बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले देखेका नेकपाका तीन समस्या

शुक्रबार, ०६ भदौ २०७६, २० : ४२
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं–कार्यकारी अधिकार पाएको भोलिपल्टै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र देखिएका समस्याबारे बोलेका छन् । पार्टीकै आन्तरिक कार्यक्रममा सहभागी भएर प्रचण्डले नेकपाभित्र देखिएका समस्या एक एक गरेर सुनाएका छन् । 

शुक्रबार आयोजित नेकपा निकट प्रोगेसिभ इन्जिनियरिङ् एशोसिएसन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपाभित्र निर्णय प्रक्रिया, अनुशासन र प्रवृत्तिको विषय उठान गरेका छन् । प्रचण्डकै शब्दमा यस्ता छन्, नेकपा तीन समस्या । 

समस्या १– सत्तामा पुगेपछि सबै ‘बिग्रने’ प्रवृत्ति
कम्युनिष्टहरुको विश्वभरि देखिएको एउटा प्रवृति र विशेषता के छ भने सत्तामा नपुग्दासम्म समाज, जनता, वर्गको निम्ति, अध्ययन–चिन्तन–मननको लागि धेरै दुःख, त्याग, तपस्या, बलिदान गर्ने र जनताको मन जित्ने त्यहाँसम्म कम्युनिष्टहरुको एकदमै ठिक छ । सत्तामा पुगिसकेपछि त्यो सबैकुरा विस्तारै बिर्सदैँ जाने ।

जनताको आवश्यकता के हो ? जनताको चाहना के हो ? राष्ट्रको आवश्यकता के हो ? त्यसको निम्ति हामीले गर्नुपर्ने मेहनत के हो ? हामीले लिनुपर्ने कार्यशैली कस्तो हो भन्ने कुरामा विस्तारै विस्तारै बुर्जुवाकरण हुँदै जाने समस्या भयो । आफैँले गरेको हिजोको त्याग, तपस्या र बलिदानको महत्वलाई अवमूल्यन गर्दै जाने भयो । त्यसलाई घटाउँदै जाने भयो । र, यसका लागि बुर्जुवाहरुले भूमिका खेले । 

समस्या २– राजा महाराजा जस्ता कम्युनिष्ट
बर्जुवा कम्युनिष्टलाई लडाँइमा जित्न सकिने रहेनछ । लडेर कम्युनिष्टलाई हराउँला भन्यो भने बुर्जुवाहरुको काल हुँदो रहेछ भन्ने संसारभरिका समाजवादी, जनवादी क्रान्तिहरुमा देखियो । तर, उनीहरु सत्तामा गैसकेपछि उनलाइ विकृत पार्ने, उनीहरुलाई बुर्जुवा बनाइदिने र अनि उनीहरुलाई पल्टाइदिने । तर, कम्युनिष्टहरु सत्तामा गएपछि उनीहरुलाई सजिलै बुर्जुवा बनाइदिने र पल्टाइदिने काम भयो ।

एउटा गोली पनि नचलाईकन उल्टाइदिने क्या । तेत्रो करोडौँ लडेर ल्याएको समाजवादी शासन सत्तालाई एउटा गोली खर्च नगरिकन पुँजीपतिले आफ्नै पुँजीवादी बाटोमा लैजाने एकदम सिपालु भए । तपाई विचार गर्नुस् त, सोभियत संघ उल्टाउन पनि अमेरिकाले हमला गरेको हो त ? विल्कुल होइन नि । केही पनि नगरि सजिलै उनीहरुले प्रतिक्रान्तिमा लगे ।

पूर्वी यूरोपमा कोही विदेशी हस्तक्षेप भएर, या कसैले कम्युनिष्ट पार्टीका विरुद्ध, नेतृत्वका विरुद्ध शसस्त्र संघर्ष गरेर उल्टिएको हो त भन्दा हैन । बरु त्यहाँका कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो भए । त्यसपछि जनताहरु राजामहाराजा जस्ता कम्युनिष्ट विरुद्ध लडे । यो विडम्बना हामीले देखियो इतिहासमा । हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहीँ त्यस्तै देखिन थालेको छ । कुरा बुझ्नु भयो नि ? 

समस्या ३– कमिटी भन्दा व्यक्ति हावी
हामी हिजो निकै अनुशासित थियाँै । र, आज हामी यहाँ आईपुगेको हो । आजभोली अन्शासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, समूहको हितलाई बेवास्ता गर्ने, हामीले हिजो भन्दै आएको सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी भन्ने हुन्थ्यो । आजभोली उल्टिएको छ । व्यक्तिगत निर्णयको जिम्मेवारी समूहले लिनुपर्ने । यो उल्टो जस्तो जो भएको छ यसलाई सुधार्ने, ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप