केन्द्रीय संस्करण

कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा

person explore access_timeभदौ १०, २०७६ chat_bubble_outline0

-राजेन्द्र किराँती

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही र गलत विन्यासले सबै कुराको निर्धारण गर्छ । यो सही भए सबै चिज प्राप्त गर्न सकिन्छ र गलत भए प्राप्त भएको पनि गुम्दछ ।” माओको यो उद्गार साँचो कम्युनिस्ट पार्टीका लागि न्यूनतम् नीतिवाक्य हो । वस्तुतः कार्यदिशा भनेको निश्चित गन्तव्यमा पुग्ने बाटो हो । यसकारण वैज्ञानिक, वस्तुवादी र सही बाटो तय गरियो भने गन्तव्य टाढा र घुमाउरो भए पनि लक्ष्यमा अवश्य नै पुग्नसकिन्छ । कम्युनिस्ट पार्टीको कार्यदिशा भनेको रणनीतिक गन्तव्यमा पुग्ने मार्गचित्र हो । यसमा सही कार्यदिशामार्फत बलिदानीपूर्ण, कष्टसाध्य र घुमाउरो बाटो हुँदै उन्मुक्त मानव समाज निर्माण गरिन्छ । 
 

   पछिल्लो समय नेकपाभित्र कार्यदिशाको विवाद निकै पेचिलो बन्दै गएको छ । यद्यपि औपचारिक बहस भने प्रारम्भ भएको छैन । वस्तुतः कार्यदिशा भनेको रातारात निर्धारण गर्ने विषय होइन । यसकारण एकता प्रक्रियाको आरम्भदेखि नै यसलाई थाँती राखिँदै आएको छ । आगामी एकता महाधिवेशनबाट कार्यदिशाको मुद्दा टुङ्ग्याउने सहमती भएको छ । तर समयक्रम वित्तै जाँदा आज नेकपाभित्र आआफ्नो पृष्ठभूमिगत गायत्रीमन्त्ररुपी कार्यदिशाबारे मनोगत बहस, छलफल र लेखरचनाहरु प्रकाशित हुनेक्रम बढिरहेको छ । यो जताबाट नापे पनि सही होइन । यसले क्षणिक भावनात्मक तरङ्ग र माहौल त सिर्जना गर्ला । गुटगत सन्तुष्टि र उद्वेलना पनि पैदा गर्ला । तर भावनात्मक र लहड्मुखी रवैयाले कम्युनिस्ट आन्दोलनमा सहयोगी कार्यदिशा विन्यास गर्न सक्दैन । अर्थात राजनीतिक कार्यदिशा किटान जस्तो महत्त्वपूर्ण मुद्दा गणितीय जोडघटाउ, भावनात्मक र प्राविधिक आयामले निर्धारण गर्दैन । किनकि कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य र औचित्य गणितभन्दा विचारले निर्धारण गर्छ ।

     वस्तुतः बिना कुनै उद्देश्य र गन्तव्य कार्यदिशा तय गरिँदैन । हामी कहाँ जानुपर्ने हो ? कसरी जानुपर्ने हो र केको लागि जानुपर्ने हो ? भन्ने समग्र सन्दर्भ किटान नगरी कार्यदिशाकोे मार्गचित्र कोर्न सकिन्न । अर्थात सर्व प्रथमतः उद्देश्य किटान गरेपछि मात्र कार्यदिशा तय गरिन्छ । यसले के स्पष्ट हुन आउँछ भने, हामी कम्युनिस्ट आन्दोलनको कार्यभार पूरा गर्र्नुपर्ने ऐतिहासिक सन्दर्भमा छौँ भने यसले नितान्त फरक राजनीतिक कार्यदिशाको माग गर्छ । किनकि कम्युनिस्ट आन्दोलन भनेको छुट्टै वर्गीय आन्दोलन हो । यसको ऐतिहासिक प्रक्रिया, रणनीतिक उद्देश्य र गन्तव्यहरु सारभूतरुपमै भिन्न हुन्छ । अर्थात औसत संसदीय लोकतान्त्रिक दलहरु र कम्युनिस्ट पार्टी बीचमा राजनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यमा आकाशधर्ती फरक हुन्छ । कामकारबाहीहरु पनि भिन्न हुन्छ । यसो भएपछि राजनीतिक कार्यदिशा पनि आधारभूतरुपमै फरक हुनजान्छ । औसत लक्ष्यको लागि औसत कार्यदिशा भए पुग्छ । तर कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य सुहाउँदो कार्यदिशा विन्यास गर्ने विषय असाध्यै गम्भीर र पेचिलो प्रक्रिया हो ।  
 

   मूलतः सही, वस्तुवादी र सामाजिक अन्तरविरोध सुहाउँदो कार्यदिशा निर्माणले मात्र क्रान्तिकारी राजनीतिक समाधन दिनसक्छ । यसका लागि खास समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विकासक्रमको गहिरो अध्ययन गर्नुपर्छ । प्रधान र गौण अन्तरविरोध अनि आन्तरिक र बाह्य दुस्मनको सन्दर्भमा सचेत हुनुपर्दछ । अर्थात समाजको वर्गीय चरित्र र त्यसले पैदा गरिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधहरुको  सुस्पष्ट ज्ञान हुनुपर्दछ । नेपाली समाजको ऐतिहासिक विकासक्रमलाई हेर्ने दृष्टिकोणमा पनि एकरुपता छैन । राजतन्त्रको अन्त्यपछि धेरैले नेपाली समाजले सामन्तवादी चरित्र गुमाइसकेको साथै पुँजीवादी जनवादी चरणमा प्रवेश गरिसकेको दाबी छ । सामन्तवादी उत्पादन सम्बन्ध एकाएक पुँजीवादी उत्पादन पद्धतिमा बदलिएको ठहर गरिँदैछ । तर सारतः पुँजीवादी गणतन्त्र आए पनि यसको वर्गचरित्रको दृष्टिबाट हेर्ने हो भने अझै पनि यसको चरित्र अर्धसामन्तवादी रहेको छ । समाजमा पुरानो राजनीतिक विरासत अस्तित्वमा रहनु यसैको उपज हो ।
 

   वस्तुतः समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विकासक्रम अनुरुप नै कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक कार्यदिशा विन्यास गर्नुपर्दछ । यो तर्क नभएर सार्वभौम कुरा हो । कुनै पनि खास समाजको ऐतिहासिक विकासक्रम अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ भने यसको राजनीतिक कार्यदिशा २१औँ शदीको जनवाद वा जनताको बहुदलीय जनवाद आदि हुनसक्छ । यता पुँजीवादी भइसकेको हो भने यसले समाजवादी वा समाजवादउन्मुख कार्यदिशाको माग गर्दछ । यसकारण राजनीतिक कार्यदिशा तय गर्नका लागि सबैभन्दा पहिला नेपाली समाजको चरणगत ऐतिहासिक द्वन्द्वात्मक विकासक्रम यकिन गर्नुपर्छ । यो कार्यदिशा सम्बन्धी सार्वभौम सत्य हो । कसैले अर्धसामन्ती र अर्ध औपनिवेशिक अनि कसैले पुँजीवाद जनवादी भनेर दाबी गरे पनि यसको वस्तुगत चरित्र कुन हो भन्ने सन्दर्भ अझै ठोस गरिएको छैन । कसैले बनिबनाउ रूपमा दाबी गर्ने कुरा र समाजको असली चरित्र फरक सवाल हो । यही द्विविधा र अन्यौलताकै कारण सही र वस्तुवादी कार्यदिशा विन्याश गर्ने मुद्दा निरन्तर बहसमा मात्र सीमित हुँदैआएको छ । 
 

    अर्कोतिर कम्युनिस्ट पार्टीको समग्र राजनीतिक प्रक्रिया, उद्देश्य र गन्तव्य सारभूत रूपमै भिन्न हुन्छ । औसत राजनीति र यसद्वारा निर्देशित कार्यदिशाद्वारा भिन्न राजनीतिक प्रक्रिया पूरा हुँदैन । यसका लागि सबभन्दा पहिला कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त वा रणनीति अनुरुपको वर्गीय राज्यसत्ता अनिवार्य हुन्छ । अर्थात कम्युनिस्ट कार्यदिशा लागू गर्न कम्युनिस्ट राज्यसत्ता पहिलो शर्त हो । राज्यसत्ताविनाको राजनीतिक प्रक्रियाले कम्युनिस्ट रणनीतिक उद्देश्य हासिल गर्दैन । त्यो त केवल रूपमा कम्युनिस्ट कार्यदिशा, लोगो, झण्डा, व्यानर र नारा भए पनि सारमा औसत चुनावी राजनीतिको गुरुत्वकेन्द्र वरिपरि घुमिरहन्छ । चुनाव केन्द्रित राजनीतिले क्रान्तिकारी र वैज्ञानिक कार्यदिशा माग गर्दैन । औसत अर्थराजनीतिक उद्देश्यका लागि औसत कार्यदिशा भए पुग्छ । तर कम्युनिस्ट आन्दोलनको ऐतिहासिक रणनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यलाई सम्बोधन गर्न क्रान्तिकारी कार्यदिशा अपरिहार्य हुन्छ । त्यसैले कम्युनिस्ट आन्दोलनमा  कार्यदिशाको बहसले ऐतिहासिक दूरगामी राजनीतिक महात्त्व बोकेको हुन्छ । यो चानचुने कुरा होइन ।
 

  विशेषतः हामी कम्युनिस्ट आन्दोलन निर्माणको ऐतिहासिक प्रक्रियामा छौँ भने सोही अनुरुपको राजनीतिक कार्यदिशा जरुरी हुन्छ । किनकि कम्युनिस्ट आन्दोलन भनेको निरन्तर ऐतिहासिक प्रक्रियामा विकास हुने वर्गीय आन्दोलन हो । यसका लागि वर्गीय राजकीय सत्ताको गठन पहिलो शर्त हुनजान्छ, जसले समाजवाद हुँदै साम्यवादसम्मको रणनीतिक अर्थराजनीतिक पद्धतिगत आन्दोलनको वकालत गर्दछ । लामो ऐतिहासिक प्रक्रियामार्फत मान्छेको पश्चगामी र यथास्थितिवादी सोचाइ, मनोविज्ञान, संस्कृति र आचरणहरुमा क्रान्तिकारी रूपान्तरण गर्नुपर्दछ । यो लामो, कठिन र कष्टसाध्य प्रक्रिया हो । अर्थात आन्दोलनको निरन्तर ऐतिहासिक प्रक्रियाद्वारा सामाजिक रूपान्तरण गर्ने क्रान्तिकारी आन्दोलनका लागि औसत कार्यदिशा सहयोगी हुँदैन । यसका लागि क्रान्तिकारी कार्यदिशा जरुरी हुन्छ । कार्यदिशा सही भएन भने कम्युनिस्ट आन्दोलन रणनीतिक उद्देश्यमा पुग्न सक्दैन । तब समग्र प्रक्रिया औसत चुनावी राजनीतिमा रुमलिन पुग्दछ, जसले कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दछ । 
 

  पछिल्लो समय नेकपाभित्र कार्यदिशासम्बन्धी अनौपचारिक भनाभन सुरु भएको छ । कार्यदिशाको सन्दर्भमा यो वा त्यो गायत्रीमन्त्र जप्ने कुरा निर्णायक होइन । मुख्य विषय नेकपाले अङ्गीकार गर्ने राजनीतिक लाइन र कम्युनिस्ट आन्दोलनको सवाल हो । मूलतः क्रान्तिकारी राजनीतिक लाइनका लागि कार्यदिशा पनि क्रान्तिकारी नै हुनुपर्दछ । अर्थात सही कार्यदिशाको बलद्वारा नै कम्युनिस्ट आन्दोलन अघि बढ्नेगर्दछ । २१औँ शदीको जनवाद कि जनताको बहुदलीय जनवादभन्दा पनि यसले आत्मसात गरिरहेको कम्युनिस्ट आन्दोलनको वर्गचरित्र, उद्देश्य र गन्तव्य मुख्य पक्ष हो । अर्थात खास कम्युनिस्ट पार्टीमा जति बढी सैद्धान्तिक दृढता हुन्छ सिद्धान्ततः त्यही मात्रामा क्रान्तिकारी कार्यदिशा जरुरी हुन्छ । जति विचारधारात्मक धरातल कमजोर हुन्छ उति नै टालटुले कार्यदिशाको माग गर्दछ । यो कार्यदिशा सम्बन्धी द्वन्द्वात्मक सार्वभौमिकता हो ।
 

   यसकारण अब नेकपाको रणनीतिक उद्देश्य अमुक विकास र समृद्धि, सबैभन्दा ठूलो पार्टी बन्ने, बहुमत ल्याउने, सरकार गठन र विघटन गर्ने, जसरी पनि आवधिक चुनाव जित्ने, सांसद, मन्त्री बन्ने, बहुमत, अल्पमतको औसत राजनीतिक खेलमा सीमित हुने हो भने कार्यदिशाको सन्दर्भमा धेरै बहस आवश्यक पर्दैन । यति नारा त नेपाली काँग्रेसले पनि लगाइरहेकैछ, जसले कार्यदिशाको सवालमा कहिल्यै टाउको दुःखाएको छैन । वस्तुतः कम्युनिस्ट पार्टीलाई जीवन्त राख्ने आन्दोलनको प्रक्रिया नै कार्यदिशा हो । तर औसत बहुमत ल्याउने, सरकार गठन विघटन गर्ने सन्दर्भमा भने क्रान्तिकारी कार्यदिशा जरुरी हुँदैन । २१औँ शदीको जनवाद, जनताको जनवाद, प्रतिष्पर्धात्मक जनवाद, समाजवाद उन्मुख जनवाद भनेर किटान गर्नुपर्दैन । यसको लागि जनताको बहुदलीय जनवाद मात्र होइन बहुदलीय जनवाद वा लोकतान्त्रिक प्रतिस्पर्धा जस्ता जुनसुकै कार्यदिशा तय गरे पनि औसत राजनीतिमा तात्विक फरक पर्दैन । 
 

   कम्युनिस्ट आन्दोलनको ऐतिहासिक प्रक्रियालाई नजरअन्दाज गर्ने हो भने, जवज, लोकतान्त्रिक जनवाद या अरू एबीसीडी नामधारी र नाराधारी कार्यदिशा तय गरे हुन्छ । आवधिक चुनाव जित्ने सपना सूत्रहरु बाँढ्न थाले हुन्छ । सस्तो लोकप्रियतामा आधारित सुगरकोटेड नाराहरु खिपिराखे हुन्छ । भोट ब्ल्याकमेलिङ गर्ने पदावलीहरु चयन गरे हुन्छ । उपभोगवादी जनताको स्वार्थगत भावना छुने कार्यक्रमहरु विन्यास गरे हुन्छ । प्रत्येक नागरिकलाई अझ उन्नत सोच चिन्तन् र मनोविज्ञान र सामाजिक पद्धतिमा रूपान्तरण गर्नुपर्दैन । जनताले भोट हालिरहने, चुनाव जिताइरहने, यसबापत राज्यले केही सेवासुविधा जुटाइदिइरहने, मतदाताहरु बोइलर जस्तो चारोपानी खाइरहने, आत्मकेन्द्रित व्यक्तिवादी निकृष्ट स्वार्थ हावी भइरहने अनि अपराध, भ्रष्टाचार, कमिसन, दलाली, आडम्बर र ढोङजन्य संस्कृति संस्थागत भइरहने बोइलरी वा उपभोगवादी अर्थराजनीतिका लागि क्रान्तिकारी कार्यदिशा चाहिँदैन । यसका लागि कम्युनिस्ट कार्यदिशा विन्यासको कष्टसाध्य र महँगो प्रक्रियागत विधिमा पनि जानुपर्दैन । औसत संसदवादी दलहरुले जस्तै कर्मकाण्डी मौसमी नारा लाए काफी हुन्छ । 

     तर नेकपाको कार्यदिशाको सवाल औसत दलहरुको जस्तो मात्र विषय पटक्कै होइन । किनकि यो कम्युनिस्ट पार्टी हो । कम्युनिस्ट पार्टीका लागि कार्यदिशा असाध्यै महत्त्वपूर्ण मुद्दा हुनेगर्छ । यसले हरेक ऐतिहासिक काल खण्डमा भएको सङ्घर्षलाई ऐतिहासिक साश्वत प्रक्रियाको रूपमा परिभाषित गर्छ । यसलाई सामाजिक रूपान्तरणको प्रक्रिया भनेर व्याख्या गर्छ । यसले निरन्तर आन्दोलनको लामो, कष्टसाध्य र बलिदानीपूर्ण प्रक्रियावाट मात्र सम्भव हुने वैज्ञानिक तथ्यलाई आत्मसात गर्दछ । सबैखाले पुरातनवादी सोच, चिन्तन्, जीवनशैली, कार्यशैली, आचरण, संस्कार र संस्कृतिहरु आन्दोलनको ऐतिहासिक प्रक्रियाबाट मात्र रूपान्तरण हुने मान्यता राख्छ । यस्तो रणनीतिक उद्देश्य प्राप्तिका लागि योजनाबद्ध र सङ्गठित राजनीतिक प्रक्रियामा आन्दोलित हुनु जरुरी हुन्छ । आन्दोलनलाई ठीक ढङ्गले पथप्रदर्शन गर्दै रणनीतिक गन्तव्यमा पुर्याउन सही राजनीतिक कार्यदिशा विन्यास इतिहासको अपरिहार्य आवश्यक्ता हुनेगर्छ । 
   

 त्यसैले नेकपाको कार्यदिशासम्बन्धी विवाद ख्यालठट्टाको विषय होइन । यो एमाले पृष्ठभूमि वा माओवादी पृष्ठभूमि र स्कुलिङको मात्र सवाल होइन । यो जवज र २१औँ शदीको जनवाद बीचको तानातानको मात्र विषय होइन । आवधिक चुनाव जित्ने र सरकार गठन र विघटन गराउने औसत खेल मात्र होइन । यो अल्पमत, बहुमत अमूक विकास–समृद्धि अनि अमूक वा ढोँगी समाजवादको कुरा मात्र होइन । किनकि काँग्रेसले पनि समाजवाद, विकास र समृद्धिकै कुरा गरिरहेको छ । काँग्रेस र कम्युनिस्टले जताबाट पनि लाउन मिल्ने साझा समाजवाद हुनैसक्दैन । त्यसैले कम्युनिस्ट पार्टीको समाजवाद वस्तुतः कम्युनिस्ट मूल्य र आदर्शसहितको वैज्ञानिक समाजवाद हो । यो एउटा रूपान्तरणकारी आन्दोलनको निरन्तर प्रक्रिया हो । ऐतिहासिक चरणगतरुपमा पुँजीवादी जनवाद, समाजवाद हुँदै साम्यवादी उन्नत समाज व्यवस्था प्राप्तिको ऐतिहासिक प्रक्रिया हो  । यो निगमीय दलाल पुँजीवाद विरोधी अर्थराजनीतिक पद्धति हो । वस्तुतः सबैखाले हेलाहोँचो र उत्पीडनहरु विरुद्धको आन्दोलन नै समाजवाद हो ।
 

   त्यसैगरी यो उत्पादनमूलक राष्ट्रिय औद्योगिक पुँजी निर्माणको सवाल हो । समानता र न्यायको सवाल हो । उत्पीडिन, विभेद, शोषण र अन्याय अन्त्यको सवाल हो । निकृष्ट निजी स्वामित्वको ठाउँमा सामाजिक वा सामूहिक स्वामित्व निर्माणको अभियान हो । उन्नत, विवेकी, सभ्य र साझा सांस्कृतिक सम्बन्धसहितको सामाजिक उत्पादन पद्धतिको प्रक्रिया हो । त्यसैले नेकपाको भावी कार्यदिशाको सवालमा हल्काफुल्का भावनात्मक, गुटगत र गायत्रीमन्त्ररूपी प्रतिक्रियाको राजनीतिक औचित्य देखिन्न । कम्युनिस्ट आन्दोलनको ऐतिहासिक प्रक्रियालाई तिलाञ्जली दिँदै केवल चुनाव जित्ने रणनीतिमा घुमिरहने औसत कर्मकाण्डी राजनीतिका लागि कार्यदिशा प्रमुख मुद्दा बन्दैन । यसका लागि औसत चुनावी नारा भए काफी हुन्छ, जसले चुनाव पनि जितिन्छ सरकार पनि बनाइन्छ । तर कम्युनिस्ट आन्दोलन भने गोलचक्करमा फस्छ । तसर्थ, नेकपाको सही कार्यदिशा विन्यासको सवाल असाध्यै महत्त्वपूर्ण सवाल हो ।  यसमा नेता, कार्यकता र क्रान्तिकारी जनसमुदायहरु सचेत, स्पष्ट र गम्भीर बन्नैपर्ने देखिन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...