शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको रगतमा बढेको भनिएको एन्टीबडी के हो ?

बिहीबार, ०५ भदौ २०७६, १८ : ०७
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचारका लागि बिहीबार १५ दिनका सिंगापुर प्रस्थान गरेका छन् । गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराएका प्रधानमन्त्री यसपटक पनि सोही अस्पतालमा उपचार गर्न गएका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले ओलीको पछिल्लो सिंगापुर प्रस्थान पूर्व निर्धारित कार्यक्रम नै भएको बताएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार गर्न सिंगापुर गएको प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले बिहीबारै प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएकी छन् । यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको मेडिकल रिपोर्टबारे कसैले पनि मुख खोलेको थिएनन् ।

निजी चिकित्सक डा सिंहले विज्ञप्तिमा भनेकी छन्, ‘यसअघिको परीक्षणमा प्रधानमन्त्रीको मृगौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो । एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन उहाँ पुनः सिंगापुर जान लाग्नुभएको हो ।’

के हो एन्टीबडी ?

मृर्गौला रोग विशेषज्ञ प्रोफेसर डा. ऋषिकुमार काफ्लेका अनुसार जो कसैको पनि प्रत्यारोपण गरेको मृगौलालाई शरीरले चिन्ला भनेर औषधी खुवाउनुपर्ने हुन्छ । शरीरमा अरुको मृर्गौला प्रत्यारोपण गरिने भएकाले शरीरले बाहिरबाट ल्याएको मृगौला नचिनोस् भनेर त्यो औषधि खुवाउनुपर्ने हो । यदि शरीरले बाहिरबाट ल्याएको मृगौला हो भनेर चिन्यो भने आक्रमण सुरु हुन्छ र मानिसलाई समस्या बढ्दै जान्छ ।

‘यदि शरीरले त्यसरी चिन्न थाल्यो र रगतमा एन्टीबडी बढ्न गयो भने मृगौलालाई असर गर्न थाल्छ । त्यसका लागि एन्टीबडी बढ्ने प्रकृया रोक्नुपर्छ । त्यसका लागि इन्जेक्सन दिनुपर्ने हुन्छ । त्यो इन्जेक्सन प्रधानमन्त्रीलाई दिएको छ छैन खुलाइएको छैन,’ रातोपाटीको जिज्ञासामा डा. काफ्लेले भने, ‘रगतमा भएको एन्टीबडी घटाउन प्लाज्मा फेर्नुपर्छ ।’

सुमेरु अस्पतालका कार्यकारी निर्देशक समेत रहेका विशेषज्ञ डा. काफ्लेका अनुसार डाइलासिस गरेजस्तै एन्टीबडी भएको रगत निकाल्ने र अर्को रगत फेर्नुपर्ने हुन्छ । ‘त्यसरी रगत फेर्दा तीनदेखि ६ पटकसम्म फेर्नुपर्ने हुन्छ । यसो गर्न न्युनतम समय २ हप्ता लाग्छ । यसो गर्दा रिक्स भने बेहोर्नुपर्ने हुन्छ,’ डा काफ्लेले किड्नी ट्रान्सफर गरेको मानिस यति बाच्छ र उति बाच्छ भनेर गरिएका अनुमानहरु हावादारी भएको पनि बताए । उनले किड्नी फेरेको मानिस नेपालमै २७ वर्षसम्म बाँचिरहको उदाहरण रहेको बताए ।

 


हाम्रै सिफारिशमा प्रधानमन्त्री सिंगापुर जानुभएको हो : निजी चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दीलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए ।


डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे । प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो । उनकाअनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंह सँगै गएकी छिन् ।

डा. शर्माले सिंगापुरमा रहँदा नेश्नल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गरिने जनाए । उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनाईन अहिले २ को हाराहारीमा छ । उनले भने,‘उहाँको मृगौला स्थिर छ ।’ सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र उपचारका क्रमहरु आफुहरुले नेपाली जनतालाई अवगत गराईरहनेपनि विश्वास दिलाए ।

अझै १५ बर्ष बाच्छुः प्रधानमन्त्री

सामान्यतया मृगौला फेरेको मानिस धेरै बाच्दैन भन्ने मानिसहरुमा भ्रम रहेको छ । त्यही भ्रमअनुसार कतिपयले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको पनि अड्कलबाजी गर्दै आएका थिए । यो सुनेका प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौमा भएको एक कार्यक्रममा आफु अझै १५ वर्ष बाच्ने बताएका थिए । उनले आफ्नो स्वास्थ्यलाई लिएर अड्कलबाजी गर्ने विरोधीहरुलाई अर्को चुनावको सामना गर्न चुनौति नै दिएका थिए ।

डा. ऋषिकुमार काफ्लेका अनुसार ओलीले चिकित्सकहरुको परामर्शकै आधारमा उक्त कुरा बोलेको हुनसक्ने बताए । ‘किनभने २७, २८ वर्षसम्म पनि मानिसहरु बाचेका छन् । उहाँ (प्रधानमन्त्री) को त मृगौला फेरेको भर्खर १२ बर्ष भएको छ । यदि राम्रो हेरचाह गरे उहाँले भनेको कुरा सत्य हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप