एनआरएन महासचिव डा केसीद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको नवौं विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
२००३ देखि एनआरएन अभियानमा होमिएका २००७ सम्म आईसीसी रुसको साधारण सदस्य रहे । त्यसपछि २००७ देखि ००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गरे । २००९–२०११, २००११–२०१३ गरी दुई कार्यकाल आईसीसी सदस्य रहेका उनी २०१३–२०१५ मा भने कोषाध्यक्ष चयन भए । त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव रहेका उनले अहिले आएर उपाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
हाल उनी अन्तर्राष्ट्रिय समन्वय परिषदको नीति निर्माण समिति कार्यदलको संयोजक समेत रहेका छन् । यस्तै उज्यालो नेपाल, आर्थिक सुदृढता कार्यदल, राष्ट्रिय उत्पादन प्रवर्द्धन समिति लगायतमा रहेर काम गरेको अनुभव पनि उनीसँग रहेको छ ।
अमृत साइन्स कलेजबाट १९९० मा आईएस्सी गरेका उनले १९९६ मा बायो टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका हुन् । त्यसपछि बायो टेक्नोलोजीमै मस्कोबाट २००१ मा पिएचडी समेत गरेका उनले २००९ मा मस्को स्टेट यूनिभर्सिटीबाट ईएमबीए पनि गरे । उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ ।