शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘विप्लव’को आधारक्षेत्र ५ नम्बर प्रदेश : ‘रोक्ने’ र ‘पड्काउने’ होडबाजी !

शुक्रबार, ०६ भदौ २०७६, ०९ : ५४
शुक्रबार, ०६ भदौ २०७६

बुटवल– सरकारले नेत्रविक्रम चन्द (विप्लव) समुहका गतिविधिमाथि प्रतिवन्ध लगाएको ६ महिना भएको छ । सो समुहलाई सरकारले प्रतिबन्ध लगाएपछि कतिपयले मुलुकमा फेरि द्वन्द्वको खतरा भएको भन्दै सरकारको आलोचना पनि गरे ।

सरकारको यो निर्णयपछि कतिपयले गृहमन्त्री रामबहादुर थापा र नेत्र विक्रम चन्द (विप्लव) सँगै हिँडेको तस्वीर राखेर समाजिक सञ्जालमा टिकाटिप्पणी सुरु गरिए । जसमा गृहमन्त्रीको आचोलना बढि नै भयो । सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव समहुका नेताहरुको निगरानी, नियन्त्रण, र मुद्दा चलाउने कामहरु अहिलेसम्मै भइरहेका छन् । यो बीचमा कतिपय स्थानमा प्रहरीले विप्लव समुहका कार्यकर्तालाई गैरन्यायिक तरिकाले धरपडक र हत्यासम्म गरेको भन्दै सत्तापक्षका नेतादेखि प्रतिपक्ष समेतले सरकारको आलोचना गरे ।

प्रदेशमा ‘रोक्ने र पड्काउने’ क्रम रोकिएन

अब लागौँ विप्लव समहुको आधार ईलाका मानिने पाँच नम्बर प्रदेशतर्फ । जहाँ सत्ता पक्षका नेताहरु विप्लवका गतिविधिप्रति चर्को विरोध र नियन्त्रणको कुरा गरिरहेका छन् । अनि विप्लव समुह भने आफ्नो धन्दा ‘पड्काउने’ क्रमलाई निरन्तरता दिइरहेका छन् । अर्थात् सरकार विप्लवका गतिविधि रोक्न क्रियाशील छ भने विप्लव समुह आतंक फैलाउन सक्रिय छ । जसको मारमा कुनै न कुनै रुपमा नागरिक परिरहेका छन् ।


हेरौँ पछिल्ला केही घटनाक्रम

–गत साउन ६ गते पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसदीय समितिको बैठकमा प्रदेशमा विप्लवका गतिविधि घटेको दावी गरे । प्रदेश मामिला तथा कानून समितिमा जवाफ दिन पुगेका मुख्यमन्त्रीले प्रदेशको सुरक्षा र शुसाशनका विषयमा जवाफ दिँदै प्रहरीको सक्रियताले विप्लव समुहको गतिबिधि कम भएको बताएका थिए ।

–मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा विप्लवका गतिविधि घटेको जानकारी गराएको ४ दिन पछि साउन १० गते पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी भयो । अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गाडी कावासोतीस्थित थकाली चोकमा पार्किङ गरेको अवस्थामा जलाइएको हो ।

–बर्दियाको गेरूवा गाउँपालिका–६ स्थित कार्यालयमा असार २३ गते आगजनी भएको थियो ।

–साउन २६ गते शनिवार कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीको लु१झ ४०० नम्बरको गाडी तौलिहवामा पार्किङ गरेर राखेको अवस्थामा आगजनी भयो । गाडी पूर्णरूपमा जलेर ध्वस्त भयो ।

–सोही दिन दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको गाडी पनि अज्ञात समूहले जलायो । रा १ झ १५२ नम्बरको गाडी बंगलाचुली–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरेकै अवस्थामा अज्ञात समूहको आगजनीबाट जलेर पूर्णरूपमा नष्ट भयो ।

–साउन ३१ गते शुक्रवार सत्तारूढ दल नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाललाई लक्षित गरी उनको घर रूपन्देहीको सैनामैना–८ मा ३ वटा पेट्रोल बम प्रहार भए । बम प्रहारबाट मानवीय क्षति नभएपनि ढकालले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडी पछाडिपट्टि जलेर नष्ट भयो ।

–गत शनिबार मात्रै ५ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्र विक्रम शाहले दाङबाट बुटवल पुगेर एक कार्यक्रमा बोल्दै छिट्पुट घटना भएपनि आत्तिनुपर्ने अवस्था नरहेको दावी गरे ।

–प्रदेश प्रहरी प्रमुखले यस्तो बताएको दुई दिनपछि मङ्लबार राती दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको एनसेलको टावरमाथि आगजनी भयो । जहाँ विप्लव समुहले आगजनी गरेको प्रहरीको अनुमान छ ।

सूचना किन लुकाइन्छ ?

माथिका घट्नामा विप्लव समुहका कार्यकर्ताको संलग्नता भएको प्रहरीको मौखिक जवाफ पाइन्छ । तर, दोषीलाई पक्राउ गरेको पाइदैन । यदाकदा पक्राउ परेपनि प्रहरी खुलाउन चाहँदैन । पछिल्ला घट्नाक्रमहरुलाई नियाल्दा प्रदेश ५ मा सुरक्षा संवेदनशीलता बढ्दै गएको अनुभव जोकसैले गरेका छन् । आगजनी र बम विस्फोटका घटनाकासाथै चन्दा आतंक पनि जारी छ । चाहे त्यो सरकारी कर्मचारी होस् वा चाहे निजी क्षेत्र नै किन नहोस ?

निशानामा एनसेल टावर र सरकारी गाडी

विप्लव समुहले अन्य प्रदेशमा जस्तै, पाँच नम्बर प्रदेशमा पनि एनसेलका टावरलाई निशाना बनाउने गरेको पाइएको छ । एनसेल टावरपछि जनप्रतिनिधिहरु चढ्ने सरकारी गाडीमा आक्रमण बढि हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधिसँग सो समूहले चन्दा आतङ्क मच्चाएको जनप्रतिनिधिहरुले नै बताउने गरेका छन् । सो समुहले पछिल्लो ६ महिनामामात्रै ६ वटा सरकारी गाडी, सांसदको घर र वडा कार्यालयमा आगजनी तथा बम आक्रमण गरेको प्रहरीको भनाई छ । विप्लव समुहले घोषणा नै गरेर सरकारी सवारीसाधन दुरुपयोग गर्नेमाथि कारवाही चलाउने चेतावानी दिएको छ । विप्लव समुहका प्रदेश ईन्चाज विरजङ्गले विज्ञप्तिमार्फत २०७६ साल साउन ७ गतेदेखी सडकमा स्थानीय तहका जनप्रतिनिधिलाई सरकारी गाडी चलाउन रोक लगाएको बताएका थिए । जनप्रतिनिधि ठेक्कापट्टामा आफै सामेल हुनेगरेको, ट्रिपर,ट्याटर,स्काभेटर प्रयोग गरेर राज्यको सम्पति दोहन गरेको जस्ता अरोप लगाउदै सरकारी गाडी रोक लागाएको विप्लव समुहको दावी छ ।

विप्लव समुहको यो घोषणालगत्तै कपिलबस्तु र दाङमा सवारीसाधनमा आगजनी भएका छन् । कपिलबस्तुका प्रहरी प्रमुख दिप शमशेर राणाले रातोपाटीसँग भने, ‘केही दिनअघि उक्त पार्टीको विज्ञप्ती आउनु र लगत्तै कपिलवस्तु र दाङमा एकै पटक गाउँपालिका प्रमुखको सवारी सधानमा आगजनी भएकाले आशंका विप्लव समुहमै छ ।’

विप्लवमाथि प्रहरीको कस्तो छ एक्सन ?

गत फागुन २२ गते नेत्रविक्रम चन्द ‘विप्लव’ को गाउँ कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीमा प्रहरीले ‘सर्च अपरेशन’ चलायो । त्यसक्रममा प्रहरीले विप्लवका कार्यकर्ता यादव चन्दको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस,थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नट (२५ केजी) बरामद गर्यो । सर्च अपरेशनका क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय दुर्गा बहादुर रोकाको बायाँ खुट्टामा गोली लाग्यो । अहिलेसम्म रोका प्रहरी नियन्त्रणमै छन् ।

१ सय २९ जना प्रहरी नियन्त्रणमा

५ नम्बर प्रदेशमा हाल १ सय २९ जना विप्लव समुहका नेता कार्यकर्ता प्रहरीको नियन्त्रण छन् । उनीहरुमाथि प्रहरीले मुद्दा चलाएको छ । ५ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोख्रलकाअनुसार आगजनी, बिफोष्ट पदार्थ र दुव्र्यवहार लगायत अभियोगमा नियन्त्रणमा लिएको हो । नियनत्रणमा रहेकामध्ये केही कारागारमा छन् । यसको अलवा निगरानी र चेकजाँचमा पनि कडाई गरेको प्रहरीले जनाएको छ । प्रहरीले विप्लवका गतिविधि रोक्न बिभिन्न रणनीति अपनाएपनि सबै विवरण खुलाउन नहुने ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्र विक्रम शाह बताउँछन् ।

जनप्रनिधिलाई दैनिक जिप्रकाबाट फोन

५ नम्बर प्रदेश प्रहरी प्रमुख शाह विप्लवका गतिविधि नियन्त्रण गर्न प्रहरी सशक्त रूपमा परिचालन भएको दावी गर्छन् । उनले राज्यले प्रतिवन्ध गरेको समुहलाई कानुन अनुसार जे गर्नुपर्ने त्यही व्यवहार गरेको बताए । ‘उनीहरु कहाँ बस्छन् भन्ने पत्ता लगाएका छौं, त्यसैअनुसार निगरानी गरेका छौ’ शाहले रातोपाटीसँग भने ।

उनका अनुसार विप्लव समुहले सरकारी गाडीलाई निशाना बनाएपछि दैनिकजसो प्रत्यक जिल्लाका जनप्रतिनिधिहरुलाई सम्बन्धित जिल्ला प्रहरीले फोन गरेर सुरक्षा थे्रट, कार्यतालिका आदिको विवरण लिने गरेका छन् । प्रहरीले यदि सरकारी गाडी प्रयोग गरेर रातीको समयमा कतै जानुपरे नजिकको प्रहरी कार्यालय राख्न आग्रह समेत गरेको छ ।

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशम्शेर राणाले विप्लवका गतिविधिले सुरक्षा चुनौती बढेको बताए । ‘जनप्रतिनिधि पनि सचेत बन्न आवश्यक छ । प्रतिबन्ध लगाएपछि यस क्षेत्रमा विप्लवका गतिविधि बढेका छन्’ राणाले निगरानीसँगै सुरक्षा गस्ती बढाएको दावी गरे।

विप्लवको किन आधारक्षेत्र ५ प्रदेश ?

पाँच नम्बर प्रदेशलाई विप्लव समुहले आधारक्षेत्र मानेको छ । विप्लव समुहका नेताहरुका अनुसार ५ प्रदेशलाई आधारक्षेत्र मान्नुका पछाडी केही कारण छन् । जसमा पाँच नम्बर प्रदेशमा १० वर्षे सशस्त्र युद्धको आधार क्षेत्र मानिएका रोल्पा ,पूर्वी रुकुम र सल्यान जिल्ला पर्दछन् । जहाँ नेत्र विक्रम चन्द (विप्लव) सामिप्यता रहेको छ । नेत्र विक्रम चन्दको गृह जिल्ला पनि यहि प्रदेशमा पर्दछ । उनका दाईहरु सवै सोही समुहमा लागेर भुमिगत छन् ।

तत्कालीन माओवादी युद्धमा सामेल एक तप्का विप्लव समुहमा छ । सो समुहका जनवर्गीय संगठनका अधिकाश केन्द्रीय अध्यक्ष एव पदाधिकारी यसै प्रदेशका मानिस बनेका छन् । महिला सघं, शिक्षक संगठन, मजदुरका प्रमुख यसै प्रदेशका छन् । विप्लव समुहका दावी अनुसार ५ प्रदेशका सवै जिल्लामा पार्टीको सांगठानिक संरचना छन् जसका कारण विप्लव समुहको आधार ईलाका मानिएको हो ।

कस्तो छ त सुरक्षा चुनौती ?

प्रदेशका १२ वटा जिल्लामध्ये ६ वटा जिल्ला भारतसँग सीमा जोडिएका छन् । सीमा क्षेत्रबाट साना हातहतियार ल्याउने र नेपालमा अपराध गरेर भारत जान सहज हुने भएका कारण पनि सुरक्षा चुनौती रहेको सरोकारवालाहरुको भनाई छ । अरु अपराधिक समुहले जस्तै विप्लव समुहले पनि सीमा नाकाको फाइदा नलेलान् भन्न सकिन्न ।

अर्कोतर्फ तत्कालीन सशस्त्र द्वन्द्वपछि क्यान्टोनमेन्टमा नराखिएका हतियार अहिले प्रयोग हुने गरेको भेटिएकाले पनि सुरक्षा चुनौतीसँग जोडिएको छ । तर प्रहरीले भने विप्लव समूहलाई त्यति ठूलो चुनौतीका रूपमा नलिएको बताउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप