बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २: नाम र राजधानीका लागि सत्ताधारी दल र विपक्षी दलमा ‘बागी’

बिहीबार, ०५ भदौ २०७६, १९ : ५५
बिहीबार, ०५ भदौ २०७६

जनकपुर– प्रदेश नम्बर २ को नामाकरण र राजधानीको सवालमा सत्तारुढ र विपक्षी दलका सांसदहरुले फरक मत दर्ता गराएका छन् । प्रदेशको नामका लागि ४ वटा प्रस्ताव दर्ता भएको छ भने राजधानीका लागि ५ वटा प्रस्ताव दर्ता भएको प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयमा सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव दर्ता गराइरहँदा सोही दलका केही सांसदहरु बागी समेत बनेका छन् । सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका प्रदेशसभा सदस्यहरुले फरक–फरक प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपाल, प्रमुख प्रतिपक्षी दल नेकपा, नेपाली काँग्रेसका सभासदहरुले फरक– फरक प्रस्ताव दर्ता गराउँदा प्रदेश र राजधानीको नाममा विवाद चर्किदै गएको देखिन्छ ।  समाजवादी पार्टी र राजपा नेपालले संयूक्त रुपमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ । राजधानीको सीमामा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग छुनेगरी, पूर्वमा कमला नदिसम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ ।
राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेशी जनता र मधेश आन्दोलनको म्याण्डेटको आधारमा आफूहरुले प्रदेशको नाम मधेश नै उपयुक्त हुने भन्दै नामका लागि मधेश प्रस्ताव गरेको बताए ।

उनले जनकपुरधाम प्राचिन मिथिलाको राजधानी रहेको र यस स्थलको आफ्नै ऐतिहासिकता महत्व रहेकाले राजधानीका लागि जनकपुरधामको विकल्प नरहेको स्पष्ट पारे । mप्रदेश नम्बर २ को राजधानी र नामाकरणका लागि काँग्रेसले पनि प्रस्ताव दर्ता गराएको छ । काँग्रेसले प्रदेशको नाम मिथिला भोजपूरा र राजधानी जनकपुरधाम उपमहानगरपालिका प्रस्ताव दर्ता गराएको छ ।

काँग्रेसको तर्फबाट सचेतक उपेन्द्रप्रसाद कुश्वाहाले प्रस्ताव दर्ता गराएका हुन् ।  यसअघि नेकपाले प्रदेशको नाम जानकी प्रदेश र राजधानी जनकपुर परिक्रमासहित पुरै धनुषा जिल्लाका लागि नाम प्रस्ताव दर्ता गराएको छ । 

नेकपा प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेशमा विकसित जनभावनालाई कदर गर्दै प्रदेशको ऐतिहासिकतालाई ध्यानमा राख्दै प्रदेशको नाम जानकी प्रदेश राख्न आफूहरुले प्रस्ताव दर्ता गराएको बताए । उनले प्रदेश २ को राजनीतिक अवस्था, भौगोलिकता तथा संस्कृतिलाई ध्यानमा राख्दै राजधानीका लागि जनकपुर परिक्रमा मार्गसहित पूरै धनुषा जिल्लालाई प्रस्ताव दर्ता गराएको स्पष्ट पारे । 

सत्ताधारी र विपक्षीद्वारा फरक मत दर्ता

प्रदेशको नाम र राजधानीका लागि दलहरुबीच फरक फरक प्रस्ताव दर्ताले थप अन्यौलता सृजना गरेको छ ।  नेपाली काँग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले प्रस्तावमा प्रदेशको नाम मध्य मधेश र राजधानीका लागि वीरगञ्ज प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावलाई नेपाली काँग्रेसका बागी सदस्यहरु ओमप्रकाश शर्मा, शंकर प्रसाद शर्मा र असिया देवी थरुनीले समर्थन गरेका छन् ।

त्यस्तै समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्य सिंघासन साह कलवारले राजधानीका लागि फरक प्रस्ताव दर्ता गराएका छन् । उनले दर्ता गराएको प्रस्तावमा वीरगञ्जलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ । सो प्रस्तावमा वीरगञ्जसहित बिन्धवासिनी, पोखरिया, सखुअवा, पर्सागढी जितपुर निजगढ हुँदै सिम्रौनगढसम्मलाई राजधानी तोक्न प्रस्ताव गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप