शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज रविको बयान लिइँदै, अब के हुन्छ प्रक्रिया ?

सोमबार, ०९ भदौ २०७६, ०९ : ३५
सोमबार, ०९ भदौ २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सोमबार टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ ।

आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो ।

प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ ।

आइतबार 'रुकु' भनिने अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो । आज लामिछाने र कँडेलसँग बयान लिनेछ । बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

चितवन आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ । जसका कारण पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।  

आदेशमा भनिएको छ, “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेको क्षेत्रमा हुल दङ्गा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।” जसअनुसार वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन ।

यसैगरी, वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको हो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप