शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

वाईसीएलको राष्ट्रिय सम्मेलन : नयाँ नेतृत्वसहितको नयाँ योजना

आइतबार, २९ साउन २०७४, १३ : ३६
आइतबार, २९ साउन २०७४

विषय प्रवेश 
सर्वहारा वर्गका महान गुरु कार्ल माक्स कम्युनिस्ट घोषणापत्र सार्वजनिक गर्दा मात्र ३० वर्षका थिए । माक्र्सको बीस वर्षे दिमागले संसरभरको राजनीतिक व्यवस्थामा उथलपुथल ल्याइदियो । विश्वको झण्डै आधा जनसङ्ख्या समाजवादी अवधारणामा आकर्षित भयो । सर्वेक्षण पनि के देखाउँछ भने माक्र्ल माक्र्स पछिल्लो १० शताब्दी अर्थात एक हजार वर्षका महान् दार्शनिक थिए । 
जब अल्बर्ट आइस्टाइनको सापेक्षतावादको सिद्धान्त प्रकाशमा आयो तब सयौँ वर्षदेखि स्थापित कैयौँ वैज्ञानिक सिद्धान्तहरु गलत सावित भए । विज्ञानको क्षेत्रमा ठूलो क्रान्तिकारी उथलपुथल भयो र संसारभरका वैज्ञानिकहरु आइस्टाइनको सापेक्षतावादको सिद्धान्तको बारेमा छलफलमा जुटे । भौतिक विज्ञानमा विद्यामान रहेका अधिकांश मान्यता उल्टिए । युरोपका रेस्टुरेन्टमा काम गर्ने वेटरदेखि रिक्सा चालकको मस्तिष्कमा सापेक्षातावादको सिद्धान्तले चिन्तनका निम्ति प्रवेश पायो । उनको उक्त सिद्धान्तपछि संसारका राजनीतिज्ञहरु दुई ध्र्रुवमा बाँडिए । सापेक्षतावादले बहुलवादलाई समर्थन गर्छ या एकत्ववादलाई ? यसरी संसारभर नयाँ बहस र मान्यताको सिर्जना गर्नेबेला अल्बर्ट आइन्स्टाइन पनि केवल २६ वर्षका थिए ।

गौतम बुद्ध गृह त्याग गरी तपस्याका निम्ति निस्किँदा २९ वर्षका थिए । नेपालको एकीकरण अभियानको थालनी गर्दा पृथ्वीनारायण शाह २३ वर्षका मात्रै थिए । कोतपर्वका मुख्य योजनाकार तथा नेपालमा सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका जङ्गबहादुर राणा पनि प्रधानमन्त्री बन्दा २९ वर्षका थिए । जनयुद्धका नायक प्रचण्ड पार्टीको नेतृत्वमा पुग्नेबेला ३५ वर्षका थिए । यी त केवल प्रतिनिधिमूलक सन्दर्भ हुन । यस्ता असङ्ख्य उदाहरण पेश गर्न सकिन्छ जसको आधारमा के निष्कर्ष निकाल्न सकिन्छ भने मानिसको सबैभन्दा ऊर्जाशील, सिर्जनशील र गतिशील समय भनेको ३० वर्षको पेरिफेरि हो । नेपाली युवाहरुको अग्रदाता योङ कम्युनिस्ट लिग वाईसीएलको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उमेरको प्रसङ्ग पनि पेचिलो बहसका रुपमा अगाडि आइरहेको छ । यसबारेमा विभिन्न ढङ्गबाट खुला बहसको आवश्यकता महसुस स्वयं युवाहरुले गरिरहेका छन् । 

वाईसीएलको प्रारम्भिक छवि र आकर्षण 

तत्कालीन नेकपा (माओवादी) समवन्तवादी एकात्मक राज्यसत्ताका विरुद्ध भीषण सङ्घर्षमा थियो । जनयुद्धको विकास, विश्वास र सफलतासँगै माओवादीले समानान्तर संरचना निर्माण गर्यो । जनताको सरकार, जनताको अदालतसँगै जनताको सेना निर्माण भए । जनमुक्ति सेनाको नेतृत्वमा राज्य शक्तिका विरुद्धमा ठूल्ठूला आक्रमणहरु सानदार रुपमा सफल भए । पार्टी नेता, कार्यकर्ता र जनताको त्याग, समर्पण र बलिदानको जगमा जनयुद्धले एकपछि अर्को छलाङ मार्दै गएपछि राज्य र राजनीतिक पार्टीहरु घुडा टेक्न बाध्य भए । त्यसैको परिणम स्वरुप १२ बुँदे सम्झौता हुँदै विस्तृत शान्ति सम्झौता भयो । त्यहाँबाट माओवादीको शान्तिपूर्ण, सहर केन्द्रित र सार्वजनिक राजनीतिक यात्रा बढ्यो । जनमुक्ति सेना अस्थायी शिविरमा संयुक्त राष्ट्र सङ्घको निगरानिमा बस्यो । त्यसपछि क्याम्प बाहिर गाउँदेखी सहरसम्म, टोलदेखि केन्द्रसम्म युवालाई सङ्गठित गर्ने राष्ट्रियता र जनतन्त्रका पक्षमा सचेत पार्ने, भ्रष्टचार विरोधी अभियानलाई अघि बढाउने, समाजमा शान्तिपूर्ण वातावरणको र्सिजना गर्ने,  गुण्डागर्दी नियन्त्रण गर्नेलगायतका रानीतिक सामाजिक दायित्वहरु वाईसीएलको काँधमा आइपुग्यो । 

०६२/०६३ सालको जनआन्दोलन पछि एकदम मछोटो समयमै वाईसीएल स्थापित, सशक्त र लोकप्रिय हुन सफल भाये । पार्टीको स्पष्ट दिशानिर्देश, तात्कालीन हिसाबले सवल र सक्षम नेतृत्व कार्यकर्ताहरु बीचमा भावनात्मक एकता र सङ्गठन तथा नेतृत्वप्रतिको विश्वासले मात्रै त्यसलाई सम्भव तुल्याएको थियो । गाउँमा त जनयुद्धकालदेखि नै जनताको उपस्थिति थियो तर पनि वाईसीएलको उपस्थितिपछि चोरी, कुटपिट, गुण्डागर्दी, भ्रष्टचारको घटनाहरु उक्लेख्य मात्रामा नियन्त्रित भएका थिए । न्यायलय प्रहरी प्रशासनबाट न्याय र सुरक्षाको अनुभूति नगरेका मानिसहरु वाईसीएलबाट शान्ति, सुरक्षा र न्याय पाएको महसुस गर्न थालेका थिए । टोले गुण्डाहरु सहरबाट भूमिगत हुनुपर्ने अवस्था पसर्जना भएाके थियो । कतिसम्म भने वाईसीएलदेखि भ्रष्टचारीहरू निन्द्रामा समेत तर्सिन थालेका थिए । अर्कोतिर वाईसीएल नाम मात्रै लिएर कैयौँ निर्दोष मानिस लुटपाट, कुटपिट र आक्रमणबाट जोगिएका छन् । त्यो वाईसीएल र माओवादी आन्दोलनको एउटा स्वर्णिम काल थियो । 

यी र यस्तै कारणले वाईसीएलको एउटा भिन्न छवि प्रतिविम्बित भएको थियो । अर्थात जनताको सेवक, राष्ट्रसेवक, भ्रष्टचार विरोधी, शान्तिपूर्ण समाज निर्माणको पहरेदार । यसबाट युवा पङ्क्ति र अझ स्कुल कलेजका किशोरहरुमा समेत वाईसीएलप्रति तीव्र आकर्षण पैदा भएको थियो । वाईसीएल कमान्डरलाई भेट्ने, वाईसीएलको सदस्य बन्ने र जनताको सेवामा जुट्ने आकाङ्क्षा युवाहरुको मानसपटलमा घुम्न थालेको थियो । परिणामस्वरुप लाखौँ युवाहरु देशैभरबाट सङ्गठित भए ।

गतिशीलता हराएको वाईसीएल 
गाउँबाट सहर हिँडेपछि केही स्वभाविक र केही अस्वभाविक, केही आवश्यक र केही अनावश्यक, केही सुल्टा र केही उल्टा परिवर्तन देखा परे माओवादी पार्टी, आन्दोलन र नेताकार्यकर्तामा त्यसको असर वाईसीएलमा पनि पर्यो । वाईसीएलका नेताहरु सत्ता, शक्ति र सम्पत्तिको पछि कुद्न थाले । उनीहरु जनता र कार्यकर्ताबीचमा हैन, नेताको गुलामतिर लाग्न थाले । हिजो भ्रष्टचार, तस्कर र कमिसनविरुद्ध लडेको वाईसीएलका केही नेताका नामहरु कमिनसँग जोडिएर आउन थाले । स्वाभिक रुपमा नेताबाट कार्यकर्ताले पनि त्यस्तै संस्कृति सिक्न थाले । अर्कोतिर मिडियाहरुले सयौँ गुणा बढाएर वाईसीएलको बदनाम गराउने अभियान चलाए । वाईसीएलको योजना कार्यक्रम र लोकप्रियताबाट अत्तालिएका प्रतिस्पर्धी अन्य युवा सङ्गठनहरुले अघोषित रुपमा वाईसीएल विरोधी मोर्चाबन्दी कसे । फलस्वरुप वाईसीएलको बारेमा नकारात्मक धारणाहरुको विकास भयो । 

युवा सङ्गठन गतिशील सङ्गठन हो । आजको युवा भोलि वृद्ध हुँदै जान्छ । तर हामीले हाम्रा सम्मेलन, अधिवेशनहरु आवधिक रुपमा नियमित गर्न सकेनौँ । दस वर्षमा एउटा जेनेरेसन नै बदलिन्छ । तर हाम्रोमा एक दशकसम्म एक जनाले वाईसीएलको नेतृत्व हाक्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? पचास वर्ष मान्छे वाईसीएलको नेता भइरहनुपर्ने किन ?  जब कि पृथ्वीनारायण शाहको मृत्यु ५२ वर्षको उमेरमा भइसकेको थियो । नेता कार्यकर्तामुखी हुने कि उपल्लो तहको नेताको गुलामी गर्दै हिँड्नुपर्ने ? यो एक दशकको अवधिमा कस्तो प्रकारको राजनीतिक संस्कार विकास गर्न खोज्यौँ ? नेतृत्वमा पुग्नका लागि कपाल फुल्नुपर्ने दाह्री फुल्नुपर्ने भएपछि योङ कम्युनिस्ट लिग कसरी योङहरुको सङ्गठन हुन सक्छ ? यी र यस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयत्न नगर्दा वाईसीएल चलायमान र गतिशील बन्न सकेको छैन । 

अब कस्तो वाईसीएल 
माओत्सेतुङले भनेका छन्– युवासँग केही आकाङ्क्षा हुनुपर्छ संसार जित्ने सपना हुनुपर्छ । युवासँग आकाङ्क्षा हुँदैन, यदि उसले सिक्ने इच्छा राख्दैन, जित्ने प्रयास गर्दैन उसले नयाँ उपलब्धि राख्दैन भने यो युवा युवा हुँदैन । यो अर्थमा युवा भनेको संसारलाई एउटा गतिमा परिवर्तनमा र नयाँ प्रयोगमा हेर्ने क्षेत्र शक्ति हो । अर्को ठाउँमा पनि माओत्सेतुङले उल्लेख गरेका छन्– संसार सबैको हो तर अन्ततः युवाहरुको हो । कम्रेड माओले भने  जस्तै हामी विगतबाट पाठ सिकेर केही नयाँ कार्ययोजना, नीति र नयाँ नेतृत्व निर्माण गर्ने एउटा महत्वपूर्ण सन्दर्भमा आइपुगेका छौँ । राष्ट्रिय सम्मेलन कुनै पनि सङ्गठनका लागि आफ्नो आगामी नीति र नेतृत्व तय गर्ने सबैभन्दा उच्च निकाय हो । त्यसैले केही विषयहरु सङ्क्षिप्तमा यस आलेखमा उठान गर्न खोजिएको छ । 

१. आत्म समीक्षा 
एक दशकदेखि राष्ट्रिय सम्मेलन हुन सकेको छैन । हाम्रो सङ्गठनको एउटा सम्मेलनदेखि अर्को सम्मेलनसभा आइपुग्दा एउटा जेनेरेसन नै गायब भइसकेको छ । कुनबेला नेपाली युवाहरुको आशा र भरोसाको केन्द्र बनेको वाईसीएल आज यो अवस्थामा कसरी र कसका कारणले पुग्यो ? यसको गम्भीर आत्मसमीक्षा हुनुपर्छ । नेतृत्व पहिले यसको मुख्य जिम्मेवारी लिनुपर्छ । 

२. सङ्गठित स्वरुप 
विगतमा हामीले सङ्गठनसम्बन्धी अपनाएका शैली, पद्धति र विधिले कार्यकर्ताको भावना र चाहनाको प्रतिनिधित्व गर्न सकेन । माथिबाट नेताले टीका लगाइदिने गलत संस्कारको विकास भयो । निर्वाचन प्रणालीका केही सीमाहरु अवश्य पनि छन् । तर खुल्ला राजनीतिमा आइसकेपछि आन्तरिक निर्वाचन अनिवार्य सर्त बन्न पुगेको छ । चुनावबिना सङ्गठनलाई व्यवस्थित, नियमित, अनुशासित र गतिशील बनाउन सकिँदैन । प्रत्येक बैठकले कमिटीमा मान्छेहरु चाहर्दै जादाँ हाम्रा कमिटीहरु भद्रा हुन थाले । विधानमा गरिएका व्यवस्था लागू हुन सकेनन् । अब हामीले वडादेखि केन्द्रीय समिति चुस्त, दुरुस्त र कार्यकर्ता अनुमोदित हुने खालको बनाउनुपर्छ । सम्भव भएसम्म २ अङ्क नबढ्ने गरी हाम्रा समितिको गठन गर्नु जरुरी छ । 

३. नियमित अधिवेशन 
युवा भनेका सबैभन्दा गतिशील सङ्गठन हो । महिला सङ्गठन, मजदुर सङ्गठन वा अन्य व्यावसायिक सङ्गठनका सदस्यहरु जीवनभर उक्त सङ्गठनमा बस्न योग्य हुन सक्छन् । तर युवाको हकमा त्यस्तो व्यवस्था सम्भव हुँदैन । किनभने युवा भनेको निश्चित अवधिसम्म मात्रै युवा हुन्छ । त्यसका लागि राष्ट्रिय सम्मेलन प्रत्येक दुई वर्षमा र मातहतका सम्मेलनहरु प्रत्येक २ वर्ष नियमित रुपमा सम्पन्न हुन जरुरी छ । ऊर्जाशील युवालाई नेतृत्वमा ल्याउन आन्तरिक प्रतिष्पर्धा पनि अनिवार्य छ । स्वच्छ प्रतिष्पर्धाबिना सही उत्तराधिकारी तयार पार्न र सङ्गठनको वृद्धि विकास गर्न कठिन हुन्छ ।

४. ई—युथको अवधारणा 
विज्ञान प्रविधिको क्षेत्रमा भएको चामत्कारिक विकासले आज संसार नयाँ ठाउँमा आइपुगेको छ । संसार एउटा कोठको कम्युटरमा सीमित भएको या एउटा कोठा संसारमा विस्तार भएको छ । अर्थात संसार एउटा ग्लोबल भिलेजका रुपमा परिणत भएको छ । बदलिँदो समय र सन्दर्भअनुसार इलोक्ट्रोनिक युथ अर्थात् ई—युथको मान्यतालाई विकास गर्न जरुरी छ । एउटा कम्प्युटर वा स्मार्ट फोनबाट संसारभरका घटनाक्रमसँग साक्षात्कार गर्न सकिने वैज्ञानिक आविष्कारलाई हामीले पक्षका निम्ति उपयोग गर्नुपर्छ । वाईसीएलका प्रत्येक सदस्य दिनप्रतिदिन विकास भइरहेको सूचना प्रविधि (आईटी) सँग अभ्यस्त, अपडेट जानकार हुने प्रविधिमैत्री नीतिको व्यवस्था अपरिहार्य बन्न पुगेको छ । त्यसका निम्ति एउटा शक्तिशाली आईटी विभागको निर्माण गर्ने साथै सबै सङ्गठनका सदस्यलाई त्यो विभागसँग जोड्ने वातावरण बनाउन आवश्यक छ ।

५) श्रम, उत्पादनमा युवाः
विगतमा चन्दाको कारणले पनि वाईसीएल र माओवादीलाई बदनाम बनाएको हिजो यर्थात हाम्रा सामु छ । अर्कोतिर हाम्रो शिक्षा, संस्कृति र र संस्कार श्रमलाई घृणा गर्ने खालको छ । त्यसमा आमूल परिवर्तन जरुरी छ । वाईसीएलसँग अनिवार्य जोडिने संस्कृतिको विकास गर्नुपर्छ । वाईसीएलको शपथ नै म अब उप्रान्त श्रम र उत्पादनमा अनिवार्य रुपमा जोडिनेछु भन्ने वाक्य राखेर नयाँ सन्देश प्रवाह गर्न सक्नुपर्छ । सुरुवाती चरणमा सम्पूर्ण केन्द्रीय सदस्य उत्पादनसँग अनिवार्य जोडिनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्छ । आर्थिक हिसाबले असम्भव सदस्यको हकमा निश्चित अवधिका लागि ऋण उपलब्ध गराउनका लागि एउटा केन्द्रीय कोष खडा गर्न सकिन्छ । 

६. उमेर हदको प्रसङ्ग 
सेना प्रहरी, निजामती सेवामा लागू हुने गरेको उमेर वृद्धको अवधारणा राजनीतिमा पनि प्रवेश गर्नु सकारात्मक कुरा हो । अझव युवा सङ्गठनका लागि यो अनिवार्य सर्त हो । संयुक्त राष्ट्रसङ्घले १८ देखि २९ वर्ष उमेर समूहलाई युवा भनेको छ । भने नेपालले १६–४० वर्षलाई युवा भनेर मानेको छ । हामीले आफ्नो ढङ्गले उपर्युक्त परिभाषा दिन जरुरी छ । आजको नेपाली समाज यसका विभिन्न आयामहरु र सामाजिक, राजनीतिक परिवेशलाई नियाल्दा हामीले ४० वर्ष उमेर पद राख्नु उपर्युक्त देखिन्छ । ४० कटेको मानिस शारीरिक, मानसिक र मनोवैज्ञानिक हिसाबले युवाको प्रतिनिधित्व गर्न सक्दैन । यदि वाईसीएललाई साँचिक्कै युवक सङ्गठनको रुपमा विकास र विस्तार गर्ने भने उमेर हदलाई पहिलो मापदण्डका रुपमा लागू गरिनुपर्छ । ४० वर्ष कटेका नेताकार्यकर्तालाई अन्य पेसागत सङ्गठन र पार्टीमा सिफ्ट गर्ने विधिको विकास गर्नुपर्छ । 

७. विचारप्रतिको प्रतिबद्धताः
राजनीतिक विचारविनाको युवा बोधो हुनपुग्छ । युवालाई धारिलो बनाउनका लागि वैचारिक ज्ञान र चिन्तन अनिवार्य हुन्छ । विचारविनाको सङ्गठन वास्तवमा सङ्गठन हैन, एउटा आभारा समूहको रुपमा परिणत हुने खतरा हुन्छ । वाईसीएलका प्रत्येक सदस्यलाई माकर्सवाद, लेलिनवाद माओवाद र पार्टी नीतिका बारेमा नियमित प्रशिक्षणको व्यवस्था मिलाइनुपर्छ । 

८. युवा केन्द्रित आन्दोलन 
प्रत्येक दिन १५ सयभन्दा बढी युवाहरु बेरोजगारीका कारण विदेश पलायन भइरहेका छन् । दैनिक ४÷५ वटा लास बाकसमा नेपाल फर्किरहेका छन् । यो अत्यन्त दुखद, जज्जास्पद र असामान्य विषय हो । हजारौँ युवाहरु विदेशी भूमिमा विचल्लीमा परेका छन् । लाखौँ युवाहरु मरुभूमिको प्रचण्ड गर्मीमा आफ्नो पसिना बगाइरहेका छन् । हजारौँ युवाहरु दलालबाट ढगिएर घरबारविहीन भएका छन् । देशभित्र विभिन्न खाले माफिया गिरोह मौलाइरहेका छन् । सरकारले युवालाई रोजगार, स्वरोजगारका निम्ति उचित वातावरण निर्माण गर्न सकेको छैन । युवाका समग्र समस्यालाई ध्यानमा राखेर एउटा बृहत् राष्ट्रिय आन्दोलनको अपरिहार्यता महसुस भएको छ । यसको जिम्मेवारी पनि वाईसीएलको काँधमा आइपुगेको छ । 

निष्कर्ष 
हामी हाम्रो जीवनको एउटा ऐतिहासिक र महत्वपूर्ण सन्दर्भमा जुटिराखेका छौँ । यतिबेला देशभरका युवाहरुको ध्यान हामीतिर केन्द्रित भएको छ । हाम्रा प्रतिस्पर्धी सङ्गठहरुले पनि हाम्रो सम्मेलनलाई निहालिरहेका छन् । पार्टीले पनि यो सम्मेलनबाट एउटा सकारात्मक ऊर्जाको आशा गरेको । यो बीचको अवधिमा केही युवा सङ्गठनसँग एकता पनि सम्पन्न भएको छ । त्यसैले वाईसीएलको राष्ट्रिय सम्मेलनको महत्व थप बढेको छ । हामीले यो ऐतिहासिक सन्दर्भमा उभिएर हामीमाथि उठेका प्रश्नको सही जवाफा दिनसक्नुपर्छ । हाम्रो अनुहारमा छ्यापिएको हिलो पखाल्न सक्नुपर्छ । हामीतिर तेस्र्याइएका निशानाहरुलाई छेक्ने आँट गर्नुपर्दछ र राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा एउटा सन्देश प्रवाह गर्न सक्नुपर्छ । नेपाली युवाहरुले प्रतिनिधित्व, नेतृत्व र मार्गनिर्देश गर्ने सङ्गठन यो कम्युनिस्ट लिग हो भनेर । अनि मात्रै वाईसीएल युवाहरुको आस्था, विश्वास, आकर्षण र भरोसाको केन्द्र बन्नेछ । पार्टीले मेरुदण्डको रुपमा काम गर्नेछ, जनताको सेवकका रुपमा नेपालीको मनमस्तिष्कमा स्थापित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मङ्गल शाही
मङ्गल शाही
लेखकबाट थप