शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कश्मीरको अवस्था बुझ्न गएका राहुल गान्धी र अन्य विपक्षी नेतालाई श्रीनगरको विमानस्थलबाटै फर्काइयो

आइतबार, ०८ भदौ २०७६, १० : ३३
आइतबार, ०८ भदौ २०७६

एजेन्सी । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी र भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए । तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमति दिइएन । केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको थियो ।

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गएका थिए । दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था सामान्य नरहेको प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा राहुलले भने, ‘केही दिन पहिले गर्भनरले मलाई जम्मू–कश्मीर आउने निम्तो दिएका थिए । हामी कश्मीरका जनताको अवस्था बुझ्न चाहन्थ्यौँ । तर हामीलाई श्रीनगरको विमानस्थलबाट बाहिर जान अनुमति दिइएन । हामीसँग दुर्व्यवहार गरियो र सञ्चारकर्मीलाई पिटियो । यसले जम्मू–कश्मीरको अवस्था सामान्य नभएको देखाउँछ ।’

राहुलसँगै कश्मीर गएका गुलाम नबी आजादले कश्मीरको अवस्था डरलाग्दो भएको बताए । उनले विमानमा सँगै यात्रारत केही कश्मीरी यात्रुले बताएको दुःखद अवस्थाले ढुङ्गालाई पनि रुवाउने बताए ।

उता सीपीएमका महासचिव सीताराम येचुरीले विमानस्थलमा आफूहरुलाई गरिएको व्यहारबारे बताए, ‘जब हामीलाई विमानस्थलमा हिरासतमा लिइयो तब हामीले कुन आरोपमा पक्राउ गरिएको हो भनेर सोध्यौँ र आदेश देखाउन भन्यौँ । उनीहरुले हामीले त्यो आदेश पढेर सुनाए । जब हामी आदेश देख्यौँ त्यसमा हामी एकजुट भएर व्यवधान उत्पन्न गर्न पुगेको लेखिएको थियो ।’

को–को थिए भ्रमणमा ?

राहुलसँग कश्मीर जानेमा कंग्रेसका नेताहरु गुलाम नबी आजाद, आनन्द शर्मा, केसी वेणुगोपाल थिए । त्यस्तै सीपीएम नेता सीताराम यचुरी, सीपीआई महासचिव डी राजा पनि प्रतिनिधि मण्डलमा सामेल थिए ।

त्यस अतिरिक्त लोकतान्त्रिक जनता दलका नेता शरद यादव, डीएमके नेता तिरुची शिवा, राकांपा नेता माजिद मेमन, तृणमुल नेता दिनेश त्रिवेदी र राजदका मनोज झा सामेल थिए ।

कश्मीरबाट धारा ३७० हटाइएपछि राज्यमा कुनै पनि राजनीतिक दलका नेतालाई जान अनुमति दिइएको छैन । कश्मीरी नेता तथा पूर्व मुख्यमन्त्री फारुख अब्दुल्ला, उमर अब्दुल्ला र महबूबा मुफ्तीलाई पहिलेदेखि नजरबन्दमा राखिएको छ ।

कंग्रेस सांसद गलाम नबी आजादले यसअघि पनि कश्मीर प्रवेश गर्ने प्रयास गरेका थिए । उनलाई दुई पटकसम्म रोकिएको थियो । डी. राजालाई पनि पहिले श्रीनगर विमानस्थलबाट फिर्ता गरिएको थियो ।

मिडियामाथि दुर्व्यवहार

भारतका विपक्षी दलका नेताको कश्मीर भ्रमणलाई कभर गर्नको लागि विमानस्थलमा जम्मा भएका संचारकर्मीले आफूहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

विमानस्थल पुगेका पत्रकारका अनुसार प्रहरीले उनीहरुलाई विमानस्थल प्रतिरक्षा हैसियतको भएकाले भन्दै रोकेका थिए ।

कश्मीरका राज्यपालले दिएका थिए राहुललाई निमन्त्रणा

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० लाई रद्द गरेपछि राहुल गान्धी मोदी सरकारको आलोचना गर्दै कश्मीरको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

त्यसपछि जम्मू–कश्मीरको राज्यपाल सत्यपाल मलिकले कश्मीर उपत्यकाको अवस्था सामान्य भएको भन्दै अवलोकनको लागि राहुललाई कश्मीर आउने निमन्त्रणा दिएका थिए ।

उनले भनेका थिए, ‘म राहुल गान्धीलाई कश्मीर आउन निमन्त्रणा दिन्छु । म उनको यात्राको व्यवस्था नै गर्नेछु ताकि उनले यहाँको वस्तुस्थिति देख्न सकुन् ।’

राहुल गान्धीले मलिकको निमन्त्रणा स्वीकार गरेका थिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप