शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय दबाबपछि ब्राजिलद्वारा अमेजनको डढेलोसँग जुध्नका लागि सेना परिचालन

शनिबार, ०७ भदौ २०७६, १० : ००
शनिबार, ०७ भदौ २०७६

बीबीसी । ब्राजिलका राष्ट्रपतिले अमेजनको डढेलोसँग जुध्नका लागि सेनालाई सहयोग गर्न आदेश दिएका छन् । ब्राजिलमा रहेको अमेजन वर्षा वनमा यो वर्ष हालसम्मकै ठूलो डढेलो लागिरहेको छ ।

राष्ट्रपति जेयर बोल्सोनारोले जारी गरेको आदेशले प्राकृतिक संरक्षण क्षेत्र, आदीवासी बसोबास भएको क्षेत्र र त्यसका वरपरका क्षेत्रमा सेनालाई खट्ने अधिकार दिएको छ ।

यो घोषणा विश्वभरीबाट आएको दबाब र मुख्यतः युरोपेली नेताले प्रतिबन्धात्मक कदम चाल्ने तयारी माझ आएको हो । 

ब्राजिल सरकारले डढेलो नियन्त्रणको लागि वेबास्ता गरेको भन्दै विश्वभरीबाट आइरहेको प्रतिक्रियालाई बोल्सोनारोले आलोचना गरेका छन् । उनले डढेलोलाई देखाएर ब्राजिलविरुद्ध ‘दण्डात्मक प्रतिबन्ध’ लगाउन नसकिने बताए ।

डढेलाविरुद्ध कदम चाल्न अन्तर्राष्ट्रिय दबाब

आयरल्याण्ड र फ्रान्सले अमेजनमा जारी डढेलोविरुद्ध कुनै कदम नउठाएमा ब्राजिलसँगको व्यापार सम्झैता अनुमोदन नगर्ने बताएका थिए ।


फिनल्याण्डका अर्थमन्त्रीले, अमेजनको डढेलोप्रतिको बोल्सोनारोको बेवास्ताले गर्दा युरोपेली संघले ब्राजिलबाट आयात हुने मासुमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

जर्मन चान्सलर एन्जेला मार्केल, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन सबैले अमेजनको डढेलोलाई अन्तर्राष्ट्रिय संकट बताएका छन् ।  मर्केल र म्याक्रोनले यो विषय यही हप्ता हुन लागेको जी–७ सम्मेलनमा उठाउने बताएका छन् ।

संयुक्त राष्ट्र संघका महासचिवले एन्टोनियो गुटेरसले यस विषयमा बिहीबार ट्विट गर्दै लेखेको छन्, ‘विश्वव्यापी जलवायु संकटका माझ, हामी अक्सिजन र जैविक विविधताको प्रमुख स्रोतमाथि थप क्षति असह्य हुन्छ । अमेजनको संरक्षण गर्नैपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले बोल्सोनारोसँग शुक्रबार यस विषयमा कुरा गरेको बताए ।

‘मैले उनलाई अमेरिकाले अमेजन वर्षा–वनको डढेलो नियन्त्रणमा सघाउन सक्ने केही छ भने भन्नुस् भने । हामी सहयोगको लागि तयार छौँ,’ ट्रम्पले ट्वीटमा भनेका छन् ।

ब्राजिलभित्र पनि अमेजनको डढेलोविरुद्ध सरकारले उपयुक्त कदम नचालेको भनेर शुक्रबार देशैभरी प्रर्दशन भएको थियो । त्यस्तै वातावरणीय समूहले आगलागी नियन्त्रणको गर्न माग गर्दै विश्वभर रहेका ब्राजिलका दुतावास अघि प्रदर्शन गरेका थिए ।

अमेजन विश्वको सबैभन्दा ठूलो वर्षा–वन हो । अमेजनले उलेख्य मात्रामा कार्बनलाई सञ्चय गरेर विश्वव्यापी तापक्रम वृद्धिलाई सुस्त बनाउन सहयोग गर्छ । ठूलो मात्रामा कार्वनलाई सञ्चय गर्ने र अक्सिजन उत्सर्जन गर्ने भएकाले अमेजनलाई ‘विश्वको फोक्सो’ भनेर पनि चिनिन्छ ।

शुक्रबार टेलिभिजन सम्बोधन गर्दै बोल्सोनारोले डढेलो नियन्त्रणमा सहयोग गर्नको लागि सेनालाई आदेश दिएको पुष्टि गरे ।

ब्राजिलका रक्षामन्त्री फरनार्डो एजेभेडो ए सिल्भाले सेना परिचालनको निगरानी गर्दै आवश्यक स्रोतको व्यवस्थापन गर्नेछन् ।

सुरुमा, यो आदेश अगष्ट २४ देखि सेप्टेम्बर २४ सम्मबीच मात्र लागु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप