केन्द्रीय संस्करण

संसदीय समितिद्वारा जीर्ण सडकको अनुगमन

person explore access_timeभदौ ७, २०७६ chat_bubble_outline0

काठमाडौं– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले चावहिल—बौद्ध—जोरपाटी—साँखु र जोरपाटी—सुन्दरीजल सडक निर्माणमा भइरहेको ढिलाइको अनुगमन गरेको छ । 

चावहिलबाट माथितिरको सडक विसं २०७२ मै ठेक्का भए पनि अझै विस्तार र कालोपत्र हुन सकेको छैन । घर जग्गाको मुआब्जा विवादले सडक निर्माण अलपत्र बनेको हो । 

सडक विस्तार हुन नसक्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोमा यात्रा गर्न यात्रु बाध्य छन् । 

अनुगमनका क्रममा समितिका सभापति कल्याणीकुमारी खड्काले काममा ढिलाइ हुँदा आम मानिसलाई आवतजावतमा समस्या भएकाले सरोकार भएका निकायका अधिकारीलाई बैठकमा बोलाएर छलफल गरी समाधानका लागि निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरिन् । 

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले सडकमा हुने टेलिफोनको तार, विद्युतको पोल एवं तार र खानेपानीको पाइप विच्छ्याउने काम एकीकृत रुपमा हुनुपर्ने बताए । 

साँखु—जोरपाटी सडक सरोकार समूहका अध्यक्ष मिलन खड्काले सडक विस्तार एवं निर्माण गर्दा सूचना पाटी नराखिएको, कहिले शुरु भएर कहिले अन्त्य हुनेलगायत सूचना पाउनबाट पनि स्थानीयवासी वञ्चित भएको बताए । 

मापदण्ड के हो र सडक कसरी बन्दैछ भन्ने उपभोक्ताले जान्न पाउनुपर्ने उनको माग थियो । 

चावहिलबाट साँखुको सडक करीब १२ किमी छ । यो सडकमा पाँच वटा ठेक्का लगाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले जानकारी दिए । 

यसैगरी जोरपाटी–सुन्दरीजल सडक करीब सात किमी छ । यो सडकमा दुई खण्डमा ठेक्का लगाइएको छ । दुवै सडकको म्याद २०७७ जेठ मसान्तसम्म थप गरिएको जनाइएको छ ।

अनुगमनमा समितिका सांसदहरु, यस क्षेत्रका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...