बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

आइतबार, ०८ भदौ २०७६, १४ : २८
आइतबार, ०८ भदौ २०७६

टोकियो– जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ ।

अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिङ्टनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘वार्तामा ठूलो प्रगति भएको छ ।’ मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो ।

‘वार्तामा भएका प्रगतिका बारेमा जापान–अमेरिका सम्मेलनमा सार्वजनिक गरिनेछ,’ मोटेगीले भने । उक्त सम्मेलन फ्रान्समा आयोजना हुने जी ७ को बैठककै अवसरमा फ्रान्समा हुँदैछ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच निकै सुमधुर सम्बन्धी रहेको छ तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन् । उनले दुबै मुलुकबीचको व्यापारिक सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

लाइटिजर र मोटेगी दुबैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ । साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुधजन्य वस्तुमा लागिआएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।

जापानले यसअघि टिपिपी सम्झौता बमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरु मुलुक सरहको व्यवहार गर्ने वचन दिँदै आएको छ । 

पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ । तर जापानलाई टाउको दुखाई भएको जापानी सवारी साधनमाथि लाग्ने अमेरिकी करहरुका बारेमा भने अहिल्यै कुनै सहमति भएको छैन । 

तर दुबै मुलुकबीच अन्तिम सम्झौता अगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जापानी अखबारहरुले जनाएका छन् । –एएफपी/photo: AFP​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप