शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले के–के निर्णय गर्‍यो ?

सोमबार, ०९ भदौ २०७६, १५ : ०२
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ । 
पार्टी कार्यालय धुम्बराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मन्त्री भानुभक्त ढकाललाई र उपप्रमुखमा रामकुमार राईलाई नियुक्त गरेको हो । यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । सो जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिइएको हो ।

त्यसैगरी प्रादेशिक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई नियुक्त गरेको हो । त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ । बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशतसम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधानअनुसार सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिइएको थियो । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्व राजदूत प्रमेश हमाललाई नियुक्त गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानको सहसंयोजकको जिम्मेवारी रमेश धमलालाई दिइएको छ । धमलालाई ललितपुरको सहइन्चार्जबाट हटाइएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा वीरमान चौधरीलाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सहइन्चार्ज को जिम्मेवारी दिइएको थियो । बैठकले जनवर्गीय संगठनको सह इन्चार्जहरुमा पनि नयाँ व्यवस्था गरेको छ ।

अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ । आदिवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई थप गरिएको छ । नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा तिलक परियार र बोमबहादुर विश्वकर्मालाई , प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।

त्यसैगरी ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी र चुँडामणि जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।  

सार्वजनिक टिप्पणी नगर्न निर्देशन
सचिवालय बैठकले पार्टी भित्रका नेता कार्यकर्ताका बारेमा सार्वजनिक टिकाटिप्पणी नगर्न कडा निर्देशन दिएको छ । नेता कार्यकर्ताका बारेमा केही भन्नुपरेमा तथ्यसंगत ढंगले पार्टीको आन्तरिक बैठकहरुमा राख्ने तर सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सार्वजनिक रुपमा नेताहरुको बारेमा टिका टिप्पणी गरेको पाईएमा स्पष्टीकरण लिँदै आवश्यक कारावाही गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको पनि कामना गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप