गते वासिङ्टन डिसी, ५ गते हस्टन, ६ गते न्युयोर्क र ७ गते सिकागो जानेछन् ।
उता, पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रमको तयारी पनि भइरहेको छ । उद्योग मन्त्रालय स्रोतका अनुसार भदौ २४ गते दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत पाइपलाइनको उद्घाटन गर्ने तयारी गरिएको छ ।