केन्द्रीय संस्करण

कविता : प्रियसी

person explore access_timeभदौ ७, २०७६ chat_bubble_outline0

-डा. अच्युत शाली घिमिरे


प्रियसी !
तिमी जिद्दी गरिदिन्छ्यौ
समाजको प्रश्नमा समेटिन्छ्यौ
परिवारको इज्जतमा होमिन्छ्यौ
घर, समाज, परिवार र
तिम्रो करियरको अगाडि त 
म केही पनि होइन

म त फकिर हुँ
औचित्यहीन प्रेमी हुँ
सब व्यर्थ थियो केही चिताउनु 
केही बुझाउनु, केही दिलाउनु
केही आश गर्नु,
सब तिम्रा लागि अर्थ राख्दैन
तिमी महाशून्यताको
अवशेषमा आफ्नो
प्रेम अनुराग पाउँछ्यौ,
कसरी बुझाऊँ म तिमीलाई
म तिम्रो प्रतिस्पर्धी होइन प्रियसी
मात्र तिम्रो सहयात्री हुँ
म तिम्रो अघि पछि
होइन
तिमी सँगसँगै हिँड्न चाहान्छु,
कहिले बुझ्छ्यौ खै ?
तिमीलाई व्यक्त गर्न प्रेमबाहेक 
मसँग अरू केही पनि छैन 
सायद अनगिन्ती जिन्दगीका 
खेलहरुमा तिमीलाई जिताउन 
हरेक क्षण हारिरहेको हुन्छु,
तिमीलाई पाउने आशामा
सम्पूर्ण गुमाइरहेको हुन्छु,
म त केही पनि होइन
तिमीबिना न रहन्छु
तिमीबिना एउटा अजम्बरी
घाम र छायाको अस्तित्व जस्तै,
तिमी हिँड्ने गोरेटोमा
पदचाप बनी पछ्याइरहन्छु !
डुङ्गाले खियाउने पानीका छालहरु जस्तै
तिम्रो उपस्थितिमा
हमेशा तरङ्गित भइरहन्छु !


प्रियसी !
मैले त असीमित माया गर्ने मान्छे
तिमी अनि अरू कोही
तिमीसँग बोल्दा हाँस्दा 
भने डाहा गर्ने मान्छे म
भन प्रियसी 
के साँचो अर्थमा डाहा गर्नु पनि
अनर्थ हुन जान्छ र ?
यो डाहा
आफ्नो सन्तानलाई
अरू कोसैले ‘मेरो काले’ भन्दै
सुम्सुम्याउनेहरुका विरुद्ध
आमाको डाहा जस्तै त हो नि
होइन र ?
तिमी बुझ्दिनौँ र त
म नबुझाउने सर्तमा
सुन्दरताले सत्यको
पोषण गर्ने तिम्रो लालित्य
हेरिरहन्छु, 
सधैँ हेर्ने गर्छु
संसारसँग लड्दा लड्दै
निराशाले व्याकुल हुँदासमेत
तिम्रो फोटो हेर्ने गर्छु,
त्यो पीडा त्यो कम्पमा
तिमीसँगै भएको आभास पाउने गर्छु
ढुक्क हुन्छु तिमी जहाँ छौ जे छौ
मलाई पनि हेरिरहेकी छौ
महसुस गरिरहेकी छौ
र त यही अनुभूतिमा
फेरि जीवन जिउने
साहस पाउने गर्छु ।

यो ओठ
तिम्रो चुम्बनको निसानी 
हो प्रियसी,
बारम्बार चुरोटको भष्महरुले
बेरङ डढाउन चाहन्न,
यो फोक्सो तिम्रै निम्ति
सास फेर्ने गर्छ प्रियसी
बारम्बार चुरोटको धुवाँहरुले
बेहिसाब जलाउन चाहान्न
यो कलेजो
तिम्रै ताता स्पर्शलाई
ऊर्जावान् बनाइरहन्छ
प्रियसी
प्यालाका घुड्काहरुले
नष्ट गर्न चाहन्न,
म त तिम्रै हुँ
तिम्रै छु र रहिरहनेछु
यो गोडा तिमी आउने
चोकहरुमा टक्क अडिएर
बसेका छन्
यी हातहरु
तिम्रै चालचलनको इसारा गर्दैछन्
यी आखा जहाँ
तिमी बस्छ्यौ र हरपल
सहानुभूतिका आँसुहरुमा बग्न खोज्छ्यौ
यी मुख
जहाँ तिमी बस्छ्यौ र
कर्णप्रिय संवादमा खस्न खोज्छ्यौ
यो मुटु जहाँ
तिमी धड्किन्छ्यौ र
फुत्त कही कतै अन्धकारमा भाग्न खोज्छ्यौ
कति सम्हालुँ
म तिम्रा अवयवहरुलाई 
जो अनगिन्ती छन् र
अस्तित्ववान् छन्
आऊ प्रियसी
मेरो मनमा पाइला राख
र यतै घरजम बसाऊ
मनको घर त अति सुन्दर हुन्छ अरे
त्यो ताजमहलभन्दा पनि सुन्दर
आफैमा अलौकिक र 
दिव्यवान्
स्वर्गको राज्य जस्तै !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...